पर्यटन प्रवर्द्धनका लागि सात परिपथ बनाइँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

पर्यटन प्रवर्द्धनका लागि सात परिपथ बनाइँदै


२४ बैशाख २०७६, मंगलबार


चितवन । राप्ती नगरपालिकाका सात पर्यटकीयस्थललाई एकापसमा जोडेर पर्यटन प्रवर्द्धनको काम शुरु गरिएको छ । नगरभित्र राप्ती सात परिपथको नामकरण गरेर पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न लागिएको हो ।

नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार राप्ती नगरपालिकाको वडा नम्बर ५ मा रहेको राप्ती एकता सामुदायिक वनलाई खुला चिडियाखानाको रुपमा विकास गरिँदैछ । त्यसको पूर्वतर्फ रहेको दृश्यावलोकन स्तम्भ र वागीश्वरी मन्दिरलाई व्यवस्थित गरिँदैछ ।

जिल्लाका विभिन्न क्षेत्र अवलोकन गर्न सो स्थल प्रभावकारी हुने छ । सोही ठाउँबाट पैदलयात्रा गर्दै पुगिने अनेमङग भन्ने ठाउँमा विशाल बौद्ध विहार बनाइँदैछ । लामाले सो ठाउँ बुद्ध धर्मावलम्बीको आस्थाको धरोहरको केन्द्र बनाइने बताए । अनेमङबाट उत्तरतर्फ जिल्लाको अग्लो ठाउँ चितवनसहित छिमेकी सबै जिल्ला सहजै अवलोकन गर्न सकिन्छ ।

मन्दिरसम्म जानका लागि ५०० मिटर सिढी बनाउने र रात बिताउनका लागि संरचना निर्माण गर्ने तयारी गरिएको छ । यसको नजिकै नोकु गुफा रहेको भन्दै उहाँले सो गुफाको सबै क्षेत्र अवलोकन गर्न दिनभर लाग्ने बताए । गुफालाई व्यवस्थित गरेर पर्यटकीय संरचना निर्माण गरिने लामाको भनाइ छ ।

राप्ती नगरपालिका–४ भवानीपुरमा पर्या–पर्यटन प्रवर्द्धनका लागि काम थालिने भएको छ । सोही क्षेत्र नजिकै नागदह र नागको मूर्ति तथा जातिय सङ्ग्रहालय र उद्यान निर्माण गरिने भएको छ ।

वडा नम्बर ९ मा बाह्रै महीना गुलाफ फूल फुल्ने गर्दछ । वनको बीचमा रहेको सो रमणीय क्षेत्रमा पानीका तालतलैया पनि रहेका छन् । सातवटै स्थानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । हालसम्म चार ठाउँको प्रतिवेदन तयार भइसकेको भन्दै उनले सबै काम सम्पन्न गर्न करीब रु दुई अर्ब लाग्ने अनुमान रहेको बताए ।

नगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकार मिलेर राप्तीमा सात परिपथ निर्माण गर्न सकेमा देशकै पर्यटन प्रवर्द्नमा टेवा पुग्ने जनाइएको छ । राप्तीको सात परिपथलाई सौराहा, लुम्बिनी, काठमाडौँ र पोखरासँग जोड्न सकिने छ ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष सुमन घिमिरेले राप्तीमा पर्यटन प्रवर्द्धन गर्न सकिएमा यहाँ आउने पर्यटकको सङ्ख्या थपिने र बसाइ लम्ब्याउन सकिने बताए । वन र वन्यजन्तुमा आश्रित यहाँको पर्यटन क्षेत्रलाई विस्तार गर्न जरुरी रहेको सरोकारवाला बताउँछन् ।

पर्यटन विकास समिति चितवनका महासचिव विश्व सुवेदीले राप्तीमा सेभेन सर्किट निर्माण गर्नसकेमा पर्यटकलाई नयाँ गन्तव्य दिन सकिने बताए । प्रचुर सम्भावना रहेर पनि राप्ती ओझेलमा परेको भन्दै उनले स्थानीय, प्रदेश र सङ्घीय सरकारको ध्यान राप्तीको पर्यटन प्रवर्द्धनमा जानुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस