लोक सेवा तयारी-आय लेखा परीक्षण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लोक सेवा तयारी-आय लेखा परीक्षण


प्रशासन विशेष ब्युरो

२३ बैशाख २०७६, सोमबार


आय लेखा परीक्षण

आय लेखा परीक्षणको आधारभूत सिद्धान्त र यसका लागि चाहिने आवश्यक कुराहरू के के हुन उल्लेख गर्नुहोस्। ४+६

आय लेखा परीक्षण अर्थात् राजश्व लेखा परीक्षण सार्वजनिक लेखापरीक्षणको एक महत्त्वपूर्ण क्षेत्र हो । राजश्व अन्तर्गत आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार, महसुल, शुल्क, लेभी, व्याज आदिको कानुन बमोजिम गरिने परीक्षण नै आय लेखा परीक्षण हो।समग्रमा राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने कर राजश्व तथा गैह्रकर राजश्व कानुन बमोजिम जम्मा भए नभएको सम्बन्धमा नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता, र औचित्यताका आधारमा गरिने परीक्षण नै आयलेखारीक्षण हो ।

आय लेखापरीक्षणका आधारभूत सिद्धान्त
आय लेखापरीक्षणलाई मार्गदर्शन गर्न नेपालमा महालेखा परीक्षकको कार्यालयले राजश्व लेखा परीक्षण मार्गदर्शन कार्यान्वयनमा ल्याएको छ । सोही मार्गदर्शन बमोजिम राजश्व लेखापरीक्षणका प्रमुख सिद्धान्तलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
• राजश्व सही तथा शीघ्र रूपमा निर्धारण भएको तथा सरकारको खातामा दाखिला भएको परीक्षण गर्ने,
• सङ्कलन तथा उपयुक्त बाँडफाँडमा प्रभावकारी नियन्त्रण कायम राख्न पर्याप्त नियम, कानुन तथा कार्यविधिहरू रहेको सुनिश्चित गर्ने । र
• नियम कानुनको अनुसरण गरेको प्रभावकारिता सुनिश्चित गर्ने सम्बन्धमा निर्णय लिनका लागि थप सूचनाहरू माग गर्ने ।

आय लेखा परीक्षण गर्न चाहिने आवश्यक कुराहरू
माथि उल्लिखित आधारभूत सिद्धान्तहरूको अनुसरण गरी आय लेखापरीक्षणलाई प्रभावकारी रूपमा सम्पादन गर्न निम्न कुराहरूको आवश्यकता पर्दछ :
• सूचनामा पहुँच
लेखापरीक्षणका लागि सूचनामा पहुँच अति नै आवश्यक छ । पूर्ण सूचनामा पहुँच बिना राजश्व लेखापरिक्षण अपूर्ण नै रहन्छ। लेखापरिक्षण ऐन २०४८ ले महालेखा परीक्षकको कार्यालयलाई सरकारी निकायले राखेका अभिलेख तथा जानकारीहरूमा पूर्ण पहुँचको व्यवस्था गरेको छ।
• लेखापरीक्षणको सवुद प्रमाण
प्रत्येक लेखापरीक्षणका वेरुजुलाई पुष्टि गर्न सवुद प्रमाण महत्त्वपूर्ण हुन्छ । सरकारी लेखा परीक्षण मानदण्डले समेत बेरुजु लाई पुष्टि गर्न पर्याप्त र उपयुक्त प्रमाणहरू राख्नु पर्ने कुरालाई महत्त्व दिन्छ ।
• राजश्व अधिकारीबाट सहयोग
राजश्व अधिकारीबाट लेखा अभिलेखमा पूर्ण पहुँच प्रदान गर्ने, सूचनाको पूर्ण खुलासा गर्ने, लेखापरिक्षणका क्रममा उठेका सवालको समयमा जवाफ दिने जस्ता सहयोग प्राप्त हुनुपर्दछ।
• करदाताको फाइलहरूको परीक्षण
करदाताले आन्तरिक राजश्व कार्यालयहरूमा तोकिएको ढाँचाबमोजिमका फाइलहरू पेस गरेका हुन्छन्। करदाताले फाइलमा पेस गरेका वार्षिक कारोबारको विवरण, बैङ्क दाखिला भौचर, मूल्य अभिवृद्धि कर विवरण, अग्रिम आयकर विवरणको समेत परीक्षण गर्नु पर्दछ।
• आर्थिक कानुन तथा सूचनाको लेखा परीक्षण
लेखा परीक्षण गर्ने क्रममा राजश्व प्रशासनमा पर्न सक्ने सारपूर्ण असरहरूको मूल्याङ्कन गरी कर सम्बन्धी कानुन तथा सूचनाहरूको अर्थपूर्ण र उद्धेश्यपरक तरिकाबाट परीक्षण गर्नु पर्दछ।
• वैधानिक लेखा परीक्षण
कानुन बमोजिम बाहेक कर लगाउन नपाउने संवैधानिक व्यवस्था बमोजिम राज्य र जनता कसैलाई पनि मर्का नपर्ने गरी प्रमाणहरूको वैधानिक धरातलको सुचिश्चितता गरी लेखा परीक्षण गरिनु पर्छ ।
• राजश्व सम्बन्धी कानुनहरूको व्याख्या
राजश्व कानुनमा उचित संशोधन गर्नु पर्ने देखिएमा, राजश्व कानुनको उद्देश्य तथा मर्म प्रति पूर्ण सचेत रही, लेखापरिक्षकले आौचित्य र कानुनी व्याख्या सहित कर प्रशासकलाई संशोधनको लागि ध्यानाकर्षण गराउन सक्दछ ।

निष्कर्ष
राजश्व सरकारको आम्दानीको श्रोत हो। सबै राजश्व राज्यको ढुकुटी अर्थात् सञ्चित कोषमा जम्मा हुनुपर्दछ। विविध कारणले राज्यको ढुकुटीमा जम्मा हुन नसकेका आयलाई नियमित गर्दै समग्र राजश्व प्रशासनलाई नियमित, मितव्ययी, प्रभावकारी र गतिशील बनाउन राजश्व लेखापरीक्षणको महत्त्वपूर्ण भूमिका हुने गर्दछ।

Tags :
प्रतिक्रिया दिनुहोस