आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : मन्त्री अधिकारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आधारभूत तहमा मातृभाषा अनिवार्य हुनुपर्ने : मन्त्री अधिकारी


८ फाल्गुन २०७५, बुधबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले आधारभूत तहमा मातृभाषाको पढाइ अनिवार्य हुनुपर्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा संस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौँद्वारा मातृभाषा दिवस–२०१९ का अवसरमा आज आयोजित मातृभाषा र साहित्य विचार गोष्ठीमा मन्त्री अधिकारीले सामुदायिक तथा संस्थागत विद्यालयमा मातृभाषाको पढाइलाई अनिवार्यरुपमा लागू गर्न जोड दिए।

उनले भने, ‘मातृभाषामा शिक्षा भन्ने भनाइलाई प्रभावकारी बनाउनुपर्छ । भाषा आफैँमा एउटा नियम हो । जब ती कुरामा राम्रो ज्ञान भयो भने अरु भाषा सिक्न सजिलो हुन्छ । व्याहारिकरुपमा भाषाको ज्ञान हुनु जरुरी छ । जुन भाषा बोलीमा मात्र सीमित हुन्छ । त्यो भाषा सधैं टिकाउ हुन सक्दैन । यसका लागि लिपिको विकास गर्नुपर्छ ।’

कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले मातृ भाषाको जग बलियो भएमात्र अन्य भाषा बलियो हुने बताए। नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले जातीय पहिचान मातृभाषाका माध्यमबाट हुनुपर्छ भने ।

सदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले व्यक्तिले जन्म लिँदा आमाको काखमा सिक्ने भाषा नै मातृभाषा भएको बताए । उनका अनुसार कुनै पनि व्यक्तिलाई आफनो घर, परिवार र समुदाय प्यारो लागे जस्तै हरेक व्यक्तिलाई मातृभाषाको महत्व हुन्छ ।

प्राज्ञ डा.योगेन्द्रप्रसाद यादवले नेपालमा चार प्रतिशत मानिसले मात्र मातृभाषाको प्रयोग गरेको बताउँदै नेपालका धेरै मातृभाषा लोप हुन लागेकाले यसबारे अभिमुखीकरण गर्नुपर्ने तथा घर र विद्यालयमा एकै भाषा प्रयोग हुनुपर्ने बताए ।

नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्स्ले घरको भाषा र विद्यालयको भाषा एउटै भए बालबालिकालाई सिक्न सजिलो हुने बताए। युनेस्को काठमाडौँका प्रमुख क्रिष्टियन म्यान हार्टले मातृभाषाकै जगबाट शिक्षाको प्रारम्भ हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा विद्वान तथा विदुषीबाट कार्यपत्र प्रस्तुत भएको थियो । कार्यपत्र प्रस्तुत गर्दै डा कान्छी महर्जनले मातृभाषामा गीत, गजल, कथा, कविता, उपन्यास, निबन्ध, नाटक, समालोचना, खण्डकाव्यलगायत साहित्यिक विधामा महिलाको उपस्थिति हुनुपर्ने बताए ।

त्यस्तै मातृभाषा शिक्षा अबको बाटो कार्यपत्र प्रस्तुत गर्दै अमृत योञ्जन तामाङले संघ, प्रदेश, पालिका तथा वडा तहमा समेत मातृभाषाको शिक्षा परिचालनका लागि र बालबालिकालाई शिक्षामा गुणात्मक शिक्षा प्रदान गर्नका लागि स्थानीय तहमा नै मातृभाषी समुदायलाई मातृभाषाप्रति सचेत गराउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस