जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह : ‘इमान बचाएर काम गर्नुहोस्’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जनप्रतिनिधिलाई प्रधानमन्त्रीको आग्रह : ‘इमान बचाएर काम गर्नुहोस्’


प्रशासन संवाददाता

२९ फाल्गुन २०७५, बुधबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिहरुलाई इमान बचाएर काम गर्न आग्रह गरेका छन् ।

नेपाल नगरपालिका संघको २६ औं स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिको इमान डगमगायो भने जनताको जनप्रतिनिधिमुलक संस्था माथिको विस्वास पनि डगमगाउने बताएका छन् ।

‘जनप्रतिनिधिमुलक संस्थाप्रति जनताको विस्वास घट्यो भने लोकतन्त्र कमजोर हुन्छ ।’ प्रधानमन्त्री ओलीले भने ‘त्यसकारण तपाईंहरुको आचरणका आधारमा लोकतन्त्रप्रति जनताले दृष्टिकोण बनाउने हुन् । यसमा सबैले सजग हुनुपर्दछ । ‘

प्रधानमन्त्री ओलीले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता नभूल्न पनि जनप्रतिनिधिलाई सम्झाएका छन् । ‘अवसरहरु सक्षम र गरिबलाई दिनुहोस आफ्ना छोराछोरीलाई होइन ‘प्रधानमन्त्री ओलीले भने ‘निर्वाचनका बेला तपाईंले छोराछोरीसँग होइन मतदातालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालबाट पृथकतावादी आन्दोलन समाप्त भएको स्पष्ट पारेका छन् । ‘पृथकतावादका नाममा ठाउँठाउँमा कार्यपत्र प्रष्तुत गरेर हिड्नेहरुले अहिले यसको बिरोध गरेका छन् ‘ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले लुटपाट गर्ने समुहलाई चन्दा नदिन जनप्रतिनिधिलाई आग्रह गरेका छन् ।

‘लुटेराहरुले तपाईंहरुलाई धम्क्याउलान् ,चन्दा माग्लान् तर उनीहरुलाई चन्दा नदिनुहोस’ प्रधानमन्त्री ओलीले भने ‘लुटेरा प्रवृतिले देशको विकास हुदैन । यस्ता प्रवृतिलाई नेपाली समाजले स्विकार्दैन ।’

प्रधानमन्त्री ओलीले स्थानीय तहका अधिकारका बिषयमा नगरपालिका संघ,गाउँपालिका महासंघ र जिल्ला समन्वय समिती महासंघका प्रतिनिधिहरुसँग छलफल गर्ने बताएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिकाका असल अभ्यास नामको पुस्तक विमोचन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस