राज्य चूप लागेर बस्न मिल्दैन : नेता नेपाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राज्य चूप लागेर बस्न मिल्दैन : नेता नेपाल


प्रशासन संवाददाता

११ चैत्र २०७५, सोमबार


चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताएका छन् ।

यहाँ आज पत्रकारसँगको भेटघाटमा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताए । पूर्वप्रधानमन्त्री नेपालले भने, ‘राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।’ नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज यहाँ आइपुगेका हुन् ।

डा.सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उनले बताए । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उनले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिए । उनले थपे,’असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ ।’ नेता नेपालले कुनै विषयमा आलोचना भएका खण्डमा वा केही प्रष्ट गर्नु पर्ने भएमा त्यसलाई प्रष्ट पार्नुपर्ने र नेतृत्व फराकिलो हुनुपर्ने बताए ।

‘नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो जहाँ व्यक्तिविशेष सर्वेसर्वा हुँदैन’, नेकपा सचिवालय सदस्य नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताए । उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए । पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए ।

उनले पार्टी स्थापना भएको दिन अप्रिल २२ (आगामी वैशाख) सम्ममा सम्पूर्ण एकता सम्पन्न गर्नुपर्नेमा पनि जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस