आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने


१६ फाल्गुन २०७५, बिहिबार


काठमाडौँ । हेलिकप्टर दुर्घटनामा दिवंगत संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले आज सार्वजनिक बिदा दिने भएको छ।

ताप्लेजुङमा भएको दुर्घटना लगत्तै बुधबार आकस्मिकरुपमा बसेको मन्त्रीपरिषद् बैठकले अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णयसमेत गरेको छ।

सरकारी एवं सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने छ ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस