समायोजन रोजेका उपसचिवलाई पत्र दिइँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

समायोजन रोजेका उपसचिवलाई पत्र दिइँदै


प्रशासन संवाददाता

१४ फाल्गुन २०७५, मंगलबार


समायोजन

काठमाडौ । समायोजन रोजेका उपसचिवलाई सरकारले आज पत्र दिइने भएको छ ।

संघ, प्रदेश र स्थानीय तहमा समायोजन रोजेका एक हजार ७५५ उपसचिवलाई आज समायोजनको पत्र दिइन थालिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनका अनुसार संघमा १ हजार ५१३, प्रदेशमा २३७ र स्थानीय तहमा ५ रहेका छन् ।

ती कर्मचारीलाई मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङले समायोजनको पत्र दिनु हुनेछ । यसअघि मन्त्रालयले सचिव र सहसचिवलाई समायोजनको पत्र दिइसकेको छ ।

यसैगरी मन्त्रालयले अहिलेसम्म ३८ हजार ८१७ कर्मचारीलाई समायोजन गरेको छ । तीमध्ये संघमा २८ हजार २५, प्रदेशमा चार हजार ८४६ र स्थानीय तहमा ५ हजार ८३५ छन् ।

प्रवक्ता अधिकारीले प्राविधिकतर्फका शाखा अधिकृत र स्वास्थ्य सेवा समूहका बाहेक अरु सबैको समायोजन क्रमशः हुँदै गइरहेको बताए ।

यसैगरी चार हजार ७९३ शाखा अधिकृतको समायोजन गरिएको छ । तीमध्ये संघमा ३ हजार ६४२, प्रदेशमा ५९३ र स्थानीय तहमा ५५८ रहेका छन् । समायोजन रोजेका शाखा अधिकृतलाई यही हप्ता समायोजनका पत्र दिइने प्रवक्ता अधिकारीले बताए ।

पत्र पाइसकेपछि कर्मचारी समायोजन रोजेको ठाउँमा जानुपर्ने उनले बताए । करीब ८७ कर्मचारीमध्ये ७७ हजारले समायोजन रोजेका थिए ।

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस