कालीगण्डकी नदीको पुल बन्दै नरबहादुर « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कालीगण्डकी नदीको पुल बन्दै नरबहादुर


प्रशासन संवाददाता

१५ माघ २०७५, मंगलबार


कावासोती । उमेरले ५३ वर्ष लागेका नरबहादुर कुमालले कालीगण्डकी नदीमा डुङ्गा खियाएको धेरै वर्ष बित्यो । झण्डै २० वर्षअघि देखि डुङ्गा चलाउँदै आएका कुमालको हिजोआजको दैनिकी पनि उस्तै छ । बीस वर्षमा नदीमा कति पानी बग्यो, डुङ्गा तर्ने कहाँ कहाँ पुगे तर कुमाल अझै डुङ्गा चलाउँदै आएका छन् । नरबहादुर कुमाल वर्षौंंदेखि कयौँका लागि पुल बन्ने भएको छ ।

कालीगण्डकी नदीको भृकुटी घाटमै डुङ्गा चलाएर उहाँको युवा अवस्था बित्यो र वर्तमान पनि त्यसैगरी बितिरहेको छ । कुमाल भन्छन्, ‘सायद अब बुढेसकाल पनि यही डुङ्गा खियाएर बित्नेछ ।’

नवलपरासी पूर्वको बुलिङ्टार गाउँपालिका–३ तम्घामा बस्ने कुमालको घर नजिकै पर्ने तनहुँ र नवलपुर छुट्टाउने सिमानाको कालीगण्डकी नदी । जुन बेला नदीमा पुल थिएन, त्यो बेला पुलको काम गर्ने नरबहादुरले अहिले पुल बनिसक्दा पनि त्यो कामलाई निरन्तरता दिन छोडेका छैनन् । यही नदीमा डुङ्गा चलाएर उनको घरपरिवार चलिरहेको छ । उनको आम्दानीको स्रोतनै डुङ्गा बनेको छ । कुमालले डुङ्गा चलाएर आम्दानी मात्र गरेका छैनन्, उनका कारण यस क्षेत्रका धेरै बालबालिकाले पढ्न समेत पाएका छन् ।

कालीगण्डकी पारीको तनहुँ जिल्लामा पर्ने सिरकोटबेँसी र सिगुवाका धेरै विद्यार्थीले उनकै कारण पढ्न पाएका छन् । अहिले पनि उनले दिनहुँ पाँच विद्यार्थीलाई डुङ्गाबाट आवतजावत गराउँदै आएका छन् । सिरकोटबेँसी र सिगुवाका ५ कक्षाभन्दा माथि पढ्ने विद्यार्थी बुलिङ्टारमा रहेको विद्यालयमा पढ्न आउँछन् । गाउँमै माध्यमिक तहसम्म पढ्ने विद्यालय नहुँदा विद्यार्थी नदी तरेर बुलिङ्टार पढ्न आउनुपर्ने बाध्यता रहेको नरबहादुर कुमालले बताए ।

आजसम्म उनले सयौँ विद्यार्थीलाई वारपार गराइसकेका छन् । अहिले नदीमा पुल त बनेको छ तर यी दुई गाउँका विद्यार्थीलाई पुलबाट आवतजावत गर्न टाढा पर्ने हुँदा उनीहरु विद्यालयसम्म आउनका लागि डुङ्गा नै चढ्नुपर्छ । कुमाल भन्छन्, ‘विद्यार्थीकै लागि भएपनि मैले जस्तोसुकै अवस्थामा डुङ्गा चलाउनै पर्छ, नभए उनीहरु पढ्न पाउँदैनन् ।’नरबहादुरले डुङ्गा चढेको भाडा रु २० लिने गर्छन् तर विद्यार्थीसँग जम्मा रु १० लिने गर्छन् ।

विसं २०५६ बाट डुङ्गा चलाउन शुरु गर्नुभएका कुमालको आम्दानीको मुख्य स्रोत नै डुङ्गा हो । २०५६ सालमा डुङ्गा चलाउन शुरु गर्दा उनले रु दुई भाडाबाट शुरु गरेको स्मरण गरे । कालीगण्डकीमा पुल नबन्दासम्म उनको कमाइ राम्रै थियो । तर कालीगण्डकी नदीमा पुल निर्माण भएपछि अहिले अधिकाँश मानिस पुलबाट नै आवतजावत गर्न थालेका छन् ।

अहिले पनि प्रत्येकदिन कम्तीमा १० देखि १५ जनालाई उनले डुङ्गाबाट नदी वारपार गराउँदै आएका छन् । चाडपर्वका बेलामा भने अलि बढी कमाई हुने उनले बताए । बाउबाजेले पनि यही काम गरेकाले आफूले पनि यही कामलाई निरन्तरता दिएको उनको भनाइ छ । यसैबाट कमाएको पैसाले नै छोराछोरीको पढाइ खर्चदेखि अन्य घरखर्च चलाउँदै आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस