प्यारो सफ्टवेयर तिमी कहिले ब्याउँछौ ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्यारो सफ्टवेयर तिमी कहिले ब्याउँछौ ?


प्रशासन विशेष ब्युरो

२२ माघ २०७५, मंगलबार


सफ्टवेयर

म अनिन्द्रामा थिए
तर सपनीमा थिए
मेरो घनिष्ठ मित्र
अर्को एउटा म जस्तै
निरीह थाङ्नेले
मोबाइलको घण्टी बजायो
तिमी जन्मेको कुरा सुनायो
म खुसी मनाउ कि दुःख
म अस्मटमा परे
म अन्योलमा परे
तै पनि तिमीलाई
खोल्न मन लाग्यो
तिमीसँग केही कुरा बोल्न मन लाग्यो
मैले खोली हेरेँ
तिमीले धन्यवाद दियौ
म ना जवाफ भए
तिमी पनि अरू केही बोलेनौ
बोल्नै सकेनौ या जानेनौ
त्यो त मलाई थाह भएन
त्यसैले मैले तिमीलाई
मनमनै सोधेको थिए
प्यारो सफ्टवेयर तिमी अरू बाँकी कहिले बोल्छौ ?

तिम्रो जन्म प्रक्रिया
किन किन मलाई
मन परेको थिएन
चित्त बुझेको थिएन
तिम्रो संसर्ग
तिम्रो गर्भाधान
अवैध लाग्थ्यो
अनौठो लाग्थ्यो
तिमीलाई जन्माउने
तिम्रा अभिभावक
विचित्रको लाग्थ्यो
तिमी कुन लिङ्गी हौ
कुन जाति, वर्ग, भाषा र धर्मको हौ
मलाई सोच्नै गाह्रो
बुझ्नै गाह्रो
अनि ठम्याउँन साह्रो
तै पनि झिनो आशा
सानो भरोसा
संकिर्ण आत्मविश्वास राख्दै
भविष्यको सुन्दर सपना
केर मेट गर्दै
तिमीलाई घोचिरहे
तिमीसँग खेलिरहे
तर तिमीले छाँट काट देखाएनौ
अनि त मैले तिमीलाई
मनमनै सोधेको थिए
प्यारो सफ्टवेयर तिमी कहिले गर्भवती हुन्छौ ?

ठूल्दाईलाई जहाँको त्यही
अंश दियौ रे
माइलो दाइको घरमा
आगो ठोस्यौ रे
साईलोदेखि मुनिका
अन्तरे जन्तरे पानी मन्तरेहरूलाई
जबर्जस्ति कनीकुथी
ठेलेर पेलेर जन्माउन खोज्यौ
सदाका लागि टाढा अन्माउन खोज्यौ
भेदभाव गर्‍यौ, पक्षपात गर्‍यौ
कोख एउटै, रगत एउटै
साझा हक, साझा कर्तव्य
सबै कुरा उस्तै दुरुस्तै हुँदा पनि
तिमीले नङ्गायौ, बङ्गायौ, अलग्गायौ
भाईभाईमा शत्रुता ल्यायौ
कसैको सर्वस्व लुटायौ अनि फुटायौ
बाटो छेक्यौ भिर देखायौ
उद्देश्यविहिन बनायौ
गन्तब्यविहिन बनायौ
योग्यता प्रणाली खरानी बनाई
लुटतन्त्रको स्थापना गरायौ
तर पनि समृद्धिका लागि
व्यक्तिगत स्वार्थ छोडी
आफ्नो भविष्यको बन्ध्याकरण गर्दै
बीज पेस गरेको पनि धेरै भयो
सुन्छु तिमीलाई पनि
सुत्केरी व्यथाले च्यापेको धेरै भयो
तर आज मनमनै होइन
जोडले भने, चिच्याउदै सोधेँ
जवाफ देऊ सफ्टवेयर
प्यारो सफ्टवेयर तिमी कहिले ब्याउँछौ ?

Tags :
प्रतिक्रिया दिनुहोस