धुर्मुस सुन्तलीको घोषणा : ३ अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला « प्रशासन
Logo १७ आश्विन २०७९, सोमबार
   

धुर्मुस सुन्तलीको घोषणा : ३ अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला


१६ माघ २०७५, बुधबार


काठमाडौं । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ ।

फाउन्डेसनले भरतपुर महानगरपालिकासँग रंगशाला निर्माणका लागि जग्गा प्राप्ति सम्झौता पनि गरेको छ।

भरतपुर १६ मा रहेको त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको जग्गामा रंगशाला बनाइने भएको छ ।  क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

रंगशाला निर्माणको लागत ३ अर्ब रुपैयाँ अनुमान गरिएको छ।  देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् ।

उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने उल्लेख गरे । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।

रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ ।

रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।

प्रतिक्रिया दिनुहोस