सूर्यविनायकद्वारा ३७ कानून निर्माण, लक्ष्यभन्दा ३२७ प्रतिशत राजश्व वृद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सूर्यविनायकद्वारा ३७ कानून निर्माण, लक्ष्यभन्दा ३२७ प्रतिशत राजश्व वृद्धि


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


भक्क्तपुर । सूर्यविनायक नगरपालिकाले दुई वर्षको अवधिमा ३७ वटा नयाँ कानूनको निर्माण गरेको जनाएको छ । सूर्यविनायक नगरपालिकामा जननिर्वाचित प्रतिनिधिले पद बहाली गरेको आज २ वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाले ३७ वटा नयाँ कानून निर्माण भएको नगरपालिकाका प्रमुख वासुदेव थापाले जानकारी दिए ।

कार्यक्रममा नगरपालिकाले चालू आव ०७५/७६ को १० महीनामा भौतिक विकासतर्फ ७९ प्रतिशत प्रगति हासिल गरेको उनले जानकारी दिए । नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि चालू खर्चतर्फ रु ३९ करोड २४ लाख ४३ हजार र पूँजीगततर्फ रु ३७ करोड ४५ लाख २७ हजार गरी कूल रु ७६ करोड ४५ लाख २७ हजारको वार्षिक बजेट स्वीकृत गरिएकामा ०७६ वैशाख मसान्तसम्म चालूतर्फ ७९ प्रतिशत र पूँजीगततर्फ ७१ प्रतिशत रकम खर्च भएको रकम रहेको नगर प्रमुख थापाले जानकारी दिए ।

आव ०७५/७६ मा रु १२ करोड १० लाख राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा गत वैशाख मसान्सम्म रु ३९ करोड ५४ लाख ८९ हजार ९५७ राजश्व सङ्कलन गरेको उनको भनाइ थियो । उहाँका अनुसार नगरपालिकाले १० महीनाको अवधिमा ३२७ प्रतिशत आन्तरिक राजश्व वृद्धि गरेको छ ।

गत वैशाख मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु २८ करोड, ३५ लाख, १४ हजार ९५७, संघको राजश्व बाँडफाँटमा रु ९ करोड १४ लाख ६५ हजार, प्रदेशको राजश्वतर्फ रु २ करोड, नगद लागत साझेदारी रकम रु २ करोड ५ लाख, सामाजिक सुरक्षा भत्तावापत रु ४ करोड ८६ लाख, संघको समानीकरण अनुदान रु १९ करोड ६१ लाख, प्रदेशको समानीकरण अनुदान रु ९२ लाख ८२ हजार, संघको सशर्त अनुदान रु १५ करोड २१ लाख ७३ हजार, प्रदेश सरकारको सशर्त अनुदान रु ५ करोड ८५ लाख, सडक बोर्डको रकम रु २५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमको रु ५३ लाख, स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत रु एक करोड ५ लाख र अन्य आय रु एक करोड ५७ लाख गरी जम्मा रु ९१ करोड ७७ लाख ३५ हजार ७०७ नगरपालिकाको आम्दानी भएको छ ।

आर्थिक वर्ष ०७५÷७६ मा वडा गतरुपमा १४७ वटा योजना तथा कार्यक्रम स्वीकृत भएकामा ११३ वटा योजना हालसम्म सम्पन्न भइसकेको छ । बाँकी २३ वटा योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र ११ वटा योजना कार्यान्वयन गर्न बाँकी रहेको थापाले जानकारी दिए ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उपत्यकाको सडक विस्तारमा योगदान पु¥याउँदै आएको उपत्यका विकास प्राधिकरण खारेज गर्न नहुने बताए । उनले भक्तपुरमा सबै केबुल तार अण्डरग्राउण्ड गर्न रु १० अर्ब लागत लाग्नेमा हाल रु डेढ अर्ब रकम विनियोजन गर्न सफल भएको बताउँदै उनले अरनिको राजमार्गलाई हरियाली बनाउने अभियान र डोलेश्वर एवं अनन्तलिङ्गेश्वरमा हरियाली पार्क बनाउने कार्यको शुरुआत हुन लागेको बताए ।

सांसद बस्नेतले युवा स्वरोजगार कार्यक्रमलाई अभियानका रुपमा लैजान रु दुई करोड ५० लाख, हनुमन्ते करिडोर आगामी वर्ष निर्माण सम्पन्न गर्नेगरी थप रु १ अर्ब ५० करोड, मनोहरा करिडोर बहुवर्षीय आयोजनामा पार्न सफल भएको बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख जुना बस्नेत, नगरपालिकाका प्रशासकीय अधिकृत कमल ज्ञवाली, पत्रकार सोम शर्मा बजगाईं लगायतले देशकै नमूना नगरपालिकाका रुपमा सूर्यविनायक नगरपालिकाको काम गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस