विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन भएनन् « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन भएनन्


प्रशासन संवाददाता

२२ फाल्गुन २०७५, बुधबार


काठमाडौं । ललितपुर महानगरपालिकाभित्रका विद्यार्थी सङ्ख्या कम भएका विद्यालय समायोजन हुनसकेका छैनन् ।

विद्यालय समायोजनपछि कार्यरत शिक्षकको समेत समायोजन गर्नुपर्ने भएकाले समायोजन गर्न नसकिएको महानगरपालिकाको शिक्षा विभागले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले तीन वर्ष पहिले महानगरपालिका (साविक उपमहानगरपालिका) भित्रका चार सामुदायिक विद्यालय समायोजन गरेको थियो ।

महानगरपालिका आफैँले भने कुनै पनि विद्यालय समायोजन नगरेको शिक्षा महाशाखाका प्रमुख महेन्द्रबहादूर क्षेत्रीले बताए । महानगरपालिकाका धेरै विद्यालयमा विद्यार्थीको सङ्ख्या नियमावलीमा तोकिएको सङ्ख्या भन्दा कम रहेको छ । अधिकांशमा केही कम भए पनि कतिपय विद्यालयमा न्यूनतमभन्दा ज्यादै कम रहेको उनले बताए ।

उनले भने, ‘विद्यार्थी कम भएका विद्यालय र शिक्षक दुबै समायोजन गर्न आवश्यक छ ।’ शिक्षा नियमावलीमा न्यूनतम विद्यार्थी सङ्ख्या काठमाडौँ उपत्यका, तराई, हिमाली र पाहाडी क्षेत्रका लागि फरक/फरक तोकिएको छ । काठमाडौँ उपत्यकामा न्यूनतम ४० विद्यार्थी हुनुपर्ने व्यवस्था छ ।

त्यसभन्दा कम विद्यार्थी सङ्ख्या भएमा त्यस्ता विद्यालयलाई एकीकरण/समायोजन वा तह/कक्षा घटाउन सकिने व्यवस्था रहेको छ । महानगरपालिकामा अहिलेसम्म शिक्षासम्बन्धी कानून बन्न नसक्दा त्यसको प्रभाव समायोजनमा समेत परेको महाशाखाले जनाएको छ । कुनै पनि काममा बाधा हुँदा कार्यपलिकाको बैठकबाट निर्णय गराएर कार्यसम्पादन हुँदै आएको प्रमुख क्षेत्रीले बताए ।

उनले भने, ‘शिक्षासम्बन्धी नियम बनेपछि त्यसैका आधारमा विद्यालय व्यवस्थापनको काम हुनेछ ।’ महानगरपालिकामा अहिले जम्मा २ सय २ विद्यालय छन् । सोमध्ये १८२ संस्थागत र ४० सामुदायिक विद्यालय छन् । महानगरपालिकामा ७४ वटा प्रारम्भिक बाल विकास केन्द्र (इसिडि) छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस