पहिरो र अतिक्रमणले कान्ति लोकपथ निर्माणमा अवरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पहिरो र अतिक्रमणले कान्ति लोकपथ निर्माणमा अवरोध


प्रशासन संवाददाता

२७ बैशाख २०७६, शुक्रबार


काठमाडौं । वर्षामा मात्रै नभएर हिउँदमा समेत पहिरो जाने र सडकको अधिकार क्षेत्रमा पर्ने घरहरुका कारण कान्ति लोकपथ निर्माणमा अवरोध हुने गरेको छ । नब्बे किलोमिटर लम्बाइको यो सडकमा छपेली, तीनपानेलगायत विभिन्न स्थानमा सडकको मापदण्डभित्र घर पर्दछन् । भौगोलिक बनाटका कारण पनि सडक निर्माणमा कठिनाइ आइरहेको कान्ति लोकपथ योजनाले जनाएको छ ।

यहाँको सडकमा वर्षामा पहिरो र हिउँदमा सुक्खा पहिरो गइरहँदा सडक निर्माणमा बाधा पुगिरहेको योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले बताए । उनले भने, ‘हामीले सडकमा रहेको अवरोध हटाएर काम गर्नुपरेकाले पनि ढिलाइ भइरहेको हो ।’स्थानीयवासीले मुआब्जा मागिरहेकाले पनि समस्या आउने गरेको उनले बताए । सडक खन्दा घर र बालीमा क्षति पुग्ने भन्दै स्थानीयवासीले क्षतिपूर्ति माग्ने गरिरहेका छन् । उनले भने, ‘अहिलेसम्म एउटा घरले मुआब्जा लिइसकेको छ भने अरुले पनि माग गरिरहेका छन् ।’

मकवानपुर जिल्लामा भन्दा सडकको अधिकार क्षेत्र अतिक्रमण ललितपुर जिल्लामा बढी रहेको योजनाले जनाएको छ । सडकको जम्मा ३० मिटर चौडाइ रहेकामा त्यहींभित्रै घर र पसलको टहरा रहेका र तीनलाई हटाउन नसकिएको सूचना अधिकारी खड्काले जानकारी दिए । उनले भने, ‘हामीले पटकपटक प्रयास गर्दा पनि स्थायी वा अस्थायी संरचना हटाउन सकिएको छैन ।’

विसं २०१४ मा नेपाली सेनाले यो सडकको निर्माण शुरु गरेको थियो । विसं २०१६ मा निर्माण सम्पन्न भए पनि लामो समयसम्म यो सडक सरकारको प्राथमिकतामा परेको थिएन । विसं २०७२/७३ पछि सडक सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नति भइरहेको योजनाले जनाएको छ ।

सरकारले यो सडकलाई पहिलो प्राथमिकतामा राखेसँगै आयोजना कार्यालयको स्थापना भएको सूचना अधिकारी खड्काले जानकारी दिए। सरकारले एक दशकयता वर्षेनी सडकका लागि बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए । उनले भने, ‘विभिन्न अवरोध हुँदाहुँदै सडक निर्माणले गति लिइरहेको छ ।’

यो सडकमा निर्माण शुरु हुँदा लम्बाइ ९२ किलोमिटर रहेको थियो । चौडाइ कम हुँदा लम्बाइ बढी देखिएको र अहिले ९० किलोमिटर पुगेको छ । सडकको निर्माण सम्पन्न हुँदासम्म लम्बाइ त्योभन्दा पनि कम हुने उनले बताए । नब्बे किलोमिटर लम्बाइमा ७९ किलोमिटर ललितपुरमा र २८ किलोमिटर मकवानपुर जिल्लामा पर्छ ।

चालू आवको असार मसान्तसम्ममा मकवानपुरतर्फ २६ र ललितपुरको १२ गरी ३८ किलोमिटर कालोपत्र गरिसक्ने योजनाको लक्ष्य छ । बाँकी कालोपत्र भदौ असोजदेखि शुरु गरिने योजनाले जनायो । मकवानपुरतर्फ साढे एक किलोमिटर र ललितपुरतर्फको चार किलोमिटर सडकलाई फराकिलो बनाउन विस्फोटक आवश्यक रहेको बताइएको छ ।

निर्माण शुरु भएको छ दशकपछि लोकपथ पूर्णता पाउने अन्तिम चरणमा पुगेको हो । यो सडकमा अहिले हलुका सवारी साधन हेटौँडा–काठमाडौँ आवतजावत गर्न थालिसकेका छन् । सडक चौडा र नाली बनाउने तथा कालोपत्रको काम भइरहेको छ ।

निर्माणाधीन यो सडकलाई हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँसम्मको २२६ किलोमिटर लम्बाइको हेटौँडाबाट पालुङ हुँदै काठमाडौँ आउने १३६ किमी सडकको विकल्पका रुपमा समेत हेरिएको छ । यो सडक निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करीब रु ८५ करोड र ललितपुरमा एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

चालू आवमा २४ किमी सडक कालोपत्रको योजना रहेको खड्काले बताए। अहिलेसम्म १४ किमी कालोपत्र भइसकेको र बाँकी १० किमीमा पनि धमाधम काम भइरहेको छ । उनका अनुसार आगामी दुई वर्षमा सम्पन्न गर्ने योजना रहेको छ । आगामी वर्ष १० किमी कालोपत्र हुने र त्यसपछिको वर्षमा बाँकी कालोपत्र सकिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस