ढोरपाटन शिकार आरक्षमा शिकार याम शुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ढोरपाटन शिकार आरक्षमा शिकार याम शुरु


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


बागलुङ । वैधानिक शिकारका लागि प्रख्यात ढोरपाटन शिकार आरक्ष क्षेत्रमा वर्षको दोस्रो शिकार याम शुरु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यो याममा १० नाउर र ४ झारलको शिकार हुनेछ । बोलपत्र प्रक्रियाबाट छानिएका छ कम्पनीले पेशेवर विदेशी शिकारीलाई आरक्षमा शिकार गराउने छन् । बोलकबोलमा कम्पनीबीच भएको प्रतिस्पर्धाले यो याममा शिकारको दर पनि बढेको छ ।

एउटा नाउर शिकारको रु १३ लाख ५१ हजार र झारलको रु १३ लाख ५० हजार राजस्व तिर्न कम्पनी तयार भएका हुन् । अघिल्लो याम (असोज–मङ्सिर) मा नाउरको रु १२ लाख पाँच हजार र झारलको रु नौ लाख २० हजार बुझाइएको थियो ।

ट्र्याक एण्ड ट्रेल्र्स, नेपाल वाइल्ड लाइफ सफारिज र हिमालयन अउटफिटरले २/२ नाउर तथा १/१ झारलको शिकार गराउने छन् । यस्तै नेपाल वाइल्ड लाइफ एडभेञ्चरले एक नाउर र एक झारल, हिमालयन सफारिजले २नाउर र ग्लोबल सफारिज नेपालले १ नाउरको शिकार अनुमति पाएको छ ।

व्यवस्थित शिकारका लागि छ क्षेत्र तोकिएको विभागका व्यवस्थापन शाखा प्रमुख श्यामकुमार शाहले जानकारी दिए जसमा फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह छ । शिकारीले रोजेको ठाउँमा कम्पनीले शिकार गराउने गर्छन् ।

‘आवश्यक प्रक्रिया पूरा गरी कम्पनी शिकार गराउने तयारीमा छन्’, प्रमुख शाहले भने, ‘यो याममा १० नाउर र ४ झारलको शिकार कोटा छ ।’ विभागले अघिल्लो महीना शिकारका लागि पेशेवर शिकारी अनुज्ञापत्र प्राप्त कम्पनीबाट शिलबन्दी दरभाउपत्र आह्वान गरेको थियो ।

नेपालमा शिकार कम्पनी थोरै भएकाले रकम कबोलमा बढी प्रतिस्पर्धा हुने गरेको ग्लोबल सफारिज नेपालका प्रबन्ध निर्देशक शम्शेर पराजुलीले बताए । “कम्पनीले घाटा खाएरै भए पनि शिकार गराउँदैछन्’, उनले भने,’यो याममा राजस्व भने सबैभन्दा बढी उठेको छ ।’

उनका अनुसार १० नाउर र ४भारल शिकारका लागि कम्पनीले रु एक करोड ८९ लाख १० हजार राजस्व बुझाएको छ । शिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

चैत पहिलो सातादेखि शिकार खेल्न शुरु हुने ढोरपाटन शिकार आरक्षका कामु प्रमुख संरक्षण अधिकृत सरस्वती सापकोटाले बताए । ‘आउँदो वैशाखसम्म शिकारको दोस्रो याम चल्छ’, उनले भने, ‘सौखिन र खर्चिला विदेशी शिकारी ढोरपाटन आउँछन् ।’ एउटै शिकारीले रु ३० देखि ३५ लाखसम्म शिकारमा खर्चने गरेको बताइन्छ ।

शिकारी हेलिकप्टरबाट आरक्षमा पुग्ने गर्छन् । शिकारी, आरक्ष कार्यालय तथा कम्पनीका प्रतिनिधि, भरिया र पथप्रदर्शकसहितको टोलीले १५ दिन आरक्षमा बिताउँछन् । शिकार खेल्न अमेरिका, रुस, स्पेन, साउथ अमेरिका, नर्वे लगायतका देशबाट पेशेवर शिकारी ढोरपाटन आउने गरेको आरक्ष कार्यालयले जनाएको छ ।

ढोरपाटनमा बर्सेनी असोज–मङ्सिर र फागुन–वैशाख गरी दुई याममा शिकार खुला गर्ने गरिएको छ । साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको रोजाइमा छ । विसं २०३९ स्थापना भएको ढोरपाटन देशकै एक मात्र शिकार आरक्ष हो । १ हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।

प्रतिक्रिया दिनुहोस