बाँकेमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाँकेमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ ।

लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि जिल्लामा यसको नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले यो जिल्लालाई लागुऔषधमुक्त र दुर्व्यसनीलाई पुनःस्थापना गर्नका लागि प्रहरी प्रशासनले सतर्कता बढाएको छ ।

सीमा नाकामा चेकजाँचमा कडाइ गर्नुका साथै दुर्व्यसनीका लागि विभिन्न सङ्घ संस्थाले पुनःस्थापनाको कार्यक्रम पनि सञ्चालन गरेको पाइन्छ ।

यति हुँदा पनि लागुऔषध कारोवार र सेवनकर्ताको सङ्ख्यामा कमी नआएको सरोकारवाला निकायका पदाधिकारी बताउँछन् ।

‘बाँके जिल्लामा लागुऔषध सेवन र कारोवार नियन्त्रणका लागि स्थानीय प्रशासनले सरोकारवाला प्रहरी, सामाजिक संस्था, नागरिक समाजसँगको सहकार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको भए पनि नियन्त्रणको प्रयासअनुसार नतिजा आउन भने सकेको छैन’, बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलको भनाइ छ ।

चालू आर्थिक वर्षको अहिलेसम्म जिल्ला प्रहरी कार्यालय बाँकेले ३०० बढी लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको छ । बाँके जिल्लामा खुला सिमाना भएका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण भए पनि केही महत्वपूर्ण सफलता हासिल भएको प्रहरी उपरीक्षक अरुण पौडेल बताउछन् ।

नेपालगञ्जस्थित सहारा हाउसले चालू आवको अहिलेसम्म करीब १५० लागुऔषध दुव्र्यसनीको पुनःस्थापना गरेको छ । हाउसका कार्यकारी प्रमुख अभिराज क्षेत्रीका अनुसार, सानैदेखि बालबालिकालाई पारिवारिक वातावरण दिन सकियो भने धेरै हदसम्म युवालाई लागुऔषधको कुचक्रबाट टाढा राख्न सकिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस