तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

तरकारी बेचेरै वार्षिक पाँच लाखको आम्दानी गर्दै रामपुरका युवा


१९ बैशाख २०७६, बिहिबार


पाल्पा । वैदेशिक रोजगारीबाट फर्केका रामपुरका दुई युवाले तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । यहाँका दिलबहादुर थापा र लालबहादुर थापाले वैदेशिक रोजगारीबाट फर्केपछि एक वर्ष अगाडिबाट सामूहिक तरकारी खेती शुरु गरेका हुन् । व्यवसाय शुरु गरेको पहिलो वर्षमा नै रु पाँच लाख बराबरको आम्दानी गर्न सफल भएका छन् ।

रामपुर नगरपालिका–४ स्थित देवीस्थानमा बाह्र रोपनी जग्गा भाडामा लिएर मौसमी तथा बेमौसमी जातका तरकारी खेती शुरु गरेको दिलबहादुर थापाले बताए । “झण्डै एक दशक जति विदेशमा बसियो, अर्काको देशमा काम गर्न त्यति सहज छैन, गाउँमै बसेर तरकारी लगायो भने विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिन्छ”, थापाले भने ।

तरकारी खेती गर्न थालेको एक वर्ष भयो विभिन्न कृषिजन्य सामग्री अनुदानमा पनि पाइरहेको हुँदा व्यवसायमा झन हौसला बढेको थापाको भनाइ छ । अहिले गोलभेँडा, काँक्रा, सिमी, गाजरको उत्पादन शुरु भएको छ । बजार नजिकै भएको हुँदा बिक्री गर्न युवालाई सहज परेको छ ।

घरपरिवार, साथीभाइ, आफन्तको साथमा रहेर गाउँमा कृषि व्यवसाय गर्न पाउँदा आनन्दको अनुभूति भइरहेको लालबहादुर थापा बताउँछन् । उनी पनि करीब आठ वर्ष जति विदेशमा बसे। विदेशको भोगाइले गाउँमै बसेर तरकारी खेती गर्ने मोह जगाएको उनी बताउँछन् ।

“विदेशमै लामो समय बिताइयो अहिले पछुतो लागिरहेको छ, विदेश जानुभन्दा अघि नै यहीँ बसेर तरकारी व्यवसाय गरेको भए अहिले ठूलै व्यवसायी भइँदो रहेछ”, थापाले भने । तरकारी व्यवसायबाट राम्रो आम्दानी हुँदै जान थालेपछि जग्गा बढाएर व्यवसायलाई अगाडि बढाउने युवाको सोच छ । यहाँका दुई युवाले शुरु गरेको यो व्यवसाय रामपुर नगरपालिकाकै नमूना व्यवसायका रुपमा चिनिएको छ ।

बाँझो रहेको जमीनलाई सदुपयोग गर्दै युवाले तरकारी लगाएर हराभरा पारेको देख्दा छिमेकी दङ्ग छन् । वार्षिक ३० हजार बुझाउने गरी जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरेका हुन् । युवाले गरेको व्यवसायलाई प्रोत्साहनस्वरुप रामपुर नगरपालिका–४ को कार्यालयले थोपा सिँचाइका लागि पाइप, तरकारीको बीउबीजन, स्प्रेलगायतका सामग्री प्रदान गरेको वडाध्यक्ष एकबहादुर नेपाली बताउँछन् ।

“दुई युवाले विदेशबाट फर्केर अहिले गाउँमा नमूनाका रुपमा व्यावसायिक तरकारी खेती गरेको देख्न पाउँदा खुशी लागेको छ, व्यवसायमा वडा कार्यालयले विभिन्न सहयोग गर्दै जानेछ”, अध्यक्ष नेपालीले बताए ।

स्थानीयको सक्रियतामा मन्दिर निर्माण

पूर्वखोला गाउँपालिका–५ वीरकोटका स्थानीयवासीको सक्रियतामा रम्भादेवी मन्दिर निर्माण गरिएको छ । वीरकोटको भैसादीमा यहाँका स्थानीयवासीले विभिन्न सङ्घ संस्था, व्यक्तिसँग रकम जुटाएर मन्दिर निर्माण गरेका हुन् । एक लाख ७० हजार ९०१ को लागतमा मन्दिर निर्माण गरिएको छ ।

मन्दिर निर्माणका लागि पूर्वखोला गाउँपालिकाले ७० हजार रकम सहयोग गरेको मन्दिर निर्माण उपभोक्ता समितिका सचिव यामबहादुर सुनारीले जानकारी दिए । मन्दिरमा नियमित पूजाआजा, भजनकीर्तन हुने बताइएको छ । धर्म, संस्कार, संस्कृतिको जगेर्ना गर्न विभिन्न ठाउँमा स्थानीयवासीको पहलमा मन्दिर निर्माण हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस