एम्बुसमा परी घाइते कटुवाललाई आर्थिक सहयोग « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एम्बुसमा परी घाइते कटुवाललाई आर्थिक सहयोग


२७ फाल्गुन २०७५, सोमबार


काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते भएका मीरा कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई हस्तान्तरण गरे ।

कार्यक्रममा नेता सिंहले संविधानप्रदत्त प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित कांग्रेसका नेतामाथि आक्रमण हुनु प्रजातान्त्रिक प्रणालीमाथिको आक्रमण भएको बताए । नेता सिंहले निर्वाचनका क्रममा घाइते भए पनि प्रजातान्त्रिक पद्धतिलाई अगाडि बढाउन कटुवालले गरेको भूमिका सराहनीय रहेको बताए ।

“शक्तिको पछाडि मात्र दगुरेर हुँदैन, लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित भएर राजनीति गरे काङ्ग्रेस अगाडि बढ्न सक्छ”, उनले भने । समाजलाई रूपान्तरण गर्न लोकतान्त्रिक प्रक्रियाको विकल्प नभएको उनको भनाइ छ । नेता सिंहले काङ्ग्रेस निर्वाचन समिति सहमतिको आधारमा निर्माण हुनुपर्ने बताए ।

घाइते कटुवालले आफ्नो दुःखमा पार्टी र साथीभाइले गरेको सहयोगप्रति धन्यवाद दिनुभयो । “खुट्टा गुमाए पनि म सँधैभरि पार्टी र आम जनताको पक्षमा काम गर्नेछु”, उनले भने ।

वि.सं. २०७४ मङ्सिर १३ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरको उदयपुरगढी गाउँपालिका–६ नेपालटारकोे आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा दनुवारबेँसी गाउँमा भएको विस्फोटमा परी काङ्ग्रेस उम्मेद्वार नारायणबहादुर कार्कीसहित कटुवाल एम्बुसमा परेर घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस