विद्यार्थी राजनीति : समीक्षा र सवाल « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

विद्यार्थी राजनीति : समीक्षा र सवाल


प्रशासन विशेष ब्युरो

९ बैशाख २०७६, सोमबार


विद्यार्थी राजनीति

नेतृत्वले पूर्णताका लागि हैन, प्रगतिको लागि प्रयास गर्दछ । यस्तै एक पूर्णताका लागि अनन्त नहुने विद्यार्थी राजनीतिका विषयमा समय समयमा चिन्तन र चिन्ता हुन जरुरी छ । विद्यार्थी युनियन भनेको विद्यार्थीहरूका लागि काम गर्न विद्यार्थी द्वारा नै गठित विद्यार्थीहरूको समूह हो । विद्यार्थी राजनीतिको सुरुवात कहिले, कहाँ, कसरी, किन भयो होला भन्ने बारे जिज्ञासा खोज्दै जाँदा इतिहास मुस्कुराउँछ । विश्व परिवेश हेर्दा विद्यार्थी युनियनको अवधारणा दोस्रो विश्वयुद्ध भन्दा पहिले देखी नै सन् १९०० देखी सन् १९३० को बिचमा नै आएको पाइन्छ । सन् १९०६ मा स्टुडेन्ट रेप्रिजेन्टिभ काउन्सिल स्थापना भएको पाइन्छ । विधिवत रूपमा सन् १९२३ मा यूनियन सबै सामु परिचित भएको हो ।

दोस्रो विश्वयुद्धको रूपमा विद्यार्थी यूनियनहरूले सैन्य शक्तिलाई बलियो बनाउन स्वयमसेवकको रूपमा भूमिका निर्वाह गरेका थिए जहाँ खाना, पानी, बस्नको लागि सहज वातावरणका लागि विश्वविद्यालयमा राख्न मद्दत गरे । दोस्रो विश्वयुद्ध पछि विद्यार्थी युनियनको भूमिकामा परिवर्तन आएर विश्वविद्यालयका गतिविधिमा सुधार ल्याउन थालिएको थियो जस्तो कि छात्रछात्राका लागि छुट्ट्याएर राखेका कक्षा कोठा एउटै, संयुक्त हल र क्यान्टिन बारहरू । तर बेलायतको इतिहास केलाउँदा सन् १८८४ मा एडिनबर्ग युनिभर्सिटीमा स्टुडेन्ट एसोसेसनको स्थापना भएको पाइन्छ । सन् १८८९ मा एडिनबर्ग युनिभर्सिटीले स्टुडेन्ट एसोसेसनको लागि छुट्टै भवन निर्माण गरेको थियो । आर्थिक श्रोतको व्यवस्थापन विद्यार्थी युनियनहरूले विश्वविद्यालयको रकम रोक्का गरेर अनुदान, सामूहिक कोष विकास गरेर र व्यावसायिक प्रदर्शनीहरू बाट आउने गर्दछ । सबै विद्यार्थी सङ्घहरू लोकतान्त्रिक रूपमा चलाउनुपर्छ र कुनै पनि प्राप्त गरेका पैसाहरू खर्च गर्दा स्वार्थ रहित सेवाको भावनामा खर्च गर्नु पर्दछ जुन एजुकेसन एक्ट १९९४ अनुसार हुनुपर्दछ ।

ब्रिटिस राजनीतिज्ञ जन मेजर सन् १९९० देखी १९९७ सम्म ब्रिटिस युनाइटेड किंगडमको प्रधानमन्त्री रहनुभएका कन्जर्भे्टिव पार्टीका नेताले आफू कार्यकालमा रहँदा विश्वविद्यालयमा हुने गरेको विद्यार्थी युनियनहरूको प्रभाव कम गर्ने योजना विरुद्ध नेस्नल युनियन अफ स्टुडेन्टले सफलता पूर्वक लबिङ गर्न सक्षम भएका थिए । एक्काइसौँ शताब्दीमा विद्यार्थी युनियनहरूले सङ्गठनमा विद्यार्थी आकर्षित गराउन र समावेश गराउन नयाँ सृजनशील र प्रगतिसित बिचारहरूले गम्भीर भएर काम गर्ने गरेको छ ।

यद्यपि नेपालमा यस्तो अभ्यासमा सङ्गठनहरू चुकेको महसुस अहिले विश्वविद्यालय तथा क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरूले गरिरहेका छन् । विद्यार्थी युनियनहरूले विद्यार्थीको प्रतिनिधित्व गर्दै विद्यार्थीका विचार र हक सुनिश्चित गर्न पहल, बहस, अभियान र क्रियाकलापहरूमा सहजीकरण र सहयोग गर्न स्वयमसेबी भूमिका खेल्नु पर्दछ । नेपालको परिवेश घटनाक्रम नियाल्दा भारतीय स्वतन्त्रताको आन्दोलनको छाप नेपाली विद्यार्थी राजनीतिमा पनि परेको देखिन्छ । २००६ तिर बिपि कोइराला ११ वर्षको हुँदा नै महात्मा गान्धीको अङ्ग्रेज विरुद्धको आन्दोलनमा सहभागी हुनुहुन्थ्यो । १५ वर्षको उमेरमा बी.पी. कोइरालालाई पक्राउ गरिएको थियो किनभने उनी राणा शासन विरुद्ध नेपाली जनताको स्वतन्त्रताको लागि लडिरहेका थिए । उहाँ काँग्रेस समाजवादी पार्टीका ब्वाइज सेक्सन अध्यक्ष हुनुहुन्थ्यो । अनि गणेश मान सिङलाई दरबार हाई स्कुलबाट हटाइयो, कृष्ण प्रसाद भट्टराई बनारसका नेपाली विद्यार्थीहरूको सङ्घ नेपाल छात्र सङ्घ उपाध्यक्ष हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलनको पहिले र महत्त्वपूर्ण आन्दोलन जयतु संस्कृतमा हो । तत्कालीन सरकारको नीति राजकीय संस्कृत विद्यालय विरुद्ध भएको थियो । राजनीतिक प्रजातन्त्रका लागि यो आन्दोलनको योगदान ठूलो छ । राणा शासन विरुद्धको परिवर्तनका लागि विद्यार्थी एक भएर विद्यार्थी आन्दोलनलाई अगाडी बढाएको पाइन्छ । १९९७ माघ १६ गते त्रिचन्द्र कलेजका विद्यार्थी नेता गङ्गालाल श्रेष्ठलाई रुखमा झुन्ड्याएर शोभा भगवतीमा मारियो ।

गङ्गालाल श्रेष्ठ विद्यार्थी आन्दोलनको पहिलो सहिद हुन । नेपालको इतिहासदेखि वर्तमानसम्म आउँदा विद्यार्थी सङ्गठनहरू राजनीतिक पार्टीका भातृसङ्गठनको रूपमा सक्रियता बढी देखिन्छ । तथापि दुई दशक यता स्वतन्त्र सङ्गठन, क्लब, समूह र अहिले आएर सामाजिक सञ्जालका गु्ररुपहरुको सक्रियता पनि बढी रहेको अवस्था छ । नेपालको महत्त्वपूर्ण घटनाहरूलाई साक्षी राखेको पुरानो विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ हो ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाइएको बेला नेपाली काँग्रेस आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचार सङ्ग सहमत विद्यार्थीलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी सङ्घको स्थापना २०२७ सालमा भएको थियो । वर्तमान राजनीतिज्ञ अर्जुन नरसिंह केसी, शेर बहादुर देउवा, मार्सल जुलुम शाक्य, बिपिन कोइराला समूहले सन् १९७० मा स्थापना गरेका थिए । संस्थापक सभापति बिपिन कोइराला र दोस्रो सभापतिको रूपमा सन् १९७१ मा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा रहनुभएको थियो । सन् १९७९ को मुख्य आन्दोलन स्वतन्त्र विद्यार्थी युनियन र प्रजातन्त्र बहालीका लागि भएको थियो ।

अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) नेकपा एमालेको विद्यार्थी सङ्गठन हो । गुणस्तरीय शिक्षा, व्यावहारिक शिक्षा र शिक्षाको बदलीकरणका लागि अनेरास्ववियुको स्थापना भएको हो । २०२२ जेठ १ गते स्थापना भएको सङ्गठन नेपालको सबैभन्दा ठूलो विद्यार्थी आन्दोलनको सङ्गठन हो । सङ्गठनले विभिन्न जिल्ला र क्याम्पसहरूमा कार्य गर्दै विश्व प्रतिस्पर्धी नागरिकको लागि शैक्षिक वकालत गर्दै आइरहेको छ । त्यस्तै राज्यले प्रदान गर्ने शिक्षा निःशुल्क, समान, माटो सुहाउँदो र समाजवादी शिक्षा हुनुपर्छ भन्दै अखिल क्रान्तिकारीले वकालत गर्दै आइरहेको छ । अनेरास्ववियुको २२ औँ महाधिवेशन बाट महिला नेत्री नबिना लामा अध्यक्षमा निर्वाचित भएकी थीइन । रामकुमारी झाँक्री पछि अध्यक्ष हुने उनी दोस्रो महिला हुन । अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फबाट निर्वाचित संसद् हुन । उनको राजनीतिक सक्रियता र सफलताले महिला नेतृत्व जन्माउन एक आदर्श र हौसला हुनेछ ।

२०२२ जेठ महिनामा स्थापना भएको अखिल क्रान्तिकारी नेकपा माओवादी केन्द्र पार्टीको भातृसङ्गठनको रूपमा रहेको छ । निनु चापागाईँ, लीलामणि पोखरेल, गिरिराजमणी पोखरेल, टोपबहादुर राइमाझी, देव गुरुङ, हितमान शाक्य, कृष्ण ध्वज खड्का, देवेन्द्र पराजुली, लेखनाथ न्यौपाले, हिमाल शर्मा, शरद रसाइली र सुरेश गौतम यस सङ्गठनका अध्यक्ष रही सकेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भइसकेको वर्ष दिन पुगिसके पनि दुई विद्यार्थी सङ्गठन अनेरास्वविय र अखिल क्रान्तिकारीको एकताको काम अझै पुरा भइसकेको भने छैन । दुई दशक यता विश्वविद्यालय र क्यम्पसहरूमा स्वतन्त्र सङ्गठनहरू, समूह, क्लब, विद्यार्थी मञ्च, रेडक्रस, विद्यार्थी समाज र साहित्यिक समाजहरू सामाजिक र शैक्षिक गतिविधिमा अगाडि बढेका छन् । वैज्ञानिक प्रदर्शनी, कला प्रदर्शनी, क्षमता पहिचान, सामाजिक सेवा, सामाजिक विकृति उन्मुलन र नेतृत्व तथा व्यक्तित्व विकास, युवा सहभागितामा उल्लेख्य भूमिका खेलका छन् । नेपालका विद्यार्थी सङ्गठनमा दलीय भातृसङ्गठनको बाहुल्यता छ । नेकपाका अनेरास्ववियु अनि अखिल क्रान्तिकारी, नेपाली काङ्ग्रेसको नेपाल विद्यार्थीसंघ, राजपा निकट राष्ट्रिय विद्यार्थी सङ्गठन त्यस्तै रा.प्र.पा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन भातृसङ्गठनको रूपमा सक्रिय छन् ।

त्यस्तै मूलधारमा रहेको नेपालको पहिले स्वतन्त्र विद्यार्थी सङ्गठन प्राज्ञिक विद्यार्थी परिषद् नेपाल ७७ जिल्लाकै क्याम्पस कलेजमा सक्रिय रहेको छ । ज्ञान, शील, एकताको मुख्य मन्त्र बोकेको यो सङ्गठनको स्थापना २०५२ मङ्सिर २४ गते भएको हो । बिधिवत रूपमा २०५४ वैशाख १८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो । यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई राजनीतिक किचलोबाट मुक्त क्षेत्र बनाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको छ ।

हाल देशका ७७ वटै जिल्लामा आफ्नो साङ्गठनिक कार्य अगाडी बढाउँदै, सङ्घीय संरचनामा सात वटै प्रदेश अधिवेशन गर्ने पहिले सङ्गठन रूपमा आफ्नो अनुशासन प्रस्ट पारेको छ । विद्यार्थी सङ्गठनका आन्तरिक किचलोहरूबाट बाहिरिँदै शैक्षिक र सामाजिक गतिविधिमा अगाडि बढ्ने प्रेरणा प्राज्ञिक विद्यार्थी परिषदबाट पाउँछौ । यसका साथ साथै राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कार मार्फत ओखलढुङ्गाका युवा उधमी लोचन बस्नेतज्यूलाई सम्मान गर्दै युवा कार्यमा नयाँ आयाम थपेको छ ।

महिला हिंसा, अन्याय र अत्याचार विरुद्ध महिला सशक्त हुनुपर्छ भन्ने उद्देश्यले गरेको लोकप्रिय कार्यक्रम मिसन साहसी यसै वर्ष देशका विभिन्न ठाउँमा सम्पन्न गरेको छ । युवा विकास केन्द्रको स्थापना, सरसफाइ, व्यक्तित्व विकास कार्यक्रम, कम्प्युटर प्रशिक्षण, सडक नाटक, रक्तदान, शैक्षिक गोष्ठी, जनचेतनामुलक मूलक र्‍याली अनि स्वयंसेवक तथा आम निर्वाचनमा पर्यवेक्षकको भूमिका निर्वाह गर्नु प्राज्ञिक विद्यार्थी परिषद्का नियमित कार्यक्रम हुन । सबै विद्यार्थी सङ्गठन र समूहहरूले आफ्ना गतिविधिमा वैज्ञानिकता र व्यवस्थापनमा चुनौती खेपिरहेका छन् ।

आन्दोलनको स्वरूपमा परिवर्तन ल्याउन नसक्नुले राजनैतिक भातृसङ्गठनहरूमा विद्यार्थीहरूको वितृष्णा पैदा भइरहेको छ । जसले गर्दा राजनीतिक विद्यार्थी सङ्गठनको अस्तित्व माथि चर्चा र आलोचना बढ्न थालेको छ । शिक्षामा पुँजीवादको अतिक्रमण तथा शिक्षामा माफिया करण, शिक्षामा धनी र गरिबको लागि विभेदीकरण, वैज्ञानिक समाजवादी वा माटो सुहाउँदो शिक्षामा कमी हुनु, शैक्षिक चलखेल र साँठगाँठ, सरकारी नीति कार्यन्वयनमा प्रभावकारी नहुनु, स्ववियू निर्वाचन र उमेर हदबन्दीमा विद्यार्थी सङ्गठनले चित्त नबुझाउनु, विश्वविद्यालयका सम्बन्धन, नियुक्ति, परीक्षा सबैमा अनियमिता र चलखेल हुनु विद्यार्थीले भोग्दै आइरहेका अहिलेका समस्या हुन । एक अर्का सङ्गठनलाई गाली गर्दै विद्यार्थी आफूमा ल्याउने राजनीतिक परम्पराले विद्यार्थी सङ्गठनहरूले आफूले गरेको काम खुलेर देखाएर आफ्नो प्रचार गर्न आएन । न त विद्यार्थी राजनीतिका काम, कर्तव्य र अधिकार समय अनुसार नै फरक गराउन सकेका छन् । देशका ठुला राजनीतिक घटनाक्रममा हरेक समयमा विद्यार्थी आन्दोलनले महत्त्वपूर्ण अर्थ राखेको छ ।

चाहे २००७ सालको राणा शासनको अन्त्य होस्, वा २०१७ सालको प्रजातन्त्रको अन्त्य तथा पञ्चायत व्यवस्थाका खिलाफ होस्, चाहे त्यो २०४६ सालको पञ्चायत व्यवस्थाको अन्त्य तथा प्रजातन्त्र स्थापनाका लागि होस, वा २०६५ सालको राजसंस्थाको अन्त्य तथा गणतन्त्र लागु गर्न होस्, २०७४ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्दा सम्म विद्यार्र्थीहरूले सङ्घर्ष गरेको हामी बिर्सिन सक्दैनौ । अहिलेको दिनमा विद्यार्थी राजनीति किन आलोचनाको घेरामा आउँदछ भन्ने विषयमा चर्चा गर्न नसक्दा विद्यार्थीका हक अधिकार र मार्ग चित्रणका मुद्दा ओझेलमा परी रहेका छन् । अहिले भोगिरहेका र सुधार हुन जरुरी रहेका विषय बस्तुहरूमा अबको ध्यान केन्द्रित गरौँ ।

आन्तरिक द्वन्द्व
आन्तरिक द्वन्द्व सङ्गठनले तब राम्रो नतिजा दिन सक्छ जब विद्यार्थी सङ्गठनभित्र आन्तरिक द्वन्द्व, विवाद, सवालहरूलाई समाधान गर्दै बलियो नेतृत्व पाउँछ । भाइ फुटे गवार लुटे कथन झैँ जब आन्तरिक विषयवस्तुमै बढी समय खेर फाल्छौ तब विद्यार्थीका लागि हामी काम गर्न र विद्यार्थीमा लोकप्रियता कमाउन सक्दैनौ । अहिले नेबिसंघले महाअधिवेशन गर्न नसक्दा नेतृत्व नै पाउन सकेको छैन । त्यस्तै अनेरास्ववियुको एकता लम्बिएको छ । जब सङ्गठन भित्रका सदस्यहरू बिच एकताको भाव हुँदैन, विश्वासमा कमी आउँछ, छलफलमा सहभागिता गरिँदैन, सुझाव लिने र सुधारिने अभ्यास हुँदैन र निर्णय व्यक्तिवादी बन्छन् भने यसले विद्यार्थीका विषयवस्तु, सवाल र हकहितका बारेमा सङ्गठनको चासो बढाउन सक्दैन, त्यसैले आन्तरिक द्वन्द्व अल्झिनु हुँदैन ।

दलीय राजनीतिक
विद्यार्थी सङ्गठनहरू आफ्ना नीति, कार्यक्रम र योजना अनुसार सञ्चालित नभएर केवल माउ पार्टीको रक्षाका लागि मात्र अगाडि बढ्ने परिपाटी बढी देखिन्छ । विद्यार्थी सङ्गठन भनेको सरकारको सत्तापक्ष र प्रतिपक्ष दुइटै भूमिका खेल्ने शक्ति हो । सरकारका राम्रा योजना, नीति र कार्यक्रमलाई सहयोग पुर्‍याउने कर्तव्य विद्यार्थी सङ्गठनको हो र थप राम्रो काम गर्न तथा दक्षता विकासका लागि सल्लाह सुझाव दिने र खबरदारी गर्ने दायित्व हो । विश्वविद्यालयमा हुने राजनीतिक नियुक्तिहरूलाई प्रतिकार गर्न सक्नु पर्छ र बाँडफाँड र आर्थिक चलखेलको दागबाट बाहिर उम्किनु पर्दछ । विद्यार्थी सङ्गठनको लोकप्रियताका लागि विद्यार्थीका भावना र आवश्यकता बुझ्नु नै सबै भन्दा ठुलो हतियार हो ।

सङ्गठन बिच सहकार्य र सामूहिक मुद्दा
विद्यार्थीका सवालका विषयमा सबै विद्यार्थी सङ्गठन एउटै मन्चमा उभिन जरुरी हुन्छ । व्यक्तिगत स्वार्थ र दलीय स्वार्थ छोडेर शैक्षिक हितका लागि चिन्तन गर्नु विद्यार्थी नेतृत्वको स्वच्छ पारदर्शी राजनीति आजको आवश्यकता हो । हामी सङ्ग ठूला राजनीतिक परिवर्तनका घटनाहरू उदाहरण छन् जहाँ विद्यार्थी मोर्चाबन्दीले अहमद भूमिका निर्वाह गरेको हामी सजिलै देख्न सक्छौ । पछिल्लो परिवर्तन २०६२/०६३ को जनआन्दोलन सफल पार्न दलीय नेतृत्व भन्दा विद्यार्थी नेतृत्व नै अग्रसर भएर सम्भव भएको थियो । जब विद्यार्थी युनियनहरूमा एकता, सद्भाव, सद्मार्ग र प्रस्ट उद्देश्य हुन्छ तब मूलधारमा रहेका माउ पार्टीलाई गलत अभ्यास गर्ने विकल्प नै बाँकी रहँदैन तब मात्र हामीले खोजेको समृद्ध नेपाल सुखी नेपाली सम्भव छ । विद्यार्थीका सामूहिक मुद्दा र गतिविधिमा मोर्चा बन्दी गर्दै अगाडि बढ्न २०६३ चैत्र २४ गते संयुक्त युवा तथा विद्यार्थी मञ्च स्थापना भएको थियो । अहिले आएर सामूहिक मञ्चको आवश्यकता र कमी दुइटै महसुस आम विद्यार्थीले गर्दै आइरहेका छन् । राजनैतिक सत्ता परिवर्तन र एक अर्कालाई कमजोर पार्ने हेतुले मोर्चाबन्दीको खेल खेलिनु दुर्भाग्य हो ।

स्ववियू निर्वाचन
व्यक्तिगत स्वार्थ पूर्तिका लागि राजनीतिक खुड्किलोको रूपमा सिङ्गो विद्यार्थी सङ्गठनलाई हतियार बनाउने मनसायले गर्दा स्ववियू निर्वाचन हुने अवस्था छैन । केन्द्रीय राजनीतिको प्रभावका आधारमा स्ववियूको नेतृत्व पाउने होडबाजी र यसलाई दलको लोकप्रियता बुझ्ने साँघुरो सोचको प्रकाष्टाले गर्दा स्वयम् विद्यार्थी सङ्गठनहरू नै निर्वाचनको पक्षमा नभएको प्रस्ट छ । उमेर हक बन्दी २८ वर्षमा सबै सङ्गठन सहमत हुँदा सृजनशीलता युवा र सक्षम नेतृत्व आउने खुसीयाली थियो तर आफ्नो साङ्गठनिक वर्चस्व भए मात्र चुनाव गर्न दिने गलत प्रवृत्तिले स्ववियूमा ठूलै रोग गडेको छ । निरन्तर अध्ययनरत विद्यार्थीहरूले पाउने अधिकार हामीले पुर्खौदेखी योगदान गरेको भन्दै पुनः भर्ना गरी चुनावमा उम्मेदवारी दिने गर्नुले स्ववियूको अस्तित्वमाथि प्रश्न वाचक चिन्ह खडा हुन्छ ।

आगामी कार्य योजना दिन नसक्नु र पूर्व नेतृत्वले गरेको कामको आधारमा नयाँ नेताहरूले आफ्नो नेतृत्व दाबेदारी गर्नुले शैक्षिक संस्थाको भविष्य कता जानेछ भन्ने प्रस्ट पार्दछ । भर्ना, छात्रवृत्ति, जाँच र निर्माणका कार्यमा चलखेल गर्ने प्रवृत्तिले आज सिङ्गो विद्यार्थी राजनीति बदनाम भइसकेको छ । सक्षम विद्यार्थी नेता जबसम्म आफ्नो क्षमता बिर्सेर पार्टीको क्षमताको आडमा नाच्दै चुनाव जित्न खोज्छ तबसम्म स्ववियू निर्वाचनको महत्त्व छैन । स्वतन्त्र विद्यार्थी युनियन खोज अनुसन्धानमूलक, सिर्जनात्मक र विद्यार्थीको भावना बुझ्ने हुनु आवश्यक छ ।

आन्दोलनको स्वरूप
आन्दोलन भन्ने बित्तिकै तपाईँ हाम्रो दिमागमा बन्द, हडताल, ढुङ्गा मुढा, कालो मोसो, तालाबन्दी र गाडी भवन तोडफोड र जलाउनु आउँछ होला । किन नआओस त हामीले जनआन्दोलन यताका प्रत्यक्ष घटनाहरू यस्तै नियालेका र गर्दै आइरहेका छौ । यो आन्दोलनको स्वरूप नभएर विनाशको बाटो हो । आन्दोलनले भएका सम्पत्ति, सम्पदा र सामर्थ्यलाई हानी र कमजोर गर्नु सिङ्गो देशलाई अँध्यारोमा धकेल्नु हो । आन्दोलनको उपलब्धि फाइदाजनक हुनुपर्छ । आन्दोलन रचनात्मक, विवेकात्मक र सृजनशील हुन जरुरी छ । एउटा घटना आन्दोलनको रोचक छ । जुत्ता उधोगमा कामदार र उधोगपती बिच ज्यालाको विषयमा कुरा नमिलेर कामदारहरूले आन्दोलन थालेछन् । कामदारहरूले सधैँ जस्तै समयमा नै काम गर्न आउँछन् र जुत्ता उत्पादनमा निरन्तर नै काम गरिरहेका हुन्छन् । उनीहरूले आन्दोलनको रूपमा एक खुट्टाको जुत्ता मात्र एकोहोरो उत्पादन गरे । जब उनीहरूको वार्ता भयो तब मात्र अर्को खुट्टाको जुत्ता उत्पादन गरे । यहाँ दुइटै पक्षलाई हानी नोक्सान हुँदैन र सजिलै समस्या समाधानको लागि पहल हुन्छ । त्यसैले आन्दोलन सधैँ फाइदाजनक नै गर्न तिर हाम्रो विवेक लगाउन जरुरी हुन्छ । धर्ना दिने, ज्ञापन पत्र दिने, दबाब ¥याली गर्ने र अन्तर्क्रिया जस्ता क्रियाकलापले केही सकारात्मक प्रतिक्रिया दिन्छ ।

यसका साथ साथै प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मूल्य वृद्विको विरोधमा मोटरसाइकललाई लासको संज्ञा दिएर रत्नपार्कमा गरेको प्रदर्शन, विद्यार्थी सङ्गठनले साङ्केतिक विरोधमा गुलाबको फुल दिएको, रानीपोखरी पुनर्निर्माणमा ध्यान केन्द्रित गर्न फुटबल खेलेको, हत्याकाण्डहरूको विरोधमा सामूहिक ¥याली अनि मुन्डन गरेका, भित्तामा रङ चित्रहरू कोर्नु, समस्या उजागरण गरिएका चित्रहरू उपहार दिनु, सिङ्गो साहित्य मार्फत व्यङ्ग्य गर्नु, सडकनाटकवाट वास्तविकता दर्साउनु र सचेत गराउनु, सम्बन्धित व्यक्तिलाई सामूहिक सूचना गर्नु र सामाजिक सञ्जाल मार्फत साङ्केतिक दबाब गर्नु केही लोभ लाग्दा आन्दोलनका नमुना घटना हुन ।

शैक्षिक संस्थाका गतिविधि
नेपाल सरकारले अहिलेसम्म १२ वटा विश्वविद्यालयलाई मान्यता दिएको छ र केही सञ्चालन प्रक्रियामा रहेका छन् । त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत क्याम्पस काठमाडौँ, पूर्वाञ्चल, पोखरा, लुम्बिनी बौद्ध, सुदूरपश्चिम, कृषि तथा बन, मध्यमाञ्चल र खुल्ला विश्वविद्यालयले आफ्ना शैक्षिक गतिविधि गरिरहेका छन् । नेपालगन्ज र राजर्षी जनक विश्वविद्यालय सञ्चालन प्रक्रियामा रहेका विश्वविद्यालय हुन । यस बाहेक सिटिभिटी, राष्ट्रिय परीक्षा बोर्ड र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी युनियनका मुख्य चासोका ठाउँहरू हुन । विश्वविद्यालय तथा शैक्षिक संस्थाका गतिविधिमा विद्यार्थी सङ्गठनहरूले मुख्य सरोकारवालाको भूमिकामा रहँदै जबाफदेही हुनुपर्दछ । विश्वविद्यालयको फितलो व्यवस्थापन, शैक्षिक क्यालेन्डरको कार्यान्वयनमा समस्या, शैक्षिक गतिविधिमा ह्रास, पाठ्यक्रमको स्तरता, सेमेस्टरको चुनौती र समस्या, गुणस्तर, राजनैतिक खिचा तानी अनि नियुक्ति, परीक्षाको फितलो व्यवस्थापन, जथाभाबी सम्बन्धन र नियुक्ति साथै स्ववियूका समस्याहरू सामान्य जस्तै छन् ।

मेडिकल कलेज तथा निजी क्याम्पसको दादागिरीले गर्दा माफियाबाट विद्यार्थीहरू मर्कामा पर्दा समेत विद्यार्थी सङ्गठनको ध्यान केन्द्रित नहुनु विडम्बना नै हो । प्रश्नपत्रहरू बाहिरिनु अनि परीक्षाफलमा त्रुटि शङ्काको घेरा भित्र भेटिनु जस्ता घटनाले हाम्रो शैक्षिक भविष्य अवश्य केलाउँछ नै । हामी देशका गाउँगाउँमा सिंहदरबार परिकल्पना गर्दा तल्लो तह देखी सहरमुखी शिक्षा बढ्नु, महँगो शिक्षा र विभेदकारी शिक्षा बढ्नाले विद्यार्थी र अभिभावक मनोवैज्ञानिक पिडामा बस्नु परेको छ । विद्यार्थीहरूले कोठामा बस्दा चर्को शुल्क तिर्न बाध्य हुन परेको छ भने होस्टेलहरूको उचित व्यवस्थापन र सञ्चालन हुन नसक्नु विद्यार्थीका लागि अर्को समस्या छ । रोजगार मुखी र माटो सुहाउँदो शिक्षा दिन नसक्दा बेरोजगारी र वैदेशिक शिक्षाको लहर वृद्वि भएको छ । फलस्वरूप विद्यार्थी सङ्गठनहरू विश्वविद्यालय र विद्यार्थीका सवालमा अध्ययनशील हुँदै अनुगमनमा अग्रसर भएर सल्लाह सुझाव दिने गरी र उचित व्यवस्थापनमा ध्यान दिन आजको महत्त्वपूर्ण आवश्यकता छ ।

शिक्षाको व्यापारीकरण
सरकारले आधारभूत शिक्षा निःशुल्क गरिरहेका बेला निजी विद्यालयको चर्को शुल्क बृद्विले शैक्षिक शिक्षामा विभेदीकरण निम्त्याएको छ । सरकारी सामुदायिक स्कुल विद्यालय टाढा हुनु, भैतिक पूर्वधार बलियो नहुनु, शिक्षकको कोटा पुरा नहुनु, पढाईको स्तरमा कमी हुनु र विद्यालयको लापरबाही हुनाले सबै अभिभावकले आफ्ना सन्ततिको उज्वल भविष्यका लागि निजी विद्यालय वाध्यात्मक एक विकल्पको रूपमा हेरिन्छ । कुशल व्यवस्थापन भएका सहरमुखी सरकारी स्कुलहरूमा हामीले शैक्षिक गुणस्तर र चाप हेर्दा यी विद्यालयलाई पनि निजी विद्यालय भन्दा उत्कृष्ट बनाउन सक्ने अनुभव हामी सँगै नै छ । सरकारी र निजी विद्यालयमा शैक्षिक गुणस्तरमा केही भिन्नता राखेनौ भने मात्र हाम्रो शिक्षा न्यायोचित हुनेछ । माध्यमिक शिक्षा अध्ययनमै लाखौँ असुल्ने संस्थालाई कारबाही गर्नुपर्छ । शिक्षा व्यापार नभएर नागरिकको मौलिक हक हो त्यसैले समान शिक्षा सबैलाई हुनुपर्दछ । शिक्षाको नाममा धार्मिक परिवर्तनका सवालहरू उब्जिने गरेका छन् यस्ता गलत अभ्यासलाई निरुत्साहित गर्नुपर्छ । मेडिकल कलेजहरूले गैर जिम्ववारीपूर्ण शुल्क असुल्ने, परीक्षा दिनबाट वञ्चित पार्ने, गुनासो राख्दा आन्तरिक मूल्याङ्कनमा प्रभाव पार्नु केवल एक उदाहरण मात्र हो । यस्ता घटना प्राय धेरै कलेजमा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको छ विशेषतः सेमेस्टर प्रणालीमा यसको फाइदा बढी लिने गरेको छ । विद्यार्थीको मानसिक तनावका हेतु यसमा विद्यार्थी सङ्गठनको बेलैमा नजर पुगोस् ।

सीप विकास र रोजगारी
सीप भनेको प्रतिभा, तालिम वा अभ्यासबाट विकसित कुनै काम गर्न सक्ने क्षमता हो । युवा तथा साना उद्यमी विकासका लागि व्यावसायिक खेती, पशुपालन, कृषि र वनजन्य उद्योग घरेलु तथा साना उद्योग तथा अन्य उद्योग सञ्चालन मा युवाहरूलाई कसरी दक्ष बनाउन सकिन्छ, हाम्रो पहल र भूमिकाका बारेमा यहाँ जानकारी र सक्रियता बढाउन जरुरी छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष र सीपयुक्त जनशक्ति तयार गरी बेरोजगारी घटाउने पहल गर्नु विद्यार्थी सङ्गठनको दायित्व हो । अहिलेको परिवेशमा देशले कामदारहरू खाडी मुलुकमा पठाउने साधनको रूपमा परिचय बनाएको छ । देश भित्र दक्ष जनशक्ति उत्पादन हुन नसक्दा देश विकासमा बाधा निम्त्याएको छ । त्यस्तै महिला सशक्तीकरण र उधमशिलता विकासमा केही पहल देखिएपनी उपलब्ध सोचे अनुरूप हुन सकेको छैन । या त विदेश जाने या त बेरोजगार भएर त्यसै हल्लिने प्रवृत्ति युवामा विकास भएको छ ।

प्रविधि र ज्ञानको तालमेल नहुने शिक्षाले गर्दा योग्यता र काम बिचको भिन्नता नौलो छैन । रोजगारी र स्वरोजगारीका अवसरहरूको सम्भावना भएका विषय र क्षेत्रमा सीपयुक्त श्रम शक्ति तयार गर्न तालिमको सञ्चालन गरी व्यावसायिक तथा सीप विकासमा हाम्रो सोच पुग्नु जरुरी छ । राज्यको सम्बन्धित र जिम्मेवार निकायले योजनाबद्ध तरिकाले आफ्ना निजी तथा कार्यक्रम ल्याइरहने र युवाहरू सूचनाको पहुँचबाट टाढा रहनाले उपलब्धी हासिल गर्न सकिरहेका छैनौ । अब विद्यार्थी सङ्गठनहरूले यहाँ सरकार र सरोकारवालाहरू बिच पुलको काम गर्दै सक्रिय हुनुपर्छ । र लगानी एवं रोजगारी प्रवर्धनका लागि भरपर्दो वातावरण सिर्जना गर्न श्रम कानुन, औद्योगिक नीति, वैदेशिक लगानी नीति र करनीति एवं सम्बन्धित कानुनहरूमा समयानुकूल परिमार्जन गराउने कुरामा सक्रिय रहनुपर्छ ।

खोज तथा अनुसन्धान
कुनै कामकुरामा चासो लिएर गरिने खोजी र यथार्थको सोधपुछ लाई खोज भनिन्छ । अनुसन्धान व्यवस्थित तथा वैज्ञानिक रूपमा नयाँ ज्ञानको खोजी गर्ने विधा हो । यसले व्यक्तिमा भएको ज्ञान र बुझाइलाई बिस्तार गर्ने कार्य गर्दछ । बढी इच्छाशक्ति भएको र सामर्थ्य बोकेको उमेर नै विद्यार्थी जीवन हो । त्यसैले विद्यार्थी सङ्गठनको जिम्मेवारी स्वाभाविक तवरले बढी छ । विद्यार्थी युनियनहरूको चासो देशका हरेक विषयमा हुनुपर्दछ । नीतिगत सुधार, व्यवस्थित कार्यसम्पादन, वैज्ञानिक मूल्याङ्कन र कार्यदिशाका बारेमा आफ्नो बौद्धिकताको सदुपयोग गरी सल्लाह सुझाव र प्रभावका बारेमा बलियो आधार देश विकासका लागि सबै निकायमा पुर्‍याउन सक्नुपर्छ । विद्यार्थी सङ्गठनहरूमा हरेक निकाय र क्षेत्रगत विकासका लागि छुट्टाछुट्टै विभागीय संरचना बनाएर अगाडि बढ्नुपर्छ । केही विद्यार्थी युनियनहरूले मात्र विभागीय स्वरूपमा आफ्नो काम खडा गरेको पाइन्छ । विभागीय संरचनाको भूमिकालाई व्यवस्थित र सक्रियतामा समयमै सबैको ध्यान पुगोस् । खोज तथा अनुसन्धानले विद्यार्थीको भावना र चाहना अनुरूपका कार्यक्रम ल्याउन सहयोग गर्दछ जसले लोकप्रियता बढाउन पनि विद्यार्थी सङ्गठनहरूलाई टेवा पुग्नेछ ।

सङ्गठनको औचित्य
सङ्गठन साङ्गठनिक काम कारबाहीमा मात्र सीमित रहँदा के विद्यार्थी वर्ग, समाज र राष्ट्रप्रति उत्तरदायी हुनसक्छ त ? सङ्गठनको भूमिका समय परिवेश र आवश्यकता अनुरूप बदलिनु पर्दछ । सङ्गठनका कार्यहरू पारदर्शी, मितव्ययी, समावेशी र उपलब्धि मूलक हुनुपर्दछ । सामाजिक जिम्मेवारी प्रति उत्तरदायी भएर काम गर्नुपर्छ र जबाफदेही हुनु पनि आवश्यक छ । विद्यार्थी सङ्गठनको चासो केवल शैक्षिक मात्र नभएर सामाजिक, राजनीतिक र आर्थिक विकास सँगै धार्मिक सांस्कृतिक विकास र संरक्षणमा हुनुपर्दछ । सार्वभौमसत्ता बचाउन, सीमा बचाउन, नागरिक अधिकार सुनिश्चित गर्न र प्राकृतिक सम्पदाको संरक्षण गर्ने दायित्व विद्यार्थी नेतृत्वको हो । माउ पर्टीको गल्ती ढाकछोप र प्रतिरक्षा गर्ने स्वभावले गलत अभ्यासलाई निरुत्साहित पारेको छैन । विद्यार्थी सधैँ सकारात्मक र सत्य परक हुन जरुरी छ । सीप तथा रोजगार सिर्जना उन्मुख गतिविधि ल्याउन बढी सक्रियता चाहिन्छ । साथ–साथै राहत वितरण, पुनःर्निमाण र उद्धार जस्ता कार्यमा अर्धशैन्य शक्तिको रूपमा तयार रहनुपर्छ । समय, परिस्थिति र परिवर्तन अनुसारको निर्णय क्षमता पुर्‍याउन सके मात्र सङ्गठनको औचित्य रहन्छ ।

अन्त्यमा, विद्यार्थी राजनीति केवल कमाइ खाने भाँडो होइन । न त सत्ता प्राप्तिको खेल । विद्यार्थीको विकास सँगै देश विकासको खाका यही थलोबाट गरिनुपर्दछ । सावधान गर्ने सिपाही, सञ्चार पुर्‍याउने हुलाकी, समाजसेवा गर्ने समाजसेवी लिएर हरेक क्षेत्रका दक्ष विज्ञ जन्माउने साधन हो विद्यार्थी सङ्गठन । सकारात्मक सोच अनि स्वच्छ छविको लोकप्रिय बौद्विक प्राज्ञ जमात बनिरहोस् विद्यार्थी सङ्गठन ।

केन्द्रीय सदस्य, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल

Tags :
प्रतिक्रिया दिनुहोस