सूचना प्रवाहमा आनाकानी गर्न मिल्दैन -प्रमुख आयुक्त बास्कोटा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सूचना प्रवाहमा आनाकानी गर्न मिल्दैन -प्रमुख आयुक्त बास्कोटा


प्रशासन विशेष ब्युरो

२ चैत्र २०७५, शनिबार


सूचना

नेपालगन्ज । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सरकारी तथा गैरसरकारी कुनै पनि निकायले सार्वजनिक सरोकारका सूचना सार्वजनिकरणमा आनाकानी गर्न नमिल्ने बताएका छन् ।

बागेश्वरी असल शासन(बास)को आठौँ महाधिवेशन तथा भ्रष्टाचार विरुद्धको चौथो राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रमुख सूचना आयुक्त बास्कोटाले सो कुरा बताएका हुन् ।

पछिल्लो समयमा स्थानीय निकायबाट प्रवाह हुने सेवा सुविधामा पारदर्शिता भएन भन्ने जन गुनासा बढी आइरहेकाले सेवा प्रवाह गर्ने कुनै पनि निकायले सूचना माग भई आए सूचना प्रवाहमा, सूचना दिनमा, सुचनापाटीमा टाँस गर्नमा आनाकानी गरेमा कानुन बमोजिम कारबाहीको भागे दारी हुनुपर्ने उनले बताए ।

प्रमुख बास्कोटाले युवाहरूलाई भ्रष्टाचार विरुद्धको अभियानमा रोल मोडेल भएर काम गर्न अनुरोधसमेत गरेका छन् । युवाहरूलाई कसरी सकारात्मक काममा लगाउने भन्ने विषयमा सरकारले योजना बनाएर जानु पर्ने भन्दै भ्रष्टाचार विरुद्धका सम्मेलनहरूले युवाहरूलाई सुशासन बहालीमा क्रियाशील भएर लाग्न उत्प्रेरणा थप्ने उनको धारणा छ ।

भ्रष्टाचारले मुलुकका लागि मात्र नभई नयाँ पुस्ताका युवाहरूलाई समेत बर्बाद गरिरहेको ट्रान्सपेरेन्सी ईन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले बताए । उनले भने –‘सबै निकाय तथा सङ्घ संस्थाहरूले आफूले गरेका काम तथा योजनाहरूलाई पारदर्शी गर्नुपर्छ ।’ पछिल्लो समय भ्रष्टाचारको डरलाग्दो तथ्याङ्कहरू बाहिर आएकाले भ्रष्टाचार जस्तो रोगलाई निको पार्न युवाहरूले लाग्नुपर्नेमा उनको जोड थियो । उनले देशमा फैलिरहेको कालो धनलाई नियन्त्रण गर्न लाग्नु पर्नेमा जोड दिएका थिए ।

भ्रष्टाचार रोक्न सुशासन कायम गर्न जिम्मेवार पायका निकायहरूबाट नै भ्रष्टाचार भईररहेको नेपालगन्ज उप महानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले बताए । उनले भने –‘भ्रष्टाचार एउटा यस्तो रोक हो देशलाई नै खोक्रो बनाइसक्यो ।

‘राजनीति गर्छु । समाज सेवा गर्छु भन्ने जसको मासिक तलब पनि छैन तिनीहरूकै काठमाडौँ लगायत ठुल्ठुला सहरहरूमा दश तले घर छन् त्यो सम्पत्ति कताबाट आयो त्यो भ्रष्टाचार होइन ?’ उनले प्रतिप्रश्न गर्दै भने ‘सबैलाई थाहा छ त्यसैले भ्रष्टाचारले दिनानुदिन दिन उग्र रूप लिइरहेको छ ?’

सहभागी तिर इङगीत गर्दै राणाले यदि भ्रष्टाचार लाई रोक्नुहुन्छ भ्रष्टाचारी नेताहरूलाई चुनावको समयमा सहयोग नगरौँ, भोटै नदिउ, भ्रष्टाचारीहरूलाई बहिष्कार गरौँ भने ।

‘नेपालगन्ज उप महानगरपालिका र मातहतका कार्यालयबाट यदि कसैले बढी होइन रु १० मात्र पनि मागेको भेटेमा मलाई खबर गर्नुहोस् म आफै अख्तियार र अदालतमा कारबाहीका लागि जान्छु’ राणाले बताए । राणा सुशासन कायम गर्न सक्रिय नेपालका केही चर्चामा रहेका जनप्रतिनिधि भित्र पर्दछन् ।

भ्रष्टाचार दिनानुदिन संस्थागत भइरहेको अवस्थामा ७३ वटा जिल्लाहरूमा बासका शाखा स्थापना गरी सुशासनको बिगुल फुकिरहेको बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताए ।

आजै राष्ट्रिय युवा सम्मेलनबाट ८ बुँदे नेपालगन्ज घोषणा पत्र जारी गरिएको छ । बासका निर्बतमान अध्यक्ष राजु लामिछानेले प्रस्तुत गरेको घोषणा पत्रमा भ्रष्टाचारको विरुद्धमा प्रत्येक जिल्लामा छलफल, पैरवी गर्ने, सरकारले सञ्चालन गरेका सुशासन सम्बन्धी अभियानलाई पूर्ण रूपमा सहयोग तथा समर्थन गर्ने, सूचनाको हकको पूर्ण कार्यान्वयनमा जोड दिने, स्थानीय सरकारले सुशासन, पारदर्शिता कायम गर्न अपनाउनुपर्ने सयन्त्रहरुलाई पूर्ण रूपमा परिपालन गराउन जोड दिने लगाएका कुराहरू समावेश गरिएका थिए ।

बागेश्वरी असल शासन केन्द्रीय समितिको आयोजनामा आज र भोलि हुने महाघिवेशन तथा सम्मेलनमा देश भरिबाट करिब चार सय भन्दा बढी युवाहरूको सहभागिता रहेको थियो । आज बन्द सत्र पश्चात् ३ वर्षको लागि नयाँ नेतृत्व चयन हुने छ ।

संस्था दर्ता ऐन अन्र्तगत २०५७ सालमा जिल्ला प्रशासन कार्यालय नेपालगन्जमा दर्ता भई सञ्चालनमा रहेको बागेश्वरी असल शासन(बास)ले हाल देश भरीका ७३ वटा जिल्लामा शाखा विस्तार गरी चार हजार भन्दा बढी सदस्यहरू आबद्ध रही सुशासन, पारदर्शी, जनाफदेहीतामा विभिन्न अभियानमूलक काम गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस