फिलिपिन्समा चर्चमा भएको विस्फोटनमा परी २७ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

फिलिपिन्समा चर्चमा भएको विस्फोटनमा परी २७ को मृत्यु


प्रशासन संवाददाता

१३ माघ २०७५, आइतबार


मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिए । प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् ।

उनले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको पनि जानकारी दिएका छन् । दुवै विस्फोटन स्थानीय समयअनुसार विहान करिब ८.१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ ।

उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोटन भएको अल्बायाल्डेले बताए । यस दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेका पनि प्रहरीले जानकारी दिएको छ ।

‘चर्चामा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भत्र्सना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,’फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले भने ।

उनले घटनाका पीडितहरुलाई तत्काल राहात तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताएका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्तजनक रहेको र घटनाको विवरण सङ्कलन भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले जानकारी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस