भारी हिमपातले हवाई सेवा बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

भारी हिमपातले हवाई सेवा बन्द


प्रशासन संवाददाता

२५ माघ २०७५, शुक्रबार


हुम्ला । आठ दिनपछि खुलेको विमानस्थल भारी हिमपातले दुई दिनदेखि पुनः बन्द भएको छ । जिल्लाको एक मात्र यातायातको साधन हवाईजहाज विहीबारदेखि उडान बन्द भएको छ ।

जिल्ला बाहिर जाने एक मात्र हवाईसाधन निरन्तरको हिमपातले बन्द भएको छ । जिल्लामा हिउँ पाँच फिटसम्म जमेका कारण विमानस्थल सञ्चालनमा आउन अझै एकहप्ता लाग्ने विमानस्थल स्रोतले बताएको छ । बुधबारदेखि हिमपात हुँदा यहाँको दैनिकी निकै समस्यामा परेको छ । विहीबार रातिदेखि हिमपात र हुरीले हुम्लाका नागरिकलाई एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न कठिनाइ भएको छ ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोटमा पाँच फिट हिउँ जम्नुका साथै चिसो बढेको र हुरी चलिरहेको प्रमुख जिल्ला अधिकारी मात्रप्रसाद ढुङ्गानाले जानकारी दिए ।

हिमपातले बालबालिका, वृद्धवृद्धालाई शौचालयसम्म जान समस्या भएको विनिता महताराले बताए । हिमपातले एक गाउँबाट अर्को गाउँमा समेत जान समस्या भएको छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिका सिमकोटमा बढी हिमपात भएको छ । हिमपातले त्यस क्षेत्रका स्थानीयवासीलाई घर निस्कनसमेत समस्या बनाएको छ । साथै घरपालुवा गाईवस्तुलाई पनि भारी हिमपातले समस्या निम्त्याएको छ । उत्तरी नाम्खा गाउँपालकाका नागरिक सिमकोटसँग सम्पर्क सञ्चारमा सम्पर्कविहीन छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस