‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक


२९ बैशाख २०७६, आइतबार


काठमाडौं । स्वामी आनन्द अरुणको संस्मरणात्मक पुस्तक ‘ओशो अचम्म जो मैले देखेँ’ सार्वजनिक भएको छ । ओशो तपोवनमा शनिबार आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेपाली कांग्रेसका नेता तथा चिन्तक प्रदीप गिरी, प्राज्ञ तथा कलाकार नीर शाह, नागरिक अगुवा डा सुन्दरमणि दीक्षित, घटना र विचारका प्रधान सम्पादक देवप्रकाश त्रिपाठी, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुईंटेल तथा पुस्तकका लेखक स्वामी आनन्द अरुणले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरे ।

प्रवक्ता श्रेष्ठले मुक्तिको मार्गमा एक व्यक्तिले हिम्मतका साथ अडिग भएर खेपेको दुःख र साधनाको गाथा पुस्तकमार्फत् सार्वजनिक भएको बताए । कांग्रेस नेता गिरीले माक्र्सवादले मनुष्यको व्यक्तिगत मनोविज्ञानको अध्ययन नगरेसम्म अध्यात्मलाई सही रुपमा बुझ्न नसक्ने विचार राखे ।

डा दीक्षितले गहन आध्यात्मिक संस्मरण रहेको पुस्तकले पाठक र लेखक दुबैलाई नौलो अनुभव हुने बताए । पत्रकार त्रिपाठीले पुस्तकले गुरु र शिष्यको सम्बन्धलाई नयाँ उचाइमा प्रस्तुत गरेको भनाइ राखे । नागरिक दैनिकका प्रधान सम्पादक लुईंटेलले कृति आध्यात्मिक विधामा रहस्यले परिपूर्ण अनुभवको अनुपम सङ्गालो भएको बताए ।

पुस्तकका लेखक स्वामी आनन्द अरुणले गुरुको सान्निध्यमा आफूले भोगेका कुरा लेखेको बताए । नेपालका धार्मिक स्थललाई विश्वमा चिनाउनुपर्ने आवश्यकतामा उनले जोड दिएका थिए । बु्क हिल्स् पब्लिकेशनले प्रकाशन गरेको पुस्तक देशका प्रमुख पुस्तक पसल तथा ओशो केन्द्रमा उपलब्ध हुने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस