भन्सार एजेण्ट र बैंक कर्मचारीलाई कैदको फैसला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भन्सार एजेण्ट र बैंक कर्मचारीलाई कैदको फैसला


२२ बैशाख २०७६, आइतबार


विराटनगर । भन्सारको दश करोड राजस्व अपचलन गरेको आरोपमा भन्सार एजेण्ट र बैंक कर्मचारीलाई कैद फैसला सुनाइएको छ । विराटनगर भन्सार कार्यालयमा रहेको वाणिज्य बैंकको काउण्टरमार्फत दश करोड भन्सार राजस्व अपचलनको आरोप लागेका भन्सार एजेण्ट सुरेश बोहोरा र बैंकका कर्मचारीलाई उच्च अदालत विराटनगरले कैद र जरिवानाको फैसला सुनाएको हो ।

वैशाख १७ गते उच्च अदालत विराटनगरले मिलेमतोमा बैंकमा राजस्व दाखिला नगरी अपचलन गरेको रहस्य सार्वजनिक भएपछि बैंकिङ कसुर मुद्दामा एजेण्ट सुरेश बोहोरा, बैंकका कर्मचारी तोर्णराज राउत र विष्णुप्रसाद न्यौपानेलाई कैद र जरीवाना गर्ने फैसला गरेको छ । भन्सार एजेण्ट सुरेशका भाइ ललितले भने सफाइ पाएका छन् ।

अदालतका कायममुकायम मुख्यन्यायाधीश शिवराम अधिकारी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त्त इजलासले एजेन्ट बोहोरालाई बैकिङ कसुर ऐन २०६४ को दफा ३ (ग) र दफा १५ को (१) बमोजिम डेढ महिना कैद र ४ करोेड ८० लाख ७७ हजार ५ सय रुपैयाँ जरिवना फैसला गरेको छ ।

त्यस्तै बैंकका कर्मचारी तोर्णराज राउत र विष्णुप्रसाद न्यौपानेलाई सोही ऐन अनुसार २२ दिन कैद र जनही २ करोड ४० लाख ३८ हजार ७५० रुपैयाँ जरीवना गर्ने फैसला गरेको छ ।

२०७४ फागुन १ गते घटना सार्बजनिक भएपछि एजेण्टद्वय फरार थिए । ०७५ साउन ६ अदालतनमा हाजिर भएका उनीहरुलाई न्यायाधीश थीरबहादुर कार्की र बालेन्द्र रुपाखेतीको संयुक्त्त इजलासले सुरेशलाई ८० लाख र ललितलाई २५ लाख धरौटीमा छाडेको थियो ।

धरौटीमा छाडेको ८ महिनापछि अदालतले फैसला सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस