गोसाइँकुण्ड धार्मिक मार्ग खुल्न एक महीना लाग्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गोसाइँकुण्ड धार्मिक मार्ग खुल्न एक महीना लाग्ने


प्रशासन संवाददाता

२३ फाल्गुन २०७५, बिहिबार


रसुवा । हिमपातका कारण गोसाइँकुण्ड जाने धार्मिक मार्ग खुल्न नसक्दा तीर्थयात्रु र पर्यटकलाई आवागमनमा समस्या परेको छ ।

गोसाइँकुण्डका होटल व्यवसायी आङ्बाबु तामाङका अनुसार गत माघदेखि नै पटक पटक भारी मात्रामा परेको हिउँले पैदल मार्ग पूरै छोपिएका कारण धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डको यात्रा रोकिएको हो ।

समुद्रमन्थनपछि निस्केको कालकूट विष पिउँदा डाह भई उत्तरपन्थ लाग्दा शिवले गोसाइँकुण्डमा त्रिशूल गाडी पानी पिएपछि त्यहीँ शयन गरेको हिमवत्खण्डमा वर्णन गरिएको छ ।

प्रत्येक वर्ष गङ्गादशहरामा १० दिन र जनैपूर्णिमामा पाँच दिन मात्र विशेष मेला लाग्ने गोसाइँकुण्डमा भूकम्पपछि बाह्रै महीना निरन्तर यात्रा गर्ने वातावरण बनाइए पनि यस वर्षको शिशिर ऋतुमा हिमपातले यात्रामा अवरोध पुर्‍याएको होटल व्यवसायीले बताएका छन् ।

समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा फाटफुट रूपले दैनिक २५–३० यात्रु ओहोरदोहोर गर्छन् । धार्मिक मार्गमा लौरीविनायकभन्दा माथि जान नसक्ने अवस्था आएपछि होटलसमेत बन्द भएको होटल व्यवसायी तामाङले बताए । हिउँ पग्लिएर धार्मिक मार्ग सहज हुन चैत महीनाभर लाग्ने अनुमान गरिएको छ ।

दुई महीनादेखि बन्द आफ्नो होटलको अवस्था बुझ्न हेलिकोेप्टरद्वारा गोसाइँकुण्ड पुगी हिउँको मापन गर्दा होटलका छानासमेत पुरिने गरी ११ फिटसम्म हिउँ जमेको पाइएकाले तुरून्तै सञ्चालनमा ल्याउन नसक्ने अवस्था देखिएको होटल व्यवसायी तामाङले बताए । तीर्थयात्रुको बास र भोजनका लागि गोसाइँकुण्डमा चार होटेल छन् ।

लाङटाङमा आवागमन

यस्तै पर्यटकीय क्षेत्र लाङटाङमा भने पैदलमार्गमा हिउँँ भए तापनि हिमाली प्रकृतिको छटा अवलोकन गर्ने पर्यटकको आगमन शुरू भएको छ ।

लाङटाङका पर्यटन व्यवसायी एवं गोसाइँकुण्ड गाउँपालिका वडा नं ४ का वडाध्यक्ष सुप्पा तामाङका अनुसार ३०– ३५ पर्यटक दैनिक ओहोदोहेर हुन थालेको छ ।

लाङटाङ मार्गमा अहिले एक मिटरभन्दा बढी हिउँ जमेको भए पनि पर्यटकहरू लौरो टेकेर सहज यात्रा गरिरहेका छन् । हिमपात र चिसोका कारण प्रभावित रसुवाली जनजीवन भने समुद्री सतहदेखि तीन हजार मिटरभन्दा तलको भागमा क्रमशः सहज हुँदै गएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस