पाथीभरा राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पाथीभरा राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई


प्रशासन संवाददाता

२६ बैशाख २०७६, बिहिबार


काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको फाइनल खेलमा आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले लगातार दोस्रो पटक उपाधि जितेको हो। नारायणी माविको खेल मैदानमा भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथी २५–१७,२५–१३ र २५–१९ को सहज जित निकाल्यो।

उपाधिसँगै पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ। उपविजेता आर्मीले १ लाख ७६ हजार २ सय ५१ प्राप्त गरेको छ। प्रतियोगिताको सेमिफाइनल पुगेका दुई टोली एपीएफ र गण्डकी प्रदेशले समान ५०–५० हजार प्राप्त गरेका थिए।

पुलिसका ओपन स्पाइकर कुलबहादुर थापाले (हरी) उत्कृष्ट खेलाडीको उपाधि जिते। कुलवहादुरले १५ हजार प्राप्त गरेका छन्। प्रतियोगिताको बिद्यागततर्फको उपाधिमा पुलिसकै खेलाडीको वर्चश्व रह्यो।

उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपकराज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए। उपविजेताको टिमको तर्फबाट उत्कृष्ट स्पाइकरको उपाधि धनबहादुर भट्टले जितेका थिए। उत्कृष्टको उपाधि बिजेताहरुले जनहि नगद ७/७ हजार प्राप्त गरेका थिए।

विजेता खेलाडीलाई प्रमुख अतिथी तथा प्रदेश सदस्य टंक आङबुहाङ, प्रदेश सदस्य बल बहादुर साम्सोहाङ र प्रदेश सदस्य होम कुमारी साँवालगायतले पुरस्कृत गरे। मैवाखोला गाउँपालिकाको व्यवस्थापन तथा जलजले युवाक्लब, न्यु पाथिभरा क्लब र मैवाखोला क्लबको आयोजनामा भएको प्रतियोगिता संचालन भएको थियो।

प्रतिक्रिया दिनुहोस