श्रावण १ गते, २०७६

लुम्बिनी गुरुयोजनाको ८२ प्रतिशत काम पूरा

रुपन्देही। गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीको व्यवस्थित रुपले विकास गर्न तयार पारिएको गुरुयोजनाको ८२ प्रतिशत काम पूरा भएको छ । लुम्बिनी विकास कोषले आगामी तीन वर्षभित्र गुरुयोजनामा समेटिएका सबै काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । विश्वका सम्पूर्ण धर्मावलम्बीका लागि पवित्रतम र आकर्षक गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य लिएको यस गुरुयोजनाले एक हजार १५५ बिघा क्षेत्रफल जमीन ओगटेको छ । लुम्बिनीको तीन वर्ग माइल जमीनलाई उद्यान क्षेत्र, अन्तर्राष्ट्रिय विहार क्षेत्र र नयाँं लुम्बिनी ग्राम गरी तीन भागमा विभाजन गरिएको छ ।

तीन वर्ग माइल भू–भागलाई एक–एक वर्ग माइलमा विभाजन गरी उत्तरतर्फको एक वर्ग माइल क्षेत्रलाई लुम्बिनी ग्राम र मध्यभागमा रहेको दोस्रो खण्डको एक वर्ग माइलको भू–खण्डलाई शैक्षिक, सांँस्कृतिक तथा अन्तर्राष्ट्रिय विहार तथा गुम्बा क्षेत्र भनी नामकरण गरिएको छ ।

बाँकी एक वर्ग माइलको दक्षिणतर्फको क्षेत्रलाई पवित्र उद्यान भनिएको छ । बुद्धले पहिलो पाइला टेकेको स्थान भएकाले पवित्र उद्यानलाई गुरुयोजनाले सर्वाधिक महत्व दिएको छ । कोषले गुरुयोजनाअनुसार सबै काम पूरा भएपछि लुम्बिनी स्वर्गको टुक्रा जस्तै सुन्दर, शान्त र पवित्र स्थलको रुपमा विकास हुने दावी गरेको छ । यसका लागि गुरुयोजनाका बाँकी सबै काम एकैचोटि सक्ने गरी करीब ६ अर्बको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरिएको हो ।

कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार बोलपत्र आह्वान गर्नु पूर्व त्यस्ता संरचनाहरुको योजना, डिजाइन र लागत अनुमान तय गर्न अन्तर्राष्ट्रिय स्तरको परामर्शदाता छनोट गर्ने प्रकृया शुरु गरिएको छ । केही दिनभित्रै परामर्शदाता छनोट गरी अन्तर्राष्ट्रिय बोलपत्रमार्फत तीन वर्षभित्र गुरुयोजना सक्ने योजना कोषको छ । सबै संरचनाहरुको सुपरीवेक्षणसमेत परामर्शदाताले गर्नेछ ।

त्यसो हुँदा कोषले गुरुयोजनामा आफ्नो जनशक्ति लगाउनुपर्ने छैन । त्यसको सट्टा गुरुयोजनाअन्तर्गत सुन्दरता बढाउने काममा माक्रै जनशत्ति परिचालन गर्ने तयारी कोषले गरेको छ । आगामी तीन वर्षभित्र सुन्दरता समेत थपेर लुम्बिनीलाई संसारकै पवित्र र नमूना आध्यात्मिक पर्यटकीय स्थलको सबैका रुपमा विकास गर्ने लक्ष्यसहित आफूहरुले काम गरिरहेको कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।

पवित्र उद्यान क्षेत्र

 लुम्बिनी गुरुयोजनाले शाक्यमुनि गौतम बुद्धले पहिलो पाइला टेकेको स्थान पवित्र उद्यानलाई प्राथमिकतामा राखेको छ । यो उद्यान क्षेत्रलाई चारैतिरबाट पोखरीबाट घेरिएको छ । यो पोखरीलाई ‘सर्कुलर लेबी’ भनिएको छ । वरिपरि नीलो पानीले घेरिएको सुन्दर बगैंचाको परिकल्पना यहाँ गरिएको छ । गोल पोखरीभित्र मायादेवी मन्दिर, पवित्र कुण्ड, अशोक स्तम्भ, पुरातात्विक महत्वका भग्नावशेषहरु, प्राचीन लुम्बिनीग्रामका अवशेषहरु मात्र रहने गरी कुनै पनि नयांँ निर्माणका काम गर्न रोक लगाइएको छ ।

उत्तर पश्चिमबाट आउने बाढीको पानी पवित्र क्षेत्रभित्र पस्नबाट रोक्न गोलाकार नहरहरु बनाइएको हो । यस पवित्र क्षेत्रलाई विश्व सम्पदा समितिको सन् १९९७ डिसेम्बर १–६ सम्म भएको सभाले विश्व सम्पदा सूचीमा समावेश गरेको थियो । उद्यानका ४१ प्लटहरुमध्ये तीन वटा मात्र तयार भएका छन् । बाँकी सबै प्लटलाई यसै वर्षदेखि सुन्दर पार्ने योजना छ ।

पवित्र उद्यान क्षेत्रमा गुरुयोजनाअनुसार निर्माण गर्ने ठूला संरचनाहरु करीव करीब सम्पन्न भएका छन् । उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । अहिलेको पोखरीलाई दोब्बर बढाएर घाँस तथा झारहरु उम्रिन नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरिको भिरालो जमीनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम शुरु भएको छ ।

पोखरीका विभिन्न पाँच स्थानमा पानीका रङ्गिन फोहोराहरु बनाउने योजना समेत रहेको उपाध्यक्ष भिक्षु मेत्तेयले बताए ।

आकर्षक विहार क्षेत्र

पवित्र उद्यान क्षेत्रबाट उत्तरतर्फ रहेको अन्तर्राष्ट्रिय गुम्बा क्षेत्रलाई पूर्वी र पश्चिमी विहार क्षेत्र गरी दुई भागमा विभाजन गरिएको छ । यी दुई क्षेत्रलाई शान्तिदीपबाट शुरु भएको केन्द्रीय नहरले दुई अलग अलग भागमा छुट्याएको छ । यो क्षेत्रमा थेरवादी विहार, महायानी, बज्रयानी विहार, स्तूप तथा ध्यान केन्द्रहरु निर्माण गर्ने लक्ष्यका साथ विभिन्न विहार र गुम्बाका लागि ४३ वटा प्लट छुट्याइएका छन् ।

त्यसैले यसलाई सानो बौद्ध संसार पनि भनिन्छ । यसभित्र पूर्वी विहार क्षेत्रमा थेरवादी बौद्ध सम्प्रदायका १३ मध्ये नेपाल लगायत ७ मुलुकका आकर्षक विहारहरु निर्माण भइसकेका छन् । पश्चिमी विहार क्षेत्रमा महायानी सम्प्रदायका २९ मध्ये २१ मुलुकले आफ्नो संस्कृति झल्कने आकर्षक विहारहरु बनाइसकेका छन् । ती मध्ये केही विहारहरु निर्माणाधीन छन् ।

बाँकी मुलुकहरुले निर्माणको काम थालेका छैनन् । यसरी विहार बनाउने मुलुकहरुमा पूर्वतर्फ श्रीलङ्का, मान्मार, थाइल्याण्ड, कम्बोडिया, क्यानडालगायत छन् भने पश्चिमतर्फ चीन, सिंगापुर, जापान, दक्षिण कोरिया, फ्रान्स, जर्मनी, भियतनामलगायतका मुलुक छन् । संयुक्त राज्य अमेरिका लगायतका केही मुलुकले विहार बनाउने तयारी गरेको कोषले जनाएको छ ।

नयाँ लुम्बिनीग्राम

लुम्बिनी गुरुयोजनामा बाँडिएका प्रमुख तीन वटा क्षेत्रहरु बुद्धको दर्शन तथा उपदेशलाई प्रतिविम्बित गर्ने मात्र हैन भौतिक एवं वातावरणीय रुपमा संरक्षण गर्ने अभिप्रायले समेत तयार गरिएका छन् । योजनाबद्ध रुपमा विकास भइरहेको तीन वर्ग माइलमध्येको उत्तर तर्फको एक वर्ग माइल क्षेत्रलाई नयाँ लुम्बिनीग्राम नामकरण गरिएको छ । गृहस्थ जीवनमा आवश्यक पर्ने सबै प्राविधिक परियोजनाहरु समावेश गरिएको क्षेत्रलाई नव लुम्बिनी ग्राम भनेर बुहत् गुरुयोजनामा समावेश गरिएको छ । तीर्थयात्री तथा पर्यटकहरुलाई आवश्यक भौतिक सुविधा पुर्‍याउने संरचनाहरु यो क्षेत्रमा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नयाँ लुम्बिनीग्राम क्षेत्रमा कतिपय संरचनाहरु बनेर सञ्चालनमा आइसकेका छन् । तथापि, थुप्रै महत्वपूर्ण संरचनाहरु बन्न बाँकी छन् । गुरुयोजनाले लुम्बिनी ग्राम क्षेत्रमा चार किसिमका विश्राम गृह बनाउने प्रस्ताव गरेको थियो । एक सय शय्याको सबै सुविधायुक्त विलासी होटल, १५० शय्याको मध्यमस्तरको सुविधायुक्त होटल, २०० शय्याको साधारण आवासगृह र चार वटा क्याम्पिङ निर्माण गर्ने योजना बनाइएको थियो जसमध्ये तीन स्तरका होटलहरु सञ्चालनमा छन् । क्याम्पिङ निर्माणको काम भने बाँकी छ ।

विकास कोषको खर्च विवरण अनुसार लुम्बिनी गुरुयोजनाभित्र विहार क्षेत्रमा सबैभन्दा बढी रु एक अर्ब ३८ करोड ८२ लाख ८८ हजार खर्च भएको छ । बार्‍हवटा विहार नेपालले निर्माण गरेको छ । सबैभन्दा बढी आकर्षक मानिने चीन र जर्मनीका विहार निर्माणका लागि ती मुलुकहरुले रु ५२ करोड ८० लाख लगानी गरेका छन् । अर्को मुलुक थाइल्याण्डले रु १० करोड २५ लाखको लागतमा विहार बनाएको छ । विहार क्षेत्रमा अझै रु २२ करोड जति लगानी हुने अनुमान छ ।

गुरुयोजना अनुसार न्यू लुम्बिनी भिलेज क्षेत्रमा रु एक अर्ब २७ लाख ६० हजार लगानी भएको छ । यो क्षेत्रमा निर्माण भएका होक्के होटल र होटल कासाइले रु ३० करोड ७० लाख लगानी गरेका छन् । यस क्षेत्रका आकर्षक संरचना मानिने लुम्बिनी सङ्ग्रहालय भारत सरकारको रु ३१ करोड ६८ लाख सहयोगमा निर्माण भएको छ भने जापानको अन्तर्राष्ट्रिय संस्था रेयूकाईले रु ३० करोड ८० लाखको लागतमा अन्तर्राष्ट्रिय बौद्ध अनुसन्धान केन्द्र निर्माण गरेको छ ।

यो क्षेत्रमा अझै करीव रु एक अर्बको लागतमा विभिन्न भौतिक संरचनाहरु निर्माण हुनेछन् । लुम्बिनीको सबैभन्दा बढी सुन्दर, आकर्षक र महत्वपूर्ण मानिने पवित्र उद्यान क्षेत्रमा रु ३८ करोड ८१ लाख लगानी भएको छ । त्यस्तै, लुम्बिनीको मेरुदण्ड मानिने केन्द्रीय नहर क्षेत्रमा रु २९ करोड ७३ लाख लगानी गरिएको छ ।

यो क्षेत्रमा नहर निर्माणमा मात्रै रु २४ करोड खर्च भएको थियो । यहाँ गुरुयोजनाअनुसार बाँकी नहर निर्माण, नदी डाइभर्सन, साङ्केतिक पेभेलियन निर्माण, विद्युत व्यवस्थापन र पानी ट्यांकी निर्माणका लागि रु दुई अर्ब ५२ करोड ८६ लाख थप लगानी लाग्ने अनुमान रहेको कोषका निमित्त सदस्य सचिव भट्टराईले जानकारी दिए । रासस

 

जेष्ठ २ गते, २०७६ - १६ः३६ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg