कर्मचारी समायोजन बारे गाउपालिका अध्यक्षको ‘नराम्रो सपना’, प्रधानमन्त्रीलाई लेखे पत्र « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारी समायोजन बारे गाउपालिका अध्यक्षको ‘नराम्रो सपना’, प्रधानमन्त्रीलाई लेखे पत्र


प्रशासन विशेष ब्युरो

१४ चैत्र २०७५, बिहिबार


कर्मचारी समायोजन

काठमाडौँ । आज ११ बजे पत्रकार सम्मेलनमार्फत कर्मचारी समायोजन सकिएको औपचारिक घोषणा गर्ने तयारी भइरहँदा एक गाउँपालिकाका अध्यक्षले भने ‘नराम्रो सपना’ देखेको भन्दै प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै शाखा अधिकृत सचिवहरूले मन्त्रिमण्डललाई लछारपछार गरिरहेको सपना देखेको बताएका हुन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारी समायोजनबारे असन्तुष्टि जनाउँदै मोक्तानले लेखेका छन् ‘कर्मचारी समायोजनको सिलसिलामा तपाईँ लगायत तपाईँको मन्त्रिमण्डलको टोलीलाई शाखा अधिकृत र सचिवहरूले पछारेर लछारपछार गरिरहेको नराम्रो सपना देखेँ ।’

समायोजनका क्रममा स्थानीय तहलाई खाली हुने गरी कर्मचारी जति सबै प्रदेश र केन्द्रतिर पदस्थापन हुने गरी व्यवस्थापन गरेकोप्रति लक्षित गर्दै मन्त्री लालबाबु पण्डित र सचिव दिनेश कुमार थपलियाको सक्रियतामा सङ्घीयताको कलिलो मुना उल्टोबाट रोपेको देखेकोसमेत बताएका छन् । ‘लालबाबु पण्डित र दिनेश कुमार थपलियाको सक्रियतामा संघीयताको कलिलो मुनालाई उल्टोबाट रोपिरहेको पनि देखेँ’  उनले लेखेका छन् ।

जन्मदर्तामा सही गर्ने वडा सचिवसम्म नभएकोले जनताका छोराछोरी नेपाली नागरिकता पाउनबाटसमेत वञ्चित भएको अवस्था रहेको भन्दै मुलुक सङ्घीय संरचनामा प्रवेश गरेसँगै गाउँगाउँमा सिंहदरवारको नाराप्रति व्यथ्य गर्दै उनले भनेका छन् ‘औसतमा गाउँपालिकाभरिलाई पुग्ने गरी उतैबाट जन्मदर्ता प्रमाणपत्रमा मुख्यसचिवलाई सही गराई हेलिकप्टरमार्फत यता भिरपाखामा पर्ने गरी गाउँपालिकातिर छरिदिनु भई गाउँगाउँमा सिंहदरवारको अनुभूति गराई सङ्घीयताको सुवर्ण अवसर प्रदान गरिदिनु होला ।’

कर्मचारी समायोजनबारे असन्तुष्टि चुलिँदो छ । बेलैमा बुद्धि नपु¥याउँदाको परिणाम भन्नुपर्छ न त समायोजित हुने कर्मचारी नै खुसी देखिएका छन् न त जनप्रतिनिधि नै ।

समायोजनको मुल मर्म स्थानीय तथा प्रदेश तहमा देखिएको कर्मचारी अभावलाई परिपूर्ति गर्नु रहेपनि समायोजन प्रक्रियामा देखिएका अनेकन त्रुटीहरुले हाल ति ठाउँमा रही काम गर्दै आएका कर्मचारीसमेत काम गर्ने मुड नभएको भन्दै अन्यौलताको अवस्थामा रहेको बताईरहेका छन् ।

गणितीय परिणाम ‘देखाउन’का लागि त ठिकै होला र वाहवाही पाईयला तर समायोजनको मर्म कर्मचारीको स्थायीत्व र त्यो भन्दा पनि ठूलो सेवा प्रवाह नै भएकोले त्यो अवस्था कतिको बनाउन सक्यौँ, त्यो त समयले नै प्रष्ट्याउँदै जानेछ ।

हेर्नुस पत्र

प्रतिक्रिया दिनुहोस