मुक्त हलियाका १५ वटा घरमा तोडफोड र चोरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मुक्त हलियाका १५ वटा घरमा तोडफोड र चोरी


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ मा निर्माणाधीन मुक्त हलियाका घर अज्ञात समूहले भत्काई दिएको छ ।

निर्माणाधीन १५ वटा घरमा तोडफोड गरी रु १० लाखभन्दा बढीको क्षति पुर्‍याइएको छ । तीमध्ये ७ वटा घर पूर्णरुपमा भत्काउँदा हलिया परिवार समस्यामा परेका छन् ।

राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारका अनुसार मुक्त हलिया परिवारलाई पेयजल उपलब्ध गराउनका लागि जडान गरिएका ६ वटा नल पनि चोरी भएका छन् । निर्माण हुँदै गरेका ६ वटा घरका झ्यालसमेत चोरी भएको छ ।

भूमि सुधार कार्यालयले १५ परिवार मुक्त हलियालाई पुनःस्थापन गराउनका लागि प्रतिपरिवार १० धुर जग्गा र घर निर्माणका लागि रु २ लाख २५ हजार उपलब्ध गराएको थियो ।

‘कार्यालयले पुनःस्थापन गराएको जग्गामा घर निर्माण हुँदै गर्दा अज्ञात समूहले तोडफोड गरी इँट्टा, नल र झ्याल चोरी गरेर लगेको छ,’ मुक्त हलिया गणेश सुनारले भने, ‘घर निर्माण हुँदै गर्दा भत्काएर क्षति पुर्‍याएपछि बिचल्लीमा परेका छौँ ।’

‘पुनःस्थापन हुन पाउँदा निकै खुशी थियौँ,’ उनले भने, ‘बन्दै गरेका घर भत्काएपछि घर निर्माणका लागि रकम कसरी जुटाउने भन्ने पीर थपिएको छ ।’

निर्माणाधीन घर भत्काइएपछि इलाका प्रहरी कार्यालय बेलौरीमा आज लिखित जानकारी दिइएको अध्यक्ष लुहारले बताए। प्रहरीले घर भत्काउनेको खोजी गरी कारवाही गर्ने आश्वासन दिए पनि हालसम्म कसैलाई पनि पक्राउ नगरेको उनले बताए ।

अज्ञात समूहले भत्काएका घरको नगर प्रमुख पोतिला चौधरीसहितको जनप्रतिनिधि टोलीले अनुगमनसमेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस