गलेश्वर । बजार संरक्षणको बाहनामा म्याग्दी सदरमुकाम बेनी क्षेत्रमा कालीगण्डकी नदीको दोहन भइरहेको छ ।
बजार संरक्षणका लागि पर्खाल लगाउने नाउँमा जथाभावी नदी किनाराका ढुङ्गा र बालुवा निकाल्दा संरक्षण होइन जोखिमको सम्भावना बढेको भन्दै स्थानीयवासीले बेनी नगरपालिकामा गुनासो गरेका छन् । गुनासो आएपछि नगरपालिकाले उपभोक्ता समितिलाई सचेत गराएको छ । रुपाताल एकीकृत संरक्षण समितिमार्फत् नदी कटानबाट बजारलाई जोगाउने उद्देश्यले सञ्चालित योजनाको उपभोक्ता समितिले स्काभेटर प्रयोग गरेर किनारका ठूला ढुङ्गा फुटाउँदा थप जोखिम बढेको गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले बताए।
गुनासो अनुगमनका क्रममा पुष्टि भएपछि उपभोक्ता समितिका पदाधिकारीलाई नगरपालिकामा बोलाएर जथाभावी ढुङ्गा ननिकाल्न र उपकरण प्रयोग नगर्न सचेत गराएको नगर कार्यपालिकाका सदस्य कृष्णकुमार विश्वकर्माले बताए । रुपाताल संरक्षण समितिले पुरानो पर्खाल संरक्षण र गत भदौको बाढीले बगाएको ठाउँमा ग्यावियन पर्खाल निर्माणका लागि चार वटा उपभोक्ता समितिमार्फत् काम गरेको छ । समितिले बिना प्रतिस्पर्धा सीमित व्यवसायीको उपकरण प्रयोग गरेको, उपभोक्ता परिचालन गरेर गर्नुपर्ने काम घुमाउरो शैलीमा ठेक्कामा लगाएको, ग्यावियन जालीमा चलखेल गरेको बजारवासीले गुनासो गरेका छन् ।
समितिको चलखेलका कारण गुणस्तरीय काम नहुने, ढिलासुस्ती र संरक्षणको नाममा विनाश हुन सक्नेतर्फ बजारवासीको गुनासो बढ्न थालेको छ । चार वटामध्ये ८ नम्बर वडाको एउटा उपभोक्ता समितिका अध्यक्ष उत्तमकुमार कर्माचार्यले साना ढुङ्गा पर्खाल लगाउन प्रयोग गरेको र बजारवासीले गरेको आशङ्का सत्य नभएको प्रतिक्रिया दिए ।
म्याग्दी बेनीतर्फ कालीगण्डकी किनारमा ७६० थान ग्याबियन पर्खाल लगाइने भएको छ । बेनी बजार संरक्षणका लागि चालू आर्थिक वर्षमा तीन करोड ५० लाख विनियोजन भए पनि कुन उपभोक्ता समितिसँग कति बजेटमा सम्झौता भएको हो भन्नेबारेमा कार्यालय र समिति दुवैले विवरण सार्वजनिक गरेका छैनन् । रासस