विवरण नमिल्दा समायोजनमा ढिलाइ, ५० प्रतिशत कर्मचारीको विवरण मिलेन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विवरण नमिल्दा समायोजनमा ढिलाइ, ५० प्रतिशत कर्मचारीको विवरण मिलेन


प्रशासन विशेष ब्युरो

२९ माघ २०७५, मंगलबार


समायोजन

काठमाडौँ । कर्मचारीहरूको वैयत्तिक विवरण नमिलेका कारण समायोजनमा ढिलाइ भइरहेको छ ।

प्रशासन सेवाका शाखा अधिकृतहरूको गत आइतबार नै समायोजनको टुङ्गो लाग्ने बताईएपनि विवरण नमिलेका कारण कठिनाइ आएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार : समायोजनका लागि अधिकृतहरूको टुङ्गो लाग्यो

विगतको रेकर्ड राम्ररी अपडेट नगरिएको र समायोजन फारम भर्नुअघि व्यक्तिगत विवरण अपडेट गर्न दिएको समयसिमाभित्र पनि अपडेट नगरिदिएका कारण समस्या आएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्त्ता सुरेश अधिकारीले प्रशासनलाई बताए ।

‘विगतमा एक ठाउँ दरबन्दी राखेर काजकाथि काज गरेर पठाइएका कारण काम गरिरहेको ठाउँ नै मिलेन’ प्रवक्त्ता सुरेश अधिकारीले भने ‘पद, नाम र स्थान नै फरक परेपछि कठिनाइ आएको हो ।’

अधिकारीका अनुशार करिब ५० प्रतिशत जति अधिकृतहरूको विवरण मिलेको छैन ।

भोलि नै निर्णय हुन्छ भनेको ११ औँ दिनसम्म पनि सार्वजनिक नगरिनुमा कर्मचारीले आशङ्का गरिरहेको कुनै ‘चलखेल’ त हुँदै छैन नि ? भन्ने प्रशासन डटकमको प्रश्नमा प्रवक्त्ता अधिकारीले भने, ‘अरू कुनै कारणले होइन, यहाँले भनेजस्तो चलखेल पनि होइन, विवरण नमिलेर मात्रै हो ।’

फरक परेको विवरण मिलाउने काम भइरहेको र अन्तिम चरणमा पुगेकोले केही दिनमै निर्णय हुने उनको भनाई छ ।

यता सचिव दिनेश कुमार थपलियाले भने सबै तयारी सकिई सकेको र मन्त्री आएपछि निर्णय गर्ने भनेर पर्खेको बताए ।

मन्त्री लालबाबु पण्डित खुसीयाली सम्मेलनमा भाग लिएर भोलि(बुधवार) नेपाल फर्किदैछन् । उनी आएको भोलिपल्ट(बिहीबार)सम्म प्रशासनसँगै अन्य सेवा÷समूहका अधिकृतको पनि करिब करिब टुङ्गो लागिसक्ने भएकोले अलि ठुलो सङ्ख्यामा निर्णय गर्ने तयारीमा आफू रहेको सचिव थपलियाको भनाई छ ।

प्रशासन सेवाका २ हजार ८ सय ८९ शाखा अधिकृतमध्ये ४ सय ५६ जनाले प्रदेश र स्थानीय तह रोजेको बुझिएको छ ।

सम्बन्धित समाचार : प्रशासनका ४५६ शाखा अधिकृतले रोजे प्रदेश र स्थानीय, उपसचिव १२ जना

यता निर्णयको व्यग्र पखाईमा रहेका अधिकृतहरूको धड्कन दिनप्रतिदिन बढी रहेको छ । को कहाँ परिन्छ भन्ने चिन्तासँगै ‘चलखेल’का रूपमा समेत अर्थ्याउन थालेका छन् ।

‘भोलि नै भई हाल्छ भनेको निर्णय हप्तासम्म सार्वजनिक नहुनुमा केही न केही रहस्य छ,’ एक अधिकृतले प्रशासनलाई भने, ‘होइन भने सबै तयारी भई सक्यो पनि भन्ने, अनि निर्णय पनि नगर्नु पछाडिको कारण के त ?’

सम्बन्धित समाचार : प्रशासन अधिकृतहरूको समायोजन निर्णय भोलि

सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।

कर्मचारीको वैयक्तिक विवरण नमिलेर होस् या सफ्टवेयर(प्राविधिक) समस्या नै तेछ्र्याएर, या त भनिने र सुनिने गरेका ‘चलखेल’ नै किन नहोस् । कारण जुन कुनै होस् यही र यस्तै गतिले मन्त्रालयले फागुन ३ गते भित्र समायोजनको टुङ्गो लगाइ सक्छ त भन्ने प्रश्न गर्न सकिने ठाउँ भने प्रशस्तै छ ।

प्रतिक्रिया दिनुहोस