नौ महिनामा पाँच अर्बको चामल « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नौ महिनामा पाँच अर्बको चामल


२८ बैशाख २०७६, शनिबार


बाँके । चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ राजश्व सङ्कलन गरेको छ ।

कृषि प्रधान मुलुक भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ । नेपालगञ्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ । देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन् ।

तर मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौँ मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । यस्तै भन्सार कार्यालयका अनुसार चामलसँगै आलुको आयात पनि अत्यधिक बढेको पाइएको छ । यो अवधिमा भारतबाट एक अर्ब नौ करोड ४७ लाख बराबरको ५३ हजार २५१ मेट्रिकटन आलु नेपाल भित्रिएको जनाइएको छ । नेपालमा छिमेकी मुलुक भारतसँगै चीन, थाइल्याण्ड र बङ्गलादेशबाट पनि चामल आयत हुने गर्दछ ।

२७ हजार अवैध कुखुराका चल्ला बरामद

पशु क्वारेन्टाइन चेकपोष्ट, नेपालगञ्जले चालू आर्थिक वर्षको नौ महीनामा २७ हजार ४३० अवैध कुखुराका चल्ला र चार हजार २४४ ब्रोइलर कुखुरा बरामद गरेर नष्ट गरिएको छ । अवैधरुपमा भारतबाट नेपाल भित्रिँदै गरेका ब्रोइलर कुखुरा र चल्ला बरामद गरी नष्ट गरिएको हो ।

चेकपोष्टका सूचना अधिकारी अम्मरबहादुर शाहीका अनुसार चालू आर्थिक वर्षको नौ महीनामा १०६ किलो कुखुराको मासु, ९४ किलो अवैध माछा र ८२६ अण्डा बरामद गरी नष्ट गरिएको छ । तीमध्ये सबैभन्दा धेरै साउनमा एक हजार ३४४ ब्रोइलर कुखुरा बरामद गरिएको तथ्याङ्क छ ।

सो अवधिमा मात्रै एक हजार ३०० चल्ला बरामद गरिएको थियो । अवैधरुपमा कुखुरा, चल्ला, मासु, अण्डा ओसारपसार गर्नेलाई पक्राउ गरी कारवाही गरिएको छ । नौ महीनामा रु नौ लाख ६४ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस