बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन


१२ चैत्र २०७५, मंगलबार


मुग्लिन । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बसेकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् ।

वडा वडामा फाराम र चिठी पुगे पनि विधि र प्रक्रियाबारे परामर्श दिने कर्मचारी नै नहुँदा वडाबाट बेरोजगारीको तथ्याङ्क सङ्कलन शुरु हुन नसकेको वडाध्यक्ष गोवद्र्धन अधिकारीले बताए । ‘वडामा फाराम र चिठी पुगेको छ तर यसको विधि र प्रक्रियाबारे हामी जानकार छैनौँ, म पटकपटक कार्यालयमा जाँदा सम्बन्धित कर्मचारी भेटिएको छैन’, उनले भने ।

दैनिक दर्जनभन्दा बढी बेरोजगार गाउँपालिकामा फाराम भर्न आउने गरे पनि रोजगार संयोजक नहुँदा उनीहरु त्यतिकै फर्कने गरेको गाउँपालिकाका अन्य कर्मचारीले बताए । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले संयोजक खरेललाई तत्काल उपस्थित हुन निर्देशन दिइने बताए । फोनसम्पर्क गर्दा संयोजक खरेलले दुई दिनपछि आउने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस