कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने : अर्थमन्त्री खतिवडा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कृषि उत्पादनमा प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने : अर्थमन्त्री खतिवडा


प्रशासन संवाददाता

१७ माघ २०७५, बिहिबार


काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाई उत्पादन लागत घटाउन कृषि सहकारी संस्थाका अगुवासित आग्रह गरेका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११ औँ वार्षिक साधारणसभामा उनले कृषि उत्पादनको लागत घटाउन सकिए मात्र कृषिका आयातित वस्तुसित प्रतिस्पर्धा गर्न सकिने बताए । उनले कृषिजन्य पदार्थमा पाँच प्रतिशतभन्दा बढी भन्सार कर लगाउन सक्ने अवस्था नरहेको स्पष्ट पारे । अर्थमन्त्री डा खतिवडाले आगामी पाँच वर्षमा आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने सरकारको नीति रहेको उल्लेख गर्दै यसका लागि सरकार, सहकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्ने बताए ।

उनले भने–’कृषि र पशु बीमाका क्षेत्रमा लघु बीमा कम्पनीलाई आकर्षित गर्न सकिएको छैन । ती क्षेत्रमा आउने बीमा कम्पनीलाई सरकारले सहयोग गर्छ । म यसको नेतृत्व लिन नेपाल कृषि सहकारी केन्द्रीय संघलाई आग्रह गर्छु ।’अर्थमन्त्री डा.खतिवडाले कृषि उत्पादनको आर्थिक जोखिम घटाउन बीमाले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा कृषि क्षेत्रमा उल्लेखनीय योगदान दिएका दिपन चेपाङ (मकवानपुर), सवरा खातुन (बारा), पवितादेवी मसहर (धनुषा), मदनसिंह राउटे (डडेलधुरा) दिनेश साह (सिराहा), छविलाल खड्का (सुर्खेत) र सरोज नेपाल (मोरङ) लाई नगद रु पाँच हजारसहित सम्मान गरिएको थियो । साथै दीपा राना (सुर्खेत), दीपनारायण पुवे (धनुषा) तथा चिरञ्जीवी भण्डारी(झापा) उत्कृष्ट व्यवस्थापकको रूपमा सम्मानित भएका थिए । हाल संघ अन्तर्गत ७१ जिल्लामा ९९५ सहकारी संस्था आबद्ध छन् । करीब १० लाख कृषक आबद्ध रहेको ती संस्थामार्फत् कृषि क्षेत्रमा रु ४५ अर्ब पूँजी लगानी रहेको कार्यक्रममा जानकारी दिइयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कृषि क्षेत्रमा लगानी बढाउन सरकारसँग माग गरे । संघका अध्यक्ष खेमबहादुर पाठक तथा उपाध्यक्ष मदन दाहालले संघका गतिविधिमाथि प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस