डोटी । दिपायलमा नेपाली सैनिकले दान गरेको रगतका कारण एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।
नेपाली सेनाको सर्वेश्वर गणका प्युठ भूपेन्द्र चन्द र सिपाही विक्रम सिंहले दिएको रगतका कारण केआइसिंह गाउँपालिका–४ तिखातरकी २२ वर्षीया पाबर्ती जेठाराको ज्यान जोगिएको हो । व्यथाले च्यापेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा भर्ना भएकी जेठाराको अत्यधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेको थियो ।
यस्तो स्थितिमा नेपाली सैनिकले दुईपिन्ट ‘ए पोजेटिभ’ रगत दिएकाले निजको ज्यान जोगिएको अस्तालका निर्देशक आइजँग कुँवरले बताए । उनले भने, ‘शरीरमा रगत सकिएर महिलाको ज्यानै खतरामा परेको थियो तर बेलैमा रगत उपलब्ध भएपछि उनको ज्यान जोगियो ।’ नेपाली सेनाले डोटीमा विगतदेखि नै स्थानीयवासीलाई समस्या परेको बेला रगत उपलब्ध गराउँदै आएको छ ।रासस