ज्योतिष शास्त्र « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

ज्योतिष शास्त्र


२५ फाल्गुन २०७५, शनिबार


पूर्वीय ज्योतिष शास्त्रमा कुल ९ ग्रह बताएको छ । ती मध्ये २ वटा ग्रह छाया हो । सूर्य, चन्द्रमा, मंगल, बुध, गुरु, शुक्र, शनि ग्रह हो भने राहु र केतु छाया ग्रह हो । यसले जस्तो स्थान र ग्रहहरूको साथमा हुन्छ त्यसै अनुसारको स्वभाव हुन्छ । सूर्य र चन्द्रमा सदैव मार्गी हुन्छ भने मंगल, बुध, गुरु, शुक्र, शनि ग्रह समय समयमा बक्रि मार्गी, उदय अस्त हुन्छ । राहु र केतु सदैव बक्रि हुन्छ । सूर्यको सामिप्यमा आ-आफ्नो निश्चित अंशात्मक आउँदा अस्त हुन्छ ।

ग्रहको शुभाशुभ राशिहरू : ग्रहहरू जुन राशिमा उच्च हुन्छ त्यसको सातौँ राशिमा नीचको हुन्छ, जस्तै : सूर्य मेष राशीमा उच्चको र तुलाराशीमा नीचको, चन्द्रमा वृषभ राशिमा उच्चको र वृश्चिकमा नीच, मंगल मकर राशिमा उच्च कर्कटराशीमा नीच, बुध कन्या राशिमा उच्च मीन राशिमा नीच, गुरु कर्कट राशिमा उच्चको मकर राशिमा नीच, शनि तुलाराशीमा उच्च मेषराशीमा नीच, राहु मिथुन राशिमा उच्च र धनु राशिमा नीचको हुन्छ । केतु धनु राशिमा उच्च र मिथुन राशिमा नीच हुन्छ ।

शुभ र अशुभ ग्रह:– चन्द्रमा, बुध, शुक्र, र गुरु क्रमशः एकभन्दा अर्को शुभ हुन्छ । त्यस्तै गरेर सूर्य, मङ्गल, शनि, र राहु क्रमैले अधिकाधिक अशुभ वा पापी ग्रह हो ।

शत्रु, मित्र र सम ग्रह:– ग्रहमा पनि आपसी वैरभाव हुन्छ जसको कारण तिनीहरूले आफ्नो शुभाशुभ परिणाम दिन्छ ।
१, सूर्यको मित्र ग्रह हो चन्द्रमा, मङ्गल, गुरु, सममा बुध हो भने शत्रु ग्रहमा शुक्र र कनी हो ।
२, चन्द्रमा को मित्र ग्रहमा सूर्य र बुध हो सम मङ्गल, गुरु, शुक्र र शनि को भने चन्द्रमाको शत्रु ग्रह छैन ।
३, मङ्गलको मित्र ग्रहमा सूर्य र गुरु हो, सम शुक्र र शनि हो र यसको शत्रु बुध मात्रै हो ।
४, बुध ग्रहको मित्र ग्रहहरूमा सूर्य शुक्र र चन्द्रमा, सम ग्रहमा गुरु र शत्रु ग्रह मङ्गल मात्रै हो ।
५, गुरुको मित्र ग्रहमा सूर्य, चन्द्रमा र मङ्गल हो, सममा शनि र बुध र शुक्रसँग शत्रुता हुन्छ ।
६, शुक्र ग्रहको मित्र ग्रहमा बुध र शनि, सममा गुरु र मङ्गल हो भने सूर्य र चन्द्रमा शत्रु ग्रह हो ।
७, शनिको मित्र ग्रहमा बुध र शुक्र, समयाभाव गुरु हो, सूर्य चन्द्रमा र मङ्गल शत्रु ग्रह हो ।
८, राहु र केतुको मित्र ग्रहमा बुध, शनि, शुक्र हो, र शत्रु ग्रहमा सूर्य, चन्द्रमा रमंगल हो ।

ज्योतिष शास्त्रमा कुल १२ राशि र १२ वटै लग्न हुन्छ ।
मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, र मीन यी बाह्रराशीहरुको आ–आफ्नो स्वामीहरू हुन्छन् । जस्तै:– मेष र वृश्चिक राशिको स्वामी मङ्गल, वृष र तुला राशिको स्वामी शुक्र , कर्कट राशिको स्वामी चन्द्रमा, सिंह राशिको स्वामी सूर्य, मिथुन र कन्या राशिको स्वामी बुध, धनु र मीन राशिको स्वामी गुरु, मकर र कुम्भ रासीको स्वामी शनि हुन्छ ।
१) प्रथम भाव जसलाई लग्न पनि भनिन्छ यसबाट जातकको शरीर, रङ्ग आकृति मुख, मस्तक, केश आयु, योग्यता, तेज, आरोग्यको विचार गरिन्छ ।
२) द्वितीय भाव जसलाई धनभाव पनि भनिन्छ, यसबाट कुटुम्ब, परिवार, दायाँ आँखा, वाणी, विद्या, बहुमूल्य सामाग्रीहरूको सङ्ग्रह सुनचाँदी, चलाचल सम्पत्ति, नम्रता, भोजन, वाकपटुता, सत्यासत्य आदिको विचार गरिन्छ ।
३) तृतीय भाव जसलाई पराक्रम स्थानले पनि जानिन्छ र भाइ भाव पनि भनिन्छ , यसभावबाट भाइ बहिनी, दाहिने कान लघु यात्रा साहस सामर्थ्य अर्थात् पराक्रम, नोकर–चाकर, भाइ बहिनीसँगको सम्बन्ध, छर–छिमेकी, लेखन तथा प्रकाशन गुप्त शत्रु आदिको बारेमा विचार गरिन्छ ।
४) चतुर्थ भाव यसलाई सुख भाव पनि भनिन्छ । यसबाट आमा, जन्मसमयको परिस्थिति, धर्मपुत्र, हृदय, छाती, पति–पत्नीको विधि वा कानुनी मामला, चलसम्पति, गृह निर्माण, वाहन सुख आदिको विचार गरिन्छ ।
५) पञ्चम भाव यसलाई सुत अर्थात् सन्तान भाव पनि भनिन्छ । यसबाट सन्तान अर्थात् पुत्र–पुत्री, मानसिकता मन्त्र, ज्ञान विवेक, स्मरण शक्ति, विद्या, प्रतिष्ठा आदिको विचार गरिन्छ ।
६) षष्ट भाव यसलाई रिपुभाव भनिन्छ । यो भावबाट मुख्यतः शत्रु, रोग, मामा, जय–पराजय, भूत–प्रेत विष प्रयोग, क्रु र कर्म आदिको विचार गरिन्छ ।
७) सप्तम भाव यसलाई जिया अथवा पत्नी भाव भनिन्छ, यस भावबाट पति अथवा पत्नी, विवाह सम्बन्ध, विषय वासना, आमोद–प्रमोद व्यभिचार, जेनेन्द्रिय, साझेदारी व्यापार आदिको विचार गरिन्छ ।
८) अष्टम भाव यसलाई आयु वा मृत्यु भाव पनि भनिन्छ । यसबाट आयु, मृत्युको कारण, दुःख–सङ्कट, मानसिक पीडा, आर्थिक क्षति, भाग्य हानि, गुप्ताङ्गको (यौनाङ्ग) रोग, आकस्मिक धन लाभ आदिको विचार गरिन्छ ।
९) नवम भाव यसलाई भाग्य भाव पनि भनिन्छ । यसबाट भाग्य, धर्ममाथिको आस्था, गुरु, पिता, पूर्वजन्मको पाप–पुण्य, शुद्धाचरण, यश ऐश्वर्य, वैराग्य, आदि विषयमा विचार गरिन्छ ।
१०) दशम भाव यसलाई कर्म भाव भनिन्छ । दशम भावबाट कर्म, नोकरी, व्यापार व्यवसाय, आजीविका, यश सम्मान, राज्य सम्मान, राजनीतिक विषय, पदाधिकारी, पितृ धन, दीर्घ यात्रा, सुख आदिको बारेमा विचार गरिन्छ ।
११) एकादशभाव यसलाई आय वा लाभ भाव पनि भनिन्छ । यसबाट विभिन्न पुकारको लाभ, मित्र, पुत्रवधु, पूर्व सम्पन्न कर्महरुबाट भाग्योदय, सिद्धि, आशा, आमाको मृत्यु आदि विचार गरिन्छ ।
१२) द्वादश भाव यसलाई व्यय भाव पनि भनिन्छ । यसभावबाट धनको व्यय, बायाँ आँखा, शैया सुख, मानसिक क्लेश, दैविक आपत्ति, दुर्घटना, मृत्यु पछिको स्थिति, पत्नीको रोग आमाको भाग्य, राजकीय सङ्कट, राजकीय दण्ड, आत्महत्या, एवं मोक्ष आदिको विचार गरिन्छ ।

[email protected]

प्रतिक्रिया दिनुहोस