दोस्रो शिखर सम्मेलनका लागि कीम हनोईमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दोस्रो शिखर सम्मेलनका लागि कीम हनोईमा


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


हनोई । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार भियतनामको राजधानी हनोई आपुगेका छन् । नेता किमका लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।

विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ । राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता कीमबीचको शिखर वार्ता यही फेब्रुअरी २७ र २८ तारिखमा हुँदैछ ।

यसअघि दुई नेताबीच गत वर्ष जुनमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । उक्त वार्तामा उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका विषयमा अस्पष्ट तर महत्वपूर्ण सहमति भएको थियो ।

उत्तर कोरियाको आणविक हतियार नष्ट गर्नेतर्फ यस पटकको वार्तामा ठोस सम्झौता हुने विश्लेषकहरुले अनुमान गरेका छन् ।

शिखर बैठकमा भाग लिन उत्तर कोरियाबाट करिब ४ हजार किलोमिटर रेलयात्रा गरी नेता कीम भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङ आइपुगेका थिए । उनीलाई दोङदाङबाट उच्च सुरक्षाबीच मोटरमा राखेर करिब १७० किलोमिटर सडक मार्गबाट भियतनामको राजधानी हनोई ल्याइएको थियो ।

रेल र सडक मार्ग तय गर्न करिब अढाई दिन लागेको थियो ।

हनोईमा आइपुग्दा नेता कीमलाई स्थानीयबासीले भव्य स्वागत गरेका थिए । दोङदाङमा एक स्थानीय अधिकारी होआङ थी थुएले कीमको अनुहार हेर्नका लागि उज्यालो नहुँदै हनोईको सडकमा सिमसिम वर्षाद्को समेत पर्बाह नगरी पर्खेर बसेको बताए ।

सन् १९६४ यता उत्तर कोरियाली नेताले भियतनामको भ्रमण गरेको यो पहिलो पटक हो । भियतनाम र उत्तर कोरिया दुबैमा एकदलीय कम्युनिष्ट शासन छ ।

‘कीम सवार रेल आउँदा हामीलाई पनि नजिक जान दिइएको थिएन, र टाढैबाट हेर्न भनिएको थियो,’उनले भने ।’हामीले नेता कीमलाई टाढैबाट हेर्न पायौं । मलाई अति खुशी लाग्यो, यो क्षणको वर्णन गर्न पनि कठिन छ ।’

माओ–शैलीको कालो सुट र आफ्ना अङ्गरक्षकहरुको टोलीले घेरिएका कीम त्यहाँ प्रतिक्षारत मर्सिडिज बेन्ज कारमा चढेका थिए । त्यसपछि मोटरको ताँती हनोईतर्फ लागेको थियो । त्यहाँ सडकका दुबै किनारामा उभिएको ठूलो जनसमूहले कीमलाई स्वागत गर्नुका साथै सडकमा सशस्त्र सैनिकले कडा सुरक्षा दिएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भने विगतझैं परम्परागत ‘एयर फोर्स वान’ विमानबाट यात्रा गर्नु हुनेछ । उनी मङ्गलबार साँझसम्म हनोई आइपुग्ने कार्यक्रम छ । हनोईतर्फ प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै दोस्रो शिखर वार्ता निकै फलदायी हुने अपेक्षा गरिएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले आणविक कार्यक्रम त्यागे कोरियाले तीव्र आर्थिक प्रगति गर्ने बताएका छन् । ‘पूर्ण आणविक निःशस्त्रीकरण भएसँगै उत्तर कोरिया आर्थिक केन्द्र हुनेछ । यसमा प्रगति नभए उही पुरानै अवस्थामा पुग्नेछ ।’

‘अध्यक्ष कीमले बुद्धिमत्तापूर्ण निर्णय गर्नु हुनेछ ।’

शिखर वार्ताका बारेमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन तर राष्ट्रपतिसँगै हनोई यात्रामा रहेकी ह्वाइट हाउसकी प्रवक्ता सराह स्यान्डर्सले दुबै नेताले सँगै खाना खाने कार्यक्रम रहेको बताइन् ।

सिंगापुर वार्तापछि आणविक निःशस्त्रीकरणका बारेमा कुटनीतिक प्रगति लगभग अबरुद्ध नै भएको छ । संयुक्तराज्य अमेरिकाले पटकपटक उत्तर कोरियासमक्ष आफ्ना आणविक कार्यक्रम भरपर्दो र अन्तर्राष्ट्रिय विशेषज्ञको उपस्थितिमा बन्द गर्न आग्रह गरिरहेको छ ।

तर प्योङयाङले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई व्यापक रुपमा बुझ्न आग्रह गरिआएको छ । उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्धहरु फुकुवा गर्न र उत्तर कोरियामाथि हुनसक्ने सुरक्षा खतरा नहुने विश्वासिलो आधार प्रस्तुत गर्न आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस