संघीय निजामती सेवा विधेयक स्वीकृत « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

संघीय निजामती सेवा विधेयक स्वीकृत


प्रशासन संवाददाता

६ फाल्गुन २०७५, सोमबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा संघीय निजामती सेवा विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा संघीय मामिला तथा सामान्यमन्त्री लालबाबु पण्डितले ‘संघीय निजामती सेवा विधेयक, २०७५ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको होे ।

छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासामा मन्त्री पण्डितले विधेयक संघीयताको मर्मविपरीत नरहेको स्पष्ट पार्दै यसले समावेशीको सिद्धान्तलाई आत्मसात् गरी कर्मचारीलाई सक्षम बनाउने व्यवस्था गरेको छ भने ।

उनले राष्ट्रसेवकको मनोबल उच्च बनाई सरकारका सेवा प्रवाह र विकासमा इमान्दारीपूर्वक जिम्मेवारी पूरा गराउनु पर्ने आवश्यकता रहेकाले सोही मर्मअनुसार विधेयकमा व्यवस्था गरिएको बताए ।

मन्त्री पण्डितले सांसदहरुका सुझावलाई समेटेर विधेयक परिष्कृत गरिने उल्लेख गरे ।

प्रस्तावमाथिको छलफलमा सांसदहरु गङ्गा चौधरी सत्गौवा, आशाकुमारी विक, भरतकुमार शाह, रेखा शर्मा, राजेन्द्रकुमार केसी, रामकुमारी झाँक्री, पार्वतीकुमारी विशुङ्खेलगायतले विधेयकका सम्बन्धमा जिज्ञासा राखेका थिए ।

बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बैठकमा उक्त विधेयकलाई गृहमन्त्री रामबहादुर थापाले दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस