सात स्थानीय तह भाडाकै घरमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सात स्थानीय तह भाडाकै घरमा


२४ माघ २०७५, बिहिबार


बलेवा । बागलुङ जिल्लामा रहेका १० स्थानीय तहमध्ये सातले भाडाका घरमा सञ्चालित छन् । तीमध्ये बागलुङ नगरपालिका, ताराखोला र तमानखोला गाउँपालिकाले मात्रै आफ्नै भवनबाट कार्यालय सञ्चालन गर्दै आएका छन् ।

बाँकी तीन नगरपालिका र चार गाउँपालिकाले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिरहेका हुन् । ती स्थानीय तहको आफ्नै भवन नभएको र नयाँ भवन बनाउन जग्गासमेत नभएका कारण भाडाको घरबाट कार्यालय सञ्चालन गर्नुपरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले बताए।

जैमिनी नगरपालिकाले सबैभन्दा धेरै भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । स्थानीय दुई व्यक्तिको घरलाई मासिक रु ९५ हजार ६६० दिएर कार्यालय सञ्चालन गर्दै आइएको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले बताए । आफ्नै भवन निर्माणका लागि जग्गाको खोजी भइरहे पनि जग्गा नपाइएको उपप्रमुख लीला रानाले बताए ।

ढोरपाटन नगरपालिकाले पनि दुई घर रु ९४ हजार ५००मा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । गल्कोट नगरपालिकाको कार्यालय पनि भाडाकै भवनबाट सञ्चालनमा रहेको छ । तीन व्यक्तिको घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको छ । शिक्षा र स्वास्थ्य शाखा अलगअलग भवनमा छन् भने बाँकी सबै शाखा एउटै भवनबाट सञ्चालन गरिँदै आएको छ । कार्यालय सञ्चालनका लागि लिइएका घरको भाडा मात्रै मासिक ८४ हजार भुक्तानी हुने गरेकाले आफ्नै भवन बनाउन जग्गाको खोजी भइरहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णराज गौतमले बताए।

निसीखोला गाउँपालिकाको कार्यालय सञ्चालनका लागि पनि तीन भवन भाडामा लिएको छ । मासिक ३४ हजार भाडा भुक्तानी हुन्छ । गाउँपालिकाको कार्यालय भवन बनाउनका लागि जग्गा लिएको गाउँपालिकाले आगामी आवमा आफ्नै भवन बनाउने योजना रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

बरेङ गाउँपालिकाका केही शाखा सरकारी भवन र केही शाखा निजी भवनबाट सञ्चालन हुँदै आएका छन् । तत्कालीन हुग्दीशिर गाविसको भवनमा राखिएका प्राबिधिक शाखाबाहेक सबै शाखा भाडाकै भवनबाट सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । उक्त गाउँपालिकाले मासिक रु १५ हजार भाडा भुक्तानी गर्ने गरेको छ ।

ताराखोला गाउँपालिकाको भने आफ्नै भवन छ । तत्कालीन अर्गल गाविस भवनलाई मर्मत गरेर एक तला थप गरी कर्यालय सञ्चालनमा ल्याइएको बताइएको छ । बडिगाड गाउँपालिकाले पनि दुई भवन मासिक ३५ हजारमा भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको प्रमुख प्रसाशकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले बताए । भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गरिसकेको गाउँपालिकाले तत्कालका लागि भवन बनाउने योजना नरहेको जनाएको छ ।

तमानखोला गाउँपालिका पनि आफ्नै भवनमा छ । आफ्नै भवनबाट कार्यालय सञ्चालन भइरहेकाले भाडाको दायित्व नरहेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । काठेखोला गाउँपालिकाले भने एउटै भवन भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ भने ताराखोला र तमानखोलाले आफ्नै भवन भएकाले एउटै भवनबाट कार्यालय सञ्चालन गरेको भए पनि भाडामा रहेका सबै पालिका दुई वा दुईभन्दा बढी भवनमा शाखा राखेका छन् ।

जिल्लामै सबैभन्दा धेरै भवनमा फैलिएको बागलुङ नगरपालिका हो । रातमाटामा रहेको आफ्नै भवनका अलवा नगरका विभिन्न शाखा सदरमुकाममा रहेका साविकका सरकारी कार्यालय कब्जा गरेर स्थानान्तरण गरिएको छ । पहिले जिल्ला विकास समिति रहेको भवनमा कर शाखा, महिला तथा बालबालिका कार्यालयमा न्यायिक समिति तथा महिला शाखा, भूसंरक्षण कार्यालयमा सहकारी शाखा र साविकको जिल्ला कृषि विकास कार्यालयमा प्रशासन लेखालगायतका शाखा राखिएको छ ।

बागलुङ नगरपालिकालाई नगरप्रमुखको आवास र प्रमुख प्रसाशकीयको आवासबाहेक भाडाको दायित्व छैन । भाडामा सञ्चालनमा रहेका स्थानीय तहले बेलाबेलामा समस्या हुने गरेको बताउँछन् ।

जैमिनीको केन्द्रमा पक्की सडक बन्दै

बागलुङको जैमिनी नगरपालिकामा पहिलो पक्की सडक निर्माण गर्न थालिएको छ । उक्त नगरपालिका दक्षिण बागलुङको व्यपारिक केन्द्र हो ।

नगरपालिकाले नगरको केन्द्र कुश्मीसेरा बजार र बागलुङ जिल्ला सदरमुकाम बागलुङ बजारलाई जोड्ने सडकलाई पक्की बनाउन थालिएको हो । वर्षायाममा हिलाम्मे र हिउँदयाममा धुलाम्मे हुने यो सडक कालोपत्रको लागि काम थालिएको नगरपालिकाले जनाएको छ । एक दशक अगाडि नै बागलुङ–कुश्मीसेरा खण्डको मुख्य सडकको ट्र्याक खुलेको थियो ।

नगरपालिकाले पहिलो चरणमा सडक कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई केन्द्र मानेर उक्त सडकखण्डको भव्रिखेतदेखि जुम्लीखोलासम्मको सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत प्राप्त एक करोड र नगरपालिकाको साझेदारी रु एक करोड गरी रु दुई करोडको लागतमा उक्त खण्ड कालोपत्र हुँदैछ । एक हजार ६०० मिटर सडक कालोपत्र गर्नका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएको शर्माले बताए ।

बागलुङ–कुश्मीसेरा सडकखण्डको २१ किलोमिटरमध्ये बागलुङ नगरपालिकाभित्र पर्ने चार किलोमिटर कालोपत्र र कुश्मीसेरा नजिकैको जुम्लीखोलामा ३७ मिटर ढलान सडकबाहेक अन्य सडक कच्चीे छ । नगरका सबै वडामा यात्रु बस चल्ने गरी कच्ची सडकको सञ्जाल बनाउने योजना बनाएको नगरपालिकाले यस वर्ष दुई किलोमिटर मात्रै भए पनि पक्की सडक बनाउन लागेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस