सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा चैते धानको रोपाइँ प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा चैते धानको रोपाइँ प्रभावित


प्रशासन संवाददाता

२ चैत्र २०७५, शनिबार


राजविराज । सप्तरीमा उचित सिँचाइको व्यवस्था नहुँदा र समयमा वर्षा नभएका कारण यस वर्षको चैते धान रोपाइँ प्रभावित भएको छ ।

किसानलाई यतिबेला चैते धान लगाउने चटारो रहेपनि जिल्लामा सिँचाइको अभावमा अहिले पम्पसेट, विद्युतीय मोटर र वैकल्पिक माध्यमबाट रोप्न बाध्य रहेको हनुमानगर कङ्कालनी नगरपालिका–२ का किसान लाल माझिले बताए ।

कोशी पम्प चन्द्र नहर र कोशी पश्चिमी नहरमा नियमितरुपमा पानी नछाडेकाले किसानलाई खेती गर्ने बेलामा पानीको अभाव हुने गरेको किसानले गुनासो गरेका छन् । वैकल्पिक बालिका रुपमा मानिएको चैते धानको खेती गर्ने किसानलाई सरकारले समयमा सिँचाइको व्यवस्था गर्न नसकेकोले पनि बाध्य भएर अहिले पम्पसेट, विद्युतीय मोटर र वैकलपिक माध्यमबाट चैते धान रोप्न लागेको किसान माझीले बताए।

नहरमा पानी नआउँदा र अकासबाट समेत पानी नपर्दा सुख्खा खडेरीले चैते धान खेतीमा कमी आउने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ । जिल्लाको इहटरी विष्णुपुर, बरही वीरपुर, कोचाबखारी, विषहरिया, लौनिया, तिलाठी, सकरपुरा, रम्पुरामल्हनियाँ, हनुमान नगर, भारदह, इनर्वा, महदेवा र देउरी भरुवालगायतका ठाँउमा चैते धान खेती हुने गरेको बताइएको छ ।

उचित सिँचाइ व्यवस्था नहुँदा पानी तान्ने पम्पसेट, डिजेल तथा मट्टितेलबाट चल्ने उपकरणबाट महँगो शुल्क तिरेर खेतमा पानी दिनुपर्ने बाध्यता रहेको किसान बालेश्वर खड्गाले बताए ।

तेस्रो प्रमुख बालिको रुपमा रहेको चैते धान खेतीमा ह्रास आउनु सिँचाइको अभाव रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भागिरथ यादवले बताए । यसैबीच २०७३ साउनमा आएको भिष्ण बाढीका कारण कोशी पम्प चन्द्र नहर टुटफुट भएकाले पानी छाडन समस्या हुने गरेको कोशी पम्प चन्द्र डिभिजन कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस