आर्थिक समृद्धिका लागि सार्थक सहयोग जरुरी छ : अध्यक्ष दाहाल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

आर्थिक समृद्धिका लागि सार्थक सहयोग जरुरी छ : अध्यक्ष दाहाल


८ जेष्ठ २०७६, बुधबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेकाले त्यसलाई सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको सार्थक सहयोगको जरुरी रहेको बताएका छन् ।

आज आफूसँग शिष्टाचार भेटका लागि पुगेकी बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सुगसँग भएको भेटमा अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताए ।

अध्यक्ष दाहालले उनले भने, ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यवहारिक तथा व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौँ ।’

अध्यक्ष दाहालले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचनपश्चात् अबको देशको आर्थिक समृद्धिमा नै एकमात्र लक्ष्य रहेको प्रष्ट्याए । देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउदै उनले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत् र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औँल्याए ।

बेलायतकी मन्त्री सुगले नेपालमा महिलाको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताइन् । उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताइन् । उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताएकी अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस