आप्रवासी कामदारको निःशुल्क बीमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आप्रवासी कामदारको निःशुल्क बीमा


प्रशासन संवाददाता

२८ माघ २०७५, सोमबार


बैतडी । पाटन र दशरथचन्द नगरपालिकाका विभिन्न वडाका नागरिकको धमाधम निःशुल्क बीमा गर्न थालिएको छ । गत मङ्सिरदेखि हालसम्म पाटनमा ७५ तथा दशरथचन्द नगरपालिकामा ४५ आप्रवासी कामदारको बीमा गरिएको छ ।

‘काम गर्न भारत जाने नागरिकको दुर्घटना बीमा गर्न थालिएको छ’, पाटन नगरपालिकाका नगरप्रमुख केशवबहादुर चन्दले भने । ग्रामीण विकास एवं वातावरण व्यवस्थापन समाज (रुडेस) तथा अक्सफाम नेपालको सहकार्यमा रोजगारीका लागि भारत जाने नागरिकको बीमा गर्न थालिएको हो । यस्तै दशरथचन्द नगरपालिकाले समेत भारत जाने कामदारको निःशुल्क बीमा गर्न थालेको छ ।

रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले पहिलो चरणमा सहकारी संस्थामा आवद्ध परिवारका सदस्य मजदुरी गर्न भारत गएमा बीमा गर्ने गरिएको बताए। उदयदेव महिला बचत तथा ऋण सहकारी पाटन, सिद्धेश्वर बचत तथा ऋण सहकारी खोड्पे, महालक्ष्मी बचत तथा ऋण सहकारी सिद्धपुर, शिखर बीउ प्रवर्द्धन सहकारी मुस्याचोर र निङ्लाशैनी बचत तथा ऋण सहकारी देहीमाण्डौँमा आवद्ध परिवारका सदस्यको बीमा गर्न थालिएको छ । ‘एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’सँग मिलेर बीमा गर्ने गरिएको छ ।

‘आप्रवासी कामदारको बीमाको किस्ता रुडेस र नगरपालिकाले तिर्ने गरेका छौँ’, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले भने, ‘भारत जाने नागरिकको बीमा गर्ने चलन नभएकाले दुर्घटनामा परेपछि समस्या हुने गरेको थियो । रोजगारीको सिलसिलामा भारतमा दुर्घटनामा परे सजिलोहोस् भनेर बीमा गर्न थालेका हौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस