ललितपुर । कला नगरीको प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि ललितपुर महानगरपालिका–१६ मा ‘बृहत कला र सांस्कृतिक महोत्सव’ शुरु भएको छ ।
विश्व कला परिषद्ले केही महीना पहिले ललितपुर महानगरपालिकालाई कला नगरी घोषणा गरेको थियो । कला नगरीको प्रचार गर्नेसँगै यहाँ पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ ।
हस्तकला व्यवसाय प्रवद्र्धनका लागि आयोजित महोत्सव पाँच दिनसम्म सञ्चालन हुने वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्यले बताए। ‘हस्तकला नगरीको उत्सव, कला संस्कृतिको महोत्सव’ नाराका साथ सबै टोल समेट्ने गरी कार्यक्रम आयोजना गरिएको छ । कला नगरी घोषणासँगै यहाँ हस्तकलाको विकास हुने स्थानीयवासीमा आशा बढिरहेको उनले बताए ।
महोत्सवमा सबै टोल, टोलवासी र त्यहाँका जात्रा, पर्वसँगै मूर्त र अमूर्त सम्पदा महोत्सवको आकर्षणका रूपमा रहेको वडाध्यक्ष शाक्यले बताए । महोत्सवमा धातुकला, मूर्तिकलालगायतका २५ स्टल रहेका छन् । नकवहिलस्थित लोकाकीर्ति महाविहारमा रहेको रञ्जना लिपि लेखन विधि र गेडागुडीको मण्डला प्रदर्शनी गरिएको उनले जनाए ।
त्यस्तै, यहाँका धार्मिक र संस्कृतिक पर्वको झल्कोसमेत महोत्सवमा देखाइएको छ । रासस







