भाइले गोली चलाउँदा घाइते भएका फारुकको मृत्यु « प्रशासन
Logo ३१ आश्विन २०७८, आइतबार
   

भाइले गोली चलाउँदा घाइते भएका फारुकको मृत्यु


३ जेष्ठ २०७६, शुक्रबार


वीरगञ्ज । भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए ।

छातीमा गोली लागेका शेषलाई वीरगञ्जको नारायणी अस्पतालमा प्रारम्भिक उपचारपछि वीरगञ्जकै नेशनल मेडिकल कलेजमा रेफर गरिएको थियो । त्यहाँ पनि उपचार सम्भव नहुने भएपछि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान ३ बजेतिर उनको मृत्यु भएको हो ।

भाइ सेराजुद्धिनलाई पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आषिश अधिकारीका अनुसार उनको साथबाट नल कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने रिफिल गोली ३ थान र एउटा खोका बरामद भएको छ ।

के विषयमा घरायसी विवाद भएको हो र घटनाले उग्र रुप किन लिएको हो भन्ने बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस