कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा : मन्त्री ज्ञवाली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा : मन्त्री ज्ञवाली


प्रशासन संवाददाता

१९ माघ २०७५, शनिबार


सञ्चार क्षेत्रको विश्वसनीयतामाथि प्रश्न !

गलकोट । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालीगण्डकी करिडोर नेपालीको भाग्यरेखा भएको बताएका छन् । मन्त्री ज्ञवालीले ठूला अर्थतन्त्र भएका मुलुकलाई जोड्ने महत्वपूर्ण मार्गका रुपमा करिडोर भएको बताएका हुन् ।

कालीगण्डकी करिडोरको बागलुङ खण्डलाई १० मिटर चौडा पार्ने कार्यको कालाखोला बगरमा आज उद्घाटन गर्दै मन्त्री ज्ञवालीले त्रिदेशीय सिधा सम्र्पक निर्माण गरी चीन र भारतमा आयात–निर्यातका साथै पर्यटकको आगमनका लागि करिडोरले ठूलो भूमिका रहने बताए ।

मन्त्री ज्ञवालीले कोरला नाका अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्ने र यसले देशको अर्थतन्त्रमा ठूलो योगदान दिनसक्ने विश्वास व्यक्त गरे । उनले करिडोरलाई धार्मिक मार्गका रुपमा समेत विकास गर्न सकिनेछ भने ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले राष्ट्रिय गौरवको आयोजनालाई सरकारले प्राथमिकतामा राखेकाले यसका लागि आवश्यक साधन तथा स्रोतकोे अभाव हुन नदिने बताए । कालीगण्डकी करिडोरलाई पर्यटन र धार्मिक हिसाबले मात्र नभई आर्थिक मार्गका रुपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे ।

कालीगण्डकी करिडोरको स्तरोन्नति गर्न नेपाल सरकारले रु २० करोड बजेट विनियोजन गरेको छ । सो बजेटबाट १० मिटर चौडा कायम गर्न बागलुङ र र गुल्मी खण्डका लागि रु १०/१० करोड विनियोजन भएको सो अवसरमा जानकारी दिइयो ।

विसं २०७६ असारसम्म काम सक्ने गरी कालोपत्रेका लागि सडक विभागलाई हस्तान्तरण गर्ने गरी नेपाली सेनाको निर्माण कार्यदललाई प्रदान गरिएको छ । तत्कालका लागि बागलुङ खण्डमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० किलोमिटरलाई १० मिटर सडक चौडा पार्ने कार्य हुनेछ ।

सडकका लागि यस वर्ष सरकारले बजेट नदिएपछि वर्षायामको पहिरो समेत सेनाले आन्तरिक स्रोतबाट यातायात सञ्चालन गर्न सक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको यस करिडोरको काम २०७० सालमा नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो ।

बागलुङ खण्डमा पर्ने ३८ किमिसहित गुल्मीमा समेत गरी ८० किमि सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले सम्पन्न गरेको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि रु ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ ।

बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङखण्ड कालोपत्रेका लागि तयार हुने बताइएको छ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने ४३५ किमीको दूरीको यो सडक त्रिदेशीय व्यापार तथा पारवाहनमा महत्वपूर्ण नाका बन्नेछ । यो सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्नेछ ।

प्रतिक्रिया दिनुहोस