अबको शासन प्रणाली : सहउत्पादनमा आधारित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अबको शासन प्रणाली : सहउत्पादनमा आधारित


राजु श्रेष्ठ

२१ फाल्गुन २०७५, मंगलबार


शासन प्रणाली

विषय प्रवेश
विश्वभरि नै राज्यप्रति नागरिकहरूको विश्वास खस्किँदो अवस्थामा छ । राज्य र नागरिक बिचको दुरी टाढा हुँदै गएको छ । नागरिकहरूको प्रिय बन्न सकेका छैनन् राज्यहरू । यसो हुनुमा सेवा प्रवाह प्रभावकारी नहुनु नै हो । जसलाई सर्भिस डेलिभरी फेलर अर्थात् सेवा प्रवाहको असफलता भनिन्छ । नेपाल यो समस्याबाट अछुतो रहन सकेन । हाम्रो मुलुकमा पनि नागरिक र राज्यबिचमा ठुलो खाडल छ । नागरिकहरूमा राज्यप्रतिको विश्वास नै देखिँदैन । राज्यले नागरिकहरूको आवश्यकताहरूलाई ध्यानमा राखेर कार्य गर्छ भन्ने विश्वास नै छैन । आजका नागरिकहरू भनेका शैक्षिक रूपमा शिक्षित, सूचनाको क्षेत्रमा सुसूचित, राजनीतिक रूपमा सचेत, विश्वव्यापी रूपमा सन्निकट सम्बन्ध राख्ने खालका छन् । यस प्रकारका नागरिकहरूले राज्यको काम कारबाहीहरूलाई मुख्य रूपमा दुईवटा कोणबाट मूल्याङ्कनको नजरले हेर्ने गर्दछन् । प्रथमतः राज्यको लोकतान्त्रिक कार्यसम्पादन दोश्रो राज्यको नीतिगत प्रभावकारिता । तर राज्य यी दुवै कार्यहरूमा नराम्रोसँग चुकेको छ । जसको कारण राज्य नागरिकहरूको माझमा डिफ्याक्टोमा होइन डिजुरीमा रहेको महसुस गरिएको छ ।

आजको बदलिँदो शासन प्रणालीमा राज्यबाट प्राप्त गर्ने सेवा सुविधाहरूको बारेमा नागरिकहरूको आशा, अपेक्षा, आकाङ्क्षा र आवश्यकताहरू ह्वात्तै बढेर गयो । तर सेवा प्रदायक राज्यका संयन्त्रहरू भने हिजोकै पुरातन शैलीबाट रुपान्तरिक हुन सकेनन् । अबको दिनमा राज्यको यही शैली, प्रक्रिया, पद्यतिबाट अगाडि बढ्ने हो भने नागरिकहरूको असन्तुष्टि बढ्दै गई सरकारको बाध्यता सङ्कटमा पर्ने देखिन्छ । यति बेला राज्यको सामु देखा परेका जटिल समस्याहरू समाधान गर्नको लागि आफूसित भएको थोरै स्रोतबाट धेरै अनि गुणस्तरीय कार्यसम्पादन गर्नुपर्ने चुनौती देखा परेको छ । यसको लागि राज्यले एकल क्षमता प्रदर्शन गरेर हुँदैन । आफूसित भएको सीमित स्रोत र साधनको प्रयोगले मात्र पुग्दैन । भनिन्छ सफलता राज्यको हातमा त्यति बेला आउँछ जति बेला उसले कुशल निजी क्षेत्र, गतिशील नागरिक समाज, सक्रिय नागरिकहरूसँग मजबुत र जीवन्त सम्बन्धको सञ्जालमा सहकार्य गर्न सिक्छ । तसर्थ राज्य बाहिरका अङ्गहरूलाई सार्वजनिक मञ्चमा ल्याउन सक्नुपर्छ । सार्वजनिक सेवा प्रवाहमा संलग्न गराउनु पर्छ । सेवा प्रवाहमा अधिकार र जवाफदेहिता दुवै प्रदान गरी जिम्मेवार बनाउन सक्नुपर्छ । राज्य नन डेलिभरी फंङसनमा सीमित रहनु पर्छ ।

विगतमा सार्वजनिक सेवाको सुधारको प्रयासहरू नभएका होइनन् । कार्यसम्पादन, कार्यकुशलता र उत्पादनमा बढी जोड दिइएको थियो । जसको परिणाम स्वरूप राज्यको डेलिभरी विङका रूपमा रहेका कर्मचारीहरू आफू भन्दा माथिका कार्यकारी अधिकारीसँग औपचारिक रूपमा जिम्मेवार रहे पुग्ने संस्कारको विकास भयो । नागरिकहरूको आवश्यकताहरूलाई ख्यालमा राखिएन । जसको कारण नागरिक र राज्य बिचको दुरी झन् टाढा हुँदै गयो । विगतको अभ्यासबाट पाठ सिक्न सक्नुपर्छ अब । अबको दिनमा नागरिक पन, सामाजिक मूल्य, लोकतान्त्रिक आदर्श, उत्तरदायी, सार्वजनिक जवाफदेहितामा जोड दिने खालको सुधार आवश्यक छ । यसको लागि राज्य र राज्यभन्दा बाहिर रहेका संयन्त्रहरूसँग सहउत्पादनमा सक्रिय हुँदै अघि बढ्न सक्नुपर्छ । जुन आजको परिवर्तित समयले ल्याएको सुधार हो ।

सह उत्पादन सानो शब्द ठुलो अर्थ
सह उत्पादन नवीन सार्वजनिक शासनले ल्याएको सशक्त रणनीति हो । जसमा सुधारिएको, उच्च कोटिको र प्रभावकारी सार्वजनिक सेवा प्रवाहको लागि नागरिक, उपभोक्ता, नागरिक समाज, निजी क्षेत्र, तथा विभिन्न संघसस्थाहरुको संलग्नता रहनु हो । सार्वजनिक सेवा प्रवाहमा सहकार्य गर्नुको अर्थ सम्पूर्ण सरोकारवालाहरूमा लागत, फाइदा, चुनौती, अवसर तथा जिम्मेवारीहरूको आदानप्रदान गर्नु हो । जसले कुनै पनि कार्यको परिमाणात्मक प्रतिफल भन्दा पनि गुणात्मक प्रतिफलको दिगोपनालाई सुनिश्चित गर्छ । सहउत्पादनले राज्यको संयन्त्रसँग नागरिकहरूको सहकार्यलाई बुझाउँछ । जसले गर्दा नागरिकहरूलाई आफूले प्राप्त गर्ने सेवाहरूमा आफ्नै सहभागिता, योगदान, नियन्त्रण र अपनत्वको भावनाको विकास गराउँछ । सह उत्पादन शब्दलाई सुस्म रूपमा केलाएर हेर्ने हो भने यसको व्यापक अर्थ पहिचान गर्न सकिन्छ । जसलाई तलका बुँदाहरूले थप स्पष्ट पार्न सकिन्छ ।

सहशासनः राज्यको संयन्त्रहरू र राज्यभन्दा बाहिर रहेका संयन्त्रहरू पनि सार्वजनिक सेवा प्रवाहको सन्दर्भमा आवश्यकताको पहिचान देखि योजना तर्जुमा, सेवाको उत्पादन, सेवाको वितरण, सेवाको अनुगमन तथा मूल्याङ्कन, सेवा प्रवाहको प्रभावकारिताको अध्ययन तथा अनुसन्धान जस्ता कार्यहरूमा संयुक्त रूपमा संलग्न हुने अवधारणा सहउत्पादनको रहेको हुन्छ ।

सहब्यवस्थापनः नागरिकहरूको बढ्दो चाहना, आशा, अपेक्षा तथा आवश्यकताहरू पूरा गर्ने सन्दर्भमा राज्य र गैर राज्य पात्रहरूसँग भएको स्रोत तथा साधनहरूलाई सदुपयोग गर्ने अवधारणा यस रणनीतिमा रहेको हुन्छ ।
सहनेतृत्वः बदलिँदो परिवर्तित सन्दर्भमा भावी सन्ततिहरूको उच्च आकाङ्क्षा, आवश्यकता तथा चाहनाहरूलाई सम्बोधन गर्न नवीन प्रवर्तक तथा अगुवाको भूमिका निर्वाह गर्न नेतृत्वको स्वरूप भनेको निजी क्षेत्रको जोखिम बहन गर्ने क्षमता, नागरिक समाजको सामाजिक ऊर्जा र राज्यको भयशक्तिको समिश्रणबाट अघि बढ्ने सन्देश प्रदान गर्छ सहउत्पादनले ।

सहउत्पादनः नागरिकहरू आफ्नो सेवा उत्पादनमा आफै संलग्न हुने संस्कार तथा पद्यति यस रणनीतिमा रहन्छ ।

सह उत्पादन प्रणाली किन अवलम्बन गर्ने ?
कुनै पनि प्रणाली आफैमा राम्रो र नराम्रो भन्ने हुँदैन । यसको प्रयोगकर्ता अर्थात् कार्यान्वयनकर्ताहरुको व्यवहार, शैली, आचरण, तथा संस्कारमा भर पर्छ । सह उत्पादन प्रणाली पनि यस्तै एक प्रकारको बदलिँदो समयले ल्याएको पद्यति हो । यसको प्रभावकारी कार्यान्वयन भयो भने यसले साच्चिकै हाम्रो शासन तथा प्रशासन प्रणालीहरूमा सकारात्मक प्रभाव पार्न सक्छ । यसका केही सबल पक्षहरू तल प्रस्तुत गरिएको छ ।

१) सहउत्पादनको रणनीतिले स्रोत तथा साधनहरूको सही सदुपयोग गर्न सहयोग गर्छ । स्रोतहरूको गलत प्रयोगबाट जोगाउँछ । बस्तु तथा सेवाको लागत घटाउँछ । अनि गुणस्तरको मात्रामा अभिवृद्धि गर्छ ।
२) सहउत्पादनले सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता बढाउन सहयोग गर्छ ।
३) सहउत्पादनले सर्भिस डेलिभरी फेलरलार्ई सम्बोधन गर्न सिकाउँछ । उत्थानशीलताको शक्ति प्रदान गर्छ ।
४) सहउत्पादनले स्थानीय तहको समस्याको लागि स्थानीय तहकै समाधानको उपाय खोज्न सिकाउँछ ।
५) सहउत्पादनले नवीन प्रवर्धनको सिद्धान्तलाई सहयोग गर्छ ।
६) सहउत्पादनले लोकतान्त्रिक शासन व्यवस्थाको संस्कारको विकास गर्न सहयोग गर्छ ।
७) सहउत्पादनले राज्यप्रति नागरिकको विश्वास बढाउन सहयोग गर्छ ।
८) सहउत्पादनले समुदायमा मेलमिलाप तथा सौहाद्र्धताको वातावरण सिर्जना गर्न सहयोग गर्छ ।
९) सहउत्पादनले सामाजिक मूल्य सिर्जना गर्न सहयोग गर्छ ।
१०) सहउत्पादनले नीति प्रभावका रीतमा सहयोग गर्छ ।

समग्रमा सहउत्पादनको रणनीतिलाई सैदान्तिक अवधारणा अनुरूप कार्यान्वयनमा लैजाने हो भने मुलुकलाई दुस्चक्रको भुमरीबाट टाढा राखी सुचक्रको निर्माण गर्दे शासन तथा प्रशासनमा सदाचारको विकास हुने अपेक्षा गर्न सकिन्छ ।

सह उत्पादन प्रणालीको सम्भावित अवरोध अर्थात् जोखिमहरू
सफलताले परिवर्तनलाई सघाउँछ भने अवरोधकले यसको प्रभावकारिता घटाउँछ । सह उत्पादन प्रणालीलाई अवरोध सिर्जना गर्न सक्ने केही तत्त्वहरू पनि छन् । सम्भावित जोखिमहरूलाई देहाय बमोजिम प्रस्तुत गर्न सकिन्छ ।

आवश्यक सीपहरुः राज्य र नागरिकसङ सहउत्पादनको लागि आवश्यक पर्ने सीपको अभावको कारण बस्तु तथा सेवा उत्पादनमा लागत मूल्य बढ्न जाने डर देखिन्छ ।

आवश्यक स्रोत साधनः सहउत्पादनको सुरुको चरणमा स्रोत तथा साधनहरूको प्रचुरताको आवश्यक पर्ने देखिन्छ । छलफल, अध्ययन, अनुसन्धान, बिचार गोष्ठी तथा योजना निर्माणको क्रममा धेरै स्रोतको आवश्यक पर्ने हुनसक्छ । जसले अवरोध सिर्जना गर्न सक्छ ।

आवश्यक उत्तरदायित्व : सरकारले अधिकार र उत्तरदायित्व नागरिकहरूमा बाँड्ने अनि शासन तथा प्रशासनमा जिम्मेवार बनाउँदा उत्तरदायित्वमा सङ्कट पर्ने सम्भावना पनि देख्न सकिन्छ । हाम्रो जस्तो प्रतिनिधिमूलक लोकतन्त्रमा नागरिकहरूलाई शासन तथा प्रशासनमा संलग्न गराउँदा हाम्रो लोकतन्त्र कस्तो हुने भन्ने विषयमा चिन्ता गर्ने विषय हुन सक्छ । जनताबाट प्रत्यक्ष रूपमा छानिएका प्रतिनिधिहरूबाट शासन सञ्चालन हुने हाम्रो लोकतन्त्रमा नागरिकहरू नै त्यो ठाउँमा पुग्दा केही अफ्ठ्याराहरु सिर्जना नहोला भन्न सकिँदैन ।

सङ्गठनात्मक संस्कार : परिवर्तित नयाँ सङ्गठनको आकृति अनुसार राज्यका पात्रहरू सहकार्यमा कार्य गर्न सिक्नु पर्छ । पुरातन शैलीमा नै कार्य गर्न खोज्ने हो भने असफलताको डर हुन्छ । सङ्गठनमा सहकार्यको भावनाको विकास गर्न सक्नुपर्छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न सक्नुपर्छ । नत्र भने सह उत्पादन विगत जस्तै असफलताको दुस्चक्रबाट टाढा रहन सक्दैन । साङ्गठनिक शक्ति मौलाउन पाउँदैन । सङ्गठन सशक्त हुनु भन्दा शिथिल बन्दै जाने सम्भावना पनि उतिकै देख्न सकिन्छ ।

आवश्यक विश्वास : सहउत्पादनमा सबै भन्दा महत्त्वपूर्ण पाटो भनेकै विश्वास हो । यदि राज्य र गैर राज्य पात्रहरूमा विश्वासको वातावरण सिर्जना गर्न सकिएन भने यो प्रणाली धरापमा पर्ने देखिन्छ ।

अन्तमा
सह उत्पादन नवीन सार्वजनिक शासन व्यवस्थाको रणनीति हो । नागरिकले प्राप्त गर्ने बस्तु तथा सेवाहरूको उत्पादन तथा वितरणमा प्रत्यक्ष आफ्नै सहभागिता हुने प्रणाली हो सह उत्पादन । नागरिकलाई आफ्नो सेवा वितरण र प्राप्तिमा जिम्मेवार बनाउन, अपनत्व सिर्जना गर्न, आफ्नो नियन्त्रणमा राख्न र सन्तुष्टि प्राप्त गरी राज्यप्रति विश्वासको भावना सिर्जना गर्ने प्रयत्न हो सह उत्पादन । अबको शासन तथा प्रशासन यही मार्गमा निर्देशित हुनुपर्छ । अनि मात्र मुलुकले देखेको समृद्धिको सपना, सुशासन, मानव अधिकार, सदाचार, विकास, प्रगति, उन्नति जस्ता राज्यका आर्दशहरु बिपनामा रूपान्तरण गर्न सकिन्छ ।

श्रेष्ठ शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेश, दमौली, तनहुँका प्राविधिक अधिकृत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस