शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

शहीदको बाटोमा हिँड्ने गृहमन्त्रीको प्रतिबद्धता


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शहीदले देखाएको बाटोमा प्रतिबद्ध भएर लाग्ने बताएका छन्।

जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै उनले भने, ‘नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका निम्ति नेपाली सपूतले असाधारण बलिदान गरेका छन्, परिवर्तनका लागि दशौँ हजारको बलिदान भएको छ, हजारौँ बेपत्ता तथा घाइते हुनुहुन्छ, शहीदको चाहना पूरा गर्न प्रतिबद्ध छौँ ।’

नेपालको इतिहासमा राजनीतिक, सामाजिक परिवर्तनका लागि नेपाली जनताले निरन्तर संघर्ष गर्दै आएको स्मरण गर्दै गृहमन्त्री थापाले जनसंघर्षको उच्चतम् अभिव्यक्तिका रुपमा दशवर्षे जनयुद्ध भएको बताए। उनले भने, ‘जनयुद्धमा दलित र महिलाको विशेष योगदान रहेको छ, कालीकोटको प्रहरी चौकी महिलाले कब्जा गरेका थिए, जनयुद्धमा पहिलो शहीद दलित समुदायबाटै भएका छन् ।’

नेपाल एकीकरणदेखि जनयुद्धसम्म ‘गोरखा’ जिल्लाले ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै उनले सामन्तवादको अन्त्य गर्दै जनताको गणतन्त्र स्थापना गर्ने आन्दोलनको शुरुआतसमेत सोही जिल्लाबाट भएको बताए ।

कार्यक्रममा नेपाल दलित मुक्ति मोर्चाका संयोजक तिलक परियारले दलित मुक्ति आन्दोलनका विरासतका रुपमा ‘जनयुद्ध’ भएको उल्लेख गर्दै प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप अधिकारका लागि एकताबद्ध भएर अघि बढ्नुको कुनै विकल्प नरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस