हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइने : उपप्रधानमन्त्री पोखरेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

हवाई दुर्घटना हुन नदिन सावधानी अपनाइने : उपप्रधानमन्त्री पोखरेल


प्रशासन संवाददाता

१६ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले हिजो ताप्लेजुङमा भएको दुर्घटनाको कारण खोजिने र यसैका लागि सरकारले उच्चस्तरीय जाँचबुझ आयोज गठन गरेको हो भने ।

‘सबै हवाई दुर्घटना एकै प्रकृतिका कारणबाट हुँदैनन्, एक पटक दुर्घटना हुँदाको कारण अब दोहोरिन दिनुहुँदैन,’ उनले भने ।

उनले आजै शवहरु त्रिवि शिक्षण अस्पतालमा परीक्षणपछि सामूहिक श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राखिने र त्यसपछि मृतकका परिवारका सदस्यलाई अन्त्येष्टि गर्न जहाँ लैजानुहुन्छ त्यसैका लागि सरकारले सहयोग गर्ने जानकारी दिए ।

बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

त्यस बखत विमानस्थलमा उपप्रधानमन्त्री पोखरेलसहित गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा.युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, तीनवटै सुरक्षा निकायका प्रमुखलगायत विमानस्थल पुगेकका थिए ।

आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट अपराह्न १ः२५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यaता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभिरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस