पर्वतमा हिमपातले जनजीवन कष्टकर, किसान खुसी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

पर्वतमा हिमपातले जनजीवन कष्टकर, किसान खुसी


प्रशासन संवाददाता

१२ माघ २०७५, शनिबार


पर्वत । लामो समयपछि परेको वर्षाका कारण पर्वतका विभिन्न उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ।

शुक्रबार साँझदेखि लगातार वर्षा भइरहँदा चिसो बढेसँगै उच्च पहाडी भेगमा हिमपात भएको हो। स्थानीयवासीका अनुसार कुश्मा नगरपालिका ३ दुर्लुङको माथिल्ला भाग हलहले र हलजुरेमा हिउँ परेको छ। फलेवास नगरपालिकाको डहरेको लेक, कार्कीनेटा, भंगरा र थापाठानाको माथिल्लो भागमा पनि हिमपात भएको छ।

यस्तै, जलजला गाउँपालिकाको हम्पालको लेक, लेकफाँट, शालिजा, धाइरिङ, नाङलीवाङ, बनौँ लगायतका ठाउँमा हिउँ परेको छ। यसैगरी मोदी गाउँपालिकाको क्याङ, लेस्पार, सहस्रधारा, देउपुरको उपल्लो भाग लगायतका ठाउँमा पनि हिमपात भएको छ। जिल्लाका अन्य ठाउँ बाँसखर्क, भुकताङले, पञ्चासे, चिसापानीको लेकहरुमा पनि ३ फिट भन्दा बाक्लो हिउँ जमेको छ।

हिमपात भएको क्षेत्रमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ। बाहिर हिउँ परेको र कतिपय ठाउँमा शीत जमेका कारण दैनिकी सञ्चालनमा नै कठिनाइ भएको छ। मोदी गाउँपालिका ४ क्याङको बाजुङ आधारभूत विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेलका अनुसार चिसोका कारण घर बाहिर निस्कन पनि कठिन भइरहेको छ भने चौपायालाई पनि समस्या भएको छ।

हिमपातका कारण दैनिकी असहज बनेको भए पनि वर्षाका कारण कृषक भने खुशी भएका छन्। लामो समयदेखि वर्षा नहुँदा हिउँदे बालीमा सिँचाइको समस्या भएको थियो। वर्षाले गहुँ, आलु, तोरी लगायत विभिन्न हिउँदे बालीलाई फाइदा पुर्‍याएको भए पनि हिउँ जमेका ठाउँमा लगाइएका खाद्यबाली तथा फलफूलमा क्षति पुगेको छ। गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मंगलबार पनि वर्षा भएको थियो। शुक्रवार साँझदेखि फेरि वर्षा भइरहेका कारण हिमपात समेत भैरहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस