पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्छ : पूर्वअध्यक्ष रेग्मी « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्छ : पूर्वअध्यक्ष रेग्मी


२९ बैशाख २०७६, आइतबार


काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालको पत्रकारिता आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिएका छन् । न्यूज लाइन्स मिडिया प्रालिको दोस्रो वर्ष प्रवेशका अवसरमा भ्रमण वर्ष २०२० को तयारीमा ‘अनलाइन मिडियाको’ भूमिका विषयक अन्तक्र्रियामा उनले पत्रकारले देश र जनताको सेवा गर्ने भावना लिएर पत्रकारिता गर्नुपर्ने बताए ।

नेपालमा हाम्रा पूर्वजले हामीलाई जिम्मा दिएको सम्पदा प्रशस्त रहेको तथा गौतमबुद्धको जन्मस्थल लुम्बिनीजस्ता पर्यटन क्षेत्रको विकासमा सरकारको ध्यान जानुपर्ने औँल्याए ।

रेग्मीले देशमा राजनीतिक परिवर्तन भए पनि आर्थिक समृद्धि गर्ने परिवर्तन हुन नसकेको बताउँदै शम्यक दृष्टि, शम्यक कर्म तथा शम्यक विचारअनुरुप कर्म गरेमात्र देशमा आर्थिकरुपमा परिवर्तन हुने बताए ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले देश विकासमा मिडियाको भूमिका ठूलो हुने बताउँदै जनताको आर्थिक तथा सामाजिक सुधार तथा जनताको जीवनस्तर उकास्ने विषयमा समाचार केन्द्रित हुनुपर्ने बताए ।

पर्यटन व्यवसायी शिव अधिकारीले पर्यटन व्यवसाय आर्थिक समृद्धिसँग जोडिएको बताउँदै बुद्धको जन्मस्थल लुम्बिनीमा पर्यटक भित्र्याउन सरकार, निजी संस्था तथा पर्यटन व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य दीपक महत, राजपाका वरिष्ठ उपाध्यक्ष राजकुमार थापा, पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भटराईलगायतका वक्ताले पर्यटन क्षेत्रको विकास तथा पत्रकारिताको योगदानमाथि चर्चा गरे । कार्यक्रममा समाज सेवा, पर्यटन तथा पत्रकारिता क्षेत्रमा विशेष योगदान दिने १५ जनालाई सम्मान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस