सहसचिवद्वारा चाँडो पदस्थापन गर्न माग : ‘मिलाउने नाममा गडबडी नहोस्’ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सहसचिवद्वारा चाँडो पदस्थापन गर्न माग : ‘मिलाउने नाममा गडबडी नहोस्’


प्रशासन विशेष ब्युरो

८ फाल्गुन २०७५, बुधबार


समायोजन

काठमाडौँ । समायोजित भएका स्वास्थ्य सेवाका सहसचिवहरूले पदस्थापन पत्र माग गरेका छन् ।

सँगै समायोजन भएका अन्य सेवा/समूहका सहसचिवहरूले पत्र पाईसक्दासमेत आफूहरूले नपाएको भन्दै उनीहरूले चाँडो पदस्थापन गर्न माग गरेका हुन् ।

नेपाल सरकार(मन्त्रिपरिषद्)को माघ २१ को बैठकले ५ सय ७४ जना सङ्घ र एक सय दुई जनालाई प्रदेश गरी ६ सय ७६ जना सहसचिवको समायोजन निर्णय गरेको थियो । जसमध्ये बन, स्वास्थ्य र कृषिका सहसचिवहरूको पदस्थापन हुन बाँकी छ । स्वास्थ्य अन्तर्गत  १ सय ५० सहसचिव रहेका छन् ।

पदस्थापनमा ढिलाइ हुँदा लामो समयदेखि फाजिलमा रहेका कर्मचारीलाई मर्का परेको एक सहसचिवले बताएका छन् । ‘समायोजनपछि जिम्मेवारी पाइन्छ भन्ने थियो तर पत्र नै नपाउँदा पोष्टिङमा ढिलाइ हुने भयो’ एक सहसचिवले भने ।
समायोजन पत्र पाएपछि मात्रै सम्बन्धित मन्त्रालयले पोष्टिङ गर्छ ।

उनले सही तरिकाले फाराम नभरेका र फाराम नै नभरेका सहसचिवहरूका कारण आफूहरूले पत्र पाउन ढिलाइ भएको बताएका छन् ।

समायोजनका लागि २१ दिने समयावधि भित्र फाराम नभर्ने र स्पष्टरुपमा विवरण उल्लेख नगर्ने कर्मचारीहरूलाई पनि हाल आएर मिलाउनु पर्ने भन्दै नियमानुसार फाराम भर्ने कर्मचारीलाईसमेत अड्काएको उनको भनाई छ ।
मन्त्रिपरिषद्बाट निर्णय नै भइसकेको अवस्थामा पत्र नदिएर सडकमा हल्लाएको उनको आरोप छ ।

‘एक दुई जनाको मिलेको छैन भन्दैमा सबैको पत्र रोक्न मिल्दैन,’ अर्का एक सहसचिवले भने, ‘सुरुमा राम्ररी नभर्ने र सरकारी सूचना उल्लङ्घन गर्नेलाई कारबाही गर्नुको सट्टा उल्टै उनकै लागि सिँगै सेवा/समूहकै पत्र रोक्नु आपत्तिजनक छ ।’

स्वास्थ्यमा कर्मचारी मिलानमासमेत समस्या देखिएको छ । एउटा समूहको कर्मचारी अर्को समूहमा राखिएको छ । ‘दाँतको डक्टरलाई कानकोमा राख्न मिल्छ,’ एक अधिकारीले प्रशासनलाई भने, ‘एउटाको दरबन्दीमा अर्को समूहको राखिएको छ ।’

यही बिचमा केही व्यक्तिहरू आफूअनुकुल निर्णय गराउन लागि परेको बताउँदै उनले मिलाउने नाममा तलमाथि हुने अवस्था सिर्जना नहोस् भन्नेतर्फ सम्बन्धित निकाय सचेत रहनसमेत आग्रह गरे ।

स्वास्थ्यलगायत केही सेवाका सहसचिवहरूको पदस्थापन पत्र दिन ढिलाइ हुनुमा प्राविधिक कठिनाइ भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव दिनेश कुमार थपलियाले बताए ।

‘मन्त्रालयहरूले पठाएको ओएण्डएम सर्वे एकातिर छ,’ सचिव थपलियाले भने, ‘सफ्टवेयरले सिनियर कर्मचारी खटाउने भएकोले सेवा समूह नमिलेर मिलान गर्न केही समय लागेको हो ।’

‘कुनै समूहको दिनु र कुनैको रोक्नुको कुनै कारण नै छैन तर सम्बन्धित मन्त्रालयले नै समस्या देखियो भनेर आएपछि समस्याको समाधान त गर्नुपर्‍यो’ सचिव थपलियाले भने ।

उनले समायोजनको टोली दिनरात काम गरिरहेकोले कतिपयको टुंगिईसकेको र कतिपय मिलाउँदै गरेकोले पदस्थापनका लागि केही दिनभित्रै क्याबिनेट पठाउने तयारी रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस